काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र स्थलमा चहलपहल बढेको छ। एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको होटल सेभेन स्टारमा शनिबार हुँदैछ।

बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ। महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने गरी चिकित्सकसहितका स्वास्थ्यकर्मी परिचालन गरेको समितिका सदस्य लीलाधर पौडेलले बताए। स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो। शुक्रबारबाट सुरु भएको एमाले महाधिवेशन आइतबार नयाँ नेतृत्व चयन गर्दै सकिने छ।

महाधिवेशनका कारण चितवनका सबै होटल भरिभराउ छन्। सौराहासहित नारायणगढ, मेघौली, जगतपुरका होटलसमेत भरिएका छन्। एमालेको नयाँ नेतृत्व यही मंसिर १३ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी छ।

शुक्रबार राति सौराहामा बसेको एमालेको अन्तिम केन्द्रीय कमिटी बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप गरेको छ। पार्टी सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले बैठकले १५ सदस्यीय पदाधिकारीलाई १९ सदस्यीय बनाइएको जानकारी दिए। उपाध्यक्ष र उपमहासचिवमा दुई/दुई जना थप गरिएको छ। अब वरिष्ठसहित सात उपाध्यक्ष हुनेछन्। पहिला वरिष्ठसहित पाँच उपाध्यक्षको व्यवस्था थियो। उपमहासचिव दुई जना थपिएको छ। पहिला एक मात्रै उपमहासचिवको व्यवस्था थियो।

भट्टराईका अनुसार अब केन्द्रीय कमिटी ३ सय १ सदस्यीय हुने भएको छ। यसअघि २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरिएको थियो। विधान महाधिवेशनबाट हटाइएको पोलिटब्युरोसमेत राखिएको छ। पोलिटब्युरो ९९ सदस्यीय हुने भएको छ।

स्थायी कमिटी भने यथावत् राखिएको छ। विधान महाधिवेशनबाट ४५ सदस्यीय स्थायी कमिटीको व्यवस्था गरिएको थियो। अनुशासन आयोग र लेखा आयोग २५ सदस्यीय बनाउने निर्णय भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बैठकमा विधान संशोधनको प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव बैठकले सर्वसम्मत ढंगबाट पारित गरेको हो। केन्द्रीय कमिटीको निर्णय प्रस्तावलाई महाधिवेशनको बन्दसत्रमा पेश गरिनेछ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here