एमालेको मतदान प्रक्रियामा सहभागी भएनन् ५७ प्रतिनिधि, दिउँसो २ बजेसम्म नतिजा

0
49

चितवन : नेकपा (एमाले) को नेतृत्व चयनको मतदानमा ५७ प्रतिनिधि अनुपस्थित भएका छन्। कूल दुई हजार १५३ मतदाता मध्ये दुई हजार ९६ मत खसेको हो। निर्वाचनमा मत खसाल्ने समयसीमा सकिएको छ। केन्द्रीय निर्वाचन आयोगले खसेको मत पुनः रुजु गरेपछि दुई हजार ९६ मत खसेको जनाएको हो। निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले कूल दुई हजार ९६ मत खसेको र रुजुको क्रम सकिएको पनि बताए।

दाहालले भने, ‘रुजु गर्ने क्रम सकिएको छ। कूल दुई हजार ९६ मत खसेको छ। हामी दुई घण्टासम्म मत परिणाम सार्वजनिक गर्छौँ।’ एमाले नेता शेरबहादु तामाङले महाधिवेशन प्रतिनिधि फर्किएकाले भोट कम खसेको बताए। उनले भने, ‘कतिपय साथीहरुले भनेरै घर जानुभयो। कति बिदा मागेर जानुभयो भन्ने रेकर्ड राखेका छौँ। घर जाने साथीहरु पार्टीप्रति अविश्वास भएर जानु भएको होइन।’

नेतृत्व चयनका लागि मंगलवार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। बिहान ११ बजे मतदान सकिएको थियो। सहमतिको प्रयास असफल भएपछि सोमवारबाट निर्वाचन प्रक्रिया प्रारम्भ गरिएको थियो। प्रक्रिया सुरु भएपछि सहमतिका लागि भन्दै उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गर्न ढिलाइ गरिएको थियो। सोमवार राति नामावली सार्वजनिक भएपछि मंगलवार बिहान २ बजेबाट मतदान हुनेगरि केन्द्रीय निर्वाचन आयोगले तालिका सार्वजनिक गरेको थियो। तर, ४ बजेदेखि मात्र मतदान सुरु गरिएको थियो।

महाधिवेशनमा अध्यक्षका दुई प्रत्यासी छन्। वर्तमान अध्यक्ष केपी शर्मा ओली र भीम रावल अध्यक्षको प्रतिस्पर्धामा छन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत हुँदा उपाध्यक्षमा ६ जनाका लागि ७ जना प्रतिस्पर्धामा छन्। यस्तै, महासचिवमा शंकर पोखरेल सर्वसम्मत भएका छन्। उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल सर्वसम्मत भएका छन्।

सचिवमा ७ जनाका लागि ९ जनाबिच प्रतिस्पर्धा हुनेछ।

यस्तै, खुला केन्द्रीय सदस्य पुरुषतर्फ ८४ जनाका लागि १०० को उम्मेद्वारी परेको छ। भूगोतर्फ प्रदेश १ मा पुरुष र महिला दुवै क्लष्टरको चुनाव भएको छ। यस्तै, सुदूर पश्चिममा महिला क्लष्टरमा पनि चुनाव भएको छ। समावेशीतर्फ दलित, थारु क्लष्टरमा पनि चुनाव भएको छ। केन्द्रीय निर्वाचन आयोगले दिउँसो २ बजेसम्म मत परिणाम सार्वजनिक गर्ने जनाएको छ।

पहिलो पोष्टबाट

Facebook Comments

comments