एमालेको १०औं राष्ट्रिय महाधिवेशन शुरु हुँदै

सादा पोशाकका प्रहरीसहित २२ सय सुरक्षाकर्मी खटाइँदै, ट्राफिक व्यवस्थापन चुनौती

0
150

१० मंसीर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहमा हुँदैछ । ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरिसकेको एमालेले अब चितवन महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनको उद्घाटन मध्याह्नपछि हुने नेकपा एमालेले जनाएको छ । उद्घाटन अघि विभिन्न स्थानबाट जुलूस निस्किने छन् । ती जुलूस नारायणी नदी किनारमा पुगेर उद्घाटन सभामा परिणत हुनेछ । उद्घाटन समारोहमा पाँच लाख मानिस उतार्ने एमालेले दाबी गरेको छ ।

भीड व्यवस्थापनका लागि भन्दै स्थानीय प्रशासनले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ खण्ड र नारायणगढको मुख्य बजारक्षेत्रभित्र आज बिहान ९ बजेदेखि अत्यावश्यक सेवाका बाहेक अन्य सबै सवारी साधन प्रवेशमा रोक लगाएको छ ।

महाधिवेशनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायहरुले रणनीति बनाएर लागू गरेका हुन्। त्यसका लागि शुक्रवार २२ सय सुरक्षाकर्मी खटाइएको चितवन प्रहरीले जनाएको छ। ‘१५ सय नेपाल प्रहरी, ५ सय सशस्त्र प्रहरी र बाँकी सादा पोसाकका सुरक्षाकर्मी खटाइएको छ,’ चितवन प्रहरी प्रमुख ओम अधिकारीले भने।

चितवनमा शुक्रवार ट्राफिक व्यवस्थापन भने चुनौतीपूर्ण बन्ने प्रहरीको भनाइ छ। नारायणी किनारमा उद्घाटनस्थल र नजिकै राजमार्ग भएकाले ट्राफिक व्यवस्थापन चुनौती हुने अधिकारीले बताए। उनले बिहानै ठुला सवारी साधनलाई गन्तव्यतर्फ जान अनुरोध गरे।

एमालेले भने आफ्ना नेता कार्यकर्तालाई गाडीमा पार्टिको झण्डा राखेर यात्रा गर्न निर्देशन दिएको छ। प्रचार विभाग प्रमुख योगेश भट्टराईले सार्वजनिक यातायातलाई नरोकिने बताए। उनले मालवाहक सवारी साधनलाई भने भोलि नचलाइदिन अनुरोध गरिएको उनको भनाई छ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here