अष्ट्रेलियामा ‘उत्तर कोरियाली एजेन्ट’ माथि मुद्दा

0
340

सिडनीमा एकजना पुरुषलाई उत्तर कोरियाका लागि ‘एजेन्ट’को काम गरेको आरोपमा पक्राउ गरिएको अष्ट्रेलियाको संघीय प्रहरीले बताएको छ। चान हान च्वेमाथि देशबाट हतियारको अवैधानिक निर्यात गर्न दलाली गरेको र आम विध्वंश मच्चाउने हतियार उपलब्ध गराउनेबारे छलफल गरेको आरोप लगाइएको छ।

प्रहरीले ५९ वर्षीय च्वेले संयुक्त राष्ट्रसंघीय र अष्ट्रेलियाली प्रतिबन्ध तोडेको आरोप पनि लगाएको छ। अष्ट्रेलियामा ३० वर्ष भन्दा बढी समयदेखि बस्दै आएका चान विरुद्धको मुद्दा मुलुककै यस्तो प्रकृतिको पहिलो भएको बताइएको छ।

प्रमाण
अष्ट्रेलियाको सन् १९९५ को आम विध्वंश मच्चाउने हतियार सम्बन्धी कानून अन्तर्गत मुद्दा लगाइएको पनि यो पहिलोपटक हो। प्रहरीले चान “उत्तर कोरियाली उच्च अधिकारीसँग” सम्पर्कमा रहेको प्रमाण भएको बताएको छ।

चानमाथि उत्तर कोरियाली शासकका लागि आय आर्जन गर्न उत्तर कोरियाको हतियार कार्यक्रम सम्बन्धी सेवा र बलिष्टिक क्षेप्यास्त्र प्रविधि लगायतका विशेष सेवा विदेशी निकायलाई बेच्न दलालको भूमिका खेलेको आरोप लगाइएको छ।

चानले उत्तर कोरियाबाट इन्डोनेशिया र भियतनामका समूहलाई कोइला बिक्री गर्न दलालको भूमिका खेलेको आरोप पनि लगाइएको छ। आफ्नै घरबाट शनिवार राती गिरफ्तार गरिएपछि उनीमाथि ६ वटा आरोप लगाइएको छ।

धरौटी
आइतवारको पत्रकार सम्मेलनमा चान तीस वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका अष्ट्रेलियाली अंगिकृत नागरिक भएको प्रहरीले पुष्टी गरेको थियो। प्रहरीले चानको गतिविधिले अष्ट्रेलियालीहरु “प्रत्यक्ष खतरा”मा नपारेको बताएको छ। चानले दश वर्षसम्मको जेल सजाय पाउन सक्छन्। उनलाई धरौटी दिन अस्वीकार गरिएको छ।

बिबिसिबाट

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here