घरेलु क्रिकेटमा सबैभन्दा ठूलो राष्ट्रियस्तरको प्रतियोगिता मानिएको एभरेष्ट प्रिमियर लिग क्रिकेट पुष ३ गतेदेखि त्रिभुवन विश्वविद्यालय किर्तिपुर मैदानमा सुरू भईरहेको छ ।
आज पहिलो खेल बिराटनगर वारियर र पोखरा राईनोज बिच हुनेछ भने दोश्रो खेल भैरहवा ग्लाडियटर र काठमाण्डौ किंग्स बिच हुनेछ ।
कुन टिमको खेल कहिले
खेल हेर्नका लागि साधारण दर्शकलाई टिकट शुल्क १०० रुपैयाँ राखिएको छ भने विद्यार्थीलाई ५० प्रतिशत छुट दिँएको आयोजकले जनाएको छ। प्रतियोगितामा मैदानको सजावट तथा अन्तर्राष्ट्रिय स्तरको देखाउन विशेष सजावट गरिएको छ।
मैदानको सजावट, थ्रीडी विज्ञापन म्याट लगायत ब्यवस्था गरिएको छ जसको लागि इन्डियन प्रिमियर लिग तथा विश्वकप क्रिकेटको अनुभव भएका ब्यक्तिहरुको सहयोग लिएको आयोजकले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो।
मैदानमा खेलाडीहरु बस्ने अन्तर्राष्ट्रिय स्तरको डगाउट, पेभेलियनको ब्यबस्था गरिएको छ भने भीआईपी, भीभीआईपी तथा मिडियाको लागि छुट्टाछुट्टै एरियामा बस्न बिशेष सुबिधा प्रदान गरिएको आयोजकले जानकारी दिएको छ।
दर्शकहरुको प्रत्यक्ष सहभागितामा हरेक दिन मनोरञ्जन कार्यक्रम गरिने समेत जानकारी गराइयो। मैदानमा प्रत्यक्ष प्रशारणको लागि १६/९ फिटको एलईडी स्क्रिन, थर्ड अम्पाएर, चियर्स लिडर, साउण्ड सिस्टम आदिको ब्यबस्थासमेत गरिएको छ।
१२ दिन चल्ने लिगमा १९ खेल हुनेछन्। लिगमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। इपिएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गर्नेछन्।
लिग चरणमा प्रत्येक टिमले एकआपसमा खेल्नेछन्। लिगमा शीर्ष हुने दुई टिमबीच पहिलो क्वालिफायर हुनेछ। जित हात पार्ने टिम फाइनलमा पुग्नेछ। हार्ने टिमले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। प्रतियोगिताको बिजेताले नगद २१ लाख रूपैया पुरस्कार पाउनेछ।
टी-२० फर्म्याटमा खेलिने प्रतियोगितामा प्रत्येक टोलीले १ जना खेलाडी मार्की खेलाडीको रुपमा लिएका थिए। १० जना खेलाडी अक्सनबाट खरिद गरेका थिए भने कम्तिमा ३ जना बिदेशी खेलाडीहरु हुनुपर्ने नियमअनुसार सबै टिमले आपसी समझदारीमा खेलाडीहरु भित्र्याएका छन्। थप एकजना खेलाडी ट्यालेन्ट हन्ट मार्फत छानिएका छन्।