नेपाल टेलिकमले शुक्रबारदेखि प्रयोगकर्तालाई सापटी सेवा सुरु गरेको छ। ‘नमस्ते क्रेडिट’ नाम दिइएको यस सेवा अन्तर्गत टेलिकमले आफ्ना प्रिपेड सिम प्रयोगकर्तालाई निब्र्याजी सापटी उपलब्ध गराउने भएको हो।
यस सेवाबाट प्रयोगकर्ताको मोबाइलमा ब्यालेन्स कम भएको वा सकिएको अवस्थामा समेत फोन काटिने छैन। यसरी फोनमा कुरा गर्दागर्दै ब्यालेन्स सकिएको अवस्थामा टेलिमकले स्वतः खातामा रकम हालिदिन्छ।
यसरी खातामा हालिएको रकम प्रयोगकर्ताले रिचार्ज गर्दा काटिनेछ तर कुनै अतिरिक्त शूल्क भने लाग्ने छैन। टेलिकमले दिने यो सापटी रकमको सिमा भने छैन। यसका लागि रिचार्ज इतिहासका आधारमा प्रयोगकर्ताले सापटी पाउन सक्नेछन्।
टेलिकमले करिब एक महिनाअघि नै यो सेवा सार्वजनिक गरेता पनि शुक्रबार प्रयोगकर्ताले सेवा लिन सक्नेछन्। प्रयोगकर्ताले आफूले कति रकम यसरी सापटी पाउने हो त्यसका लागि म्यासेजमा गई टाइप गरी १४७७ मा पठाउन सक्नेछन्।