ओलीको महत्त्वपूर्ण भेटवार्ता आज, यस्तो छ तालिका

0
511

२४ चैत, काठमाडौं । भारतको तीनदिने औपचारिक भ्रमणको क्रममा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज महत्त्वपूर्ण राजनीतिक भेटवार्ता गर्दैछन् ।

प्रधानमन्त्री ओलीले बिहान ९ बजे राष्ट्रपति भवनमा गार्ड अफ अनरसहित सेरमोनियल रिसेप्सनमा सहभागी हुनेछन् ।

त्यसपछि उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । राष्ट्रपतिसँगको भेटपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ओलीसँग भेटवार्ता गर्ने तय भएको छ ।

आज बिहान ११ बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर प्रधानमन्त्री ओलीले माल्यार्पण गर्नेछन् ।

साढे ११ बजे हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने तय भएको छ ।

मोदीसँग आज औपचारिक भेटवार्ता तय भए पनि मोदीले शुक्रबार साँझ नै ओलीसँग करिब डेढ घण्टा ‘वान टु वान’ वार्ता गरेका थिए । सो वार्तापछि ओलीले नेपाल–भारतबीच असमझदारी हटिसकेको बताए भने मोदीले आफू प्रशन्न भएको प्रतिक्रिया सार्वजनिक गरे ।

शनिबार भने ओली र मोदीबीच प्रतिनिधिमण्डस्तरीय मुख्य वार्ता हुनेछ जसमा दुईपक्षीय सहयोगका विषयमा पनि छलफल हुनेछ ।

त्यसपछि सवा १२ बजे ओली र मोदीले संयुक्त रुपमा रिमोटमार्फत् वीरगञ्जस्थित एकीकृत जाँच चौकीको उदघाटन गर्नेछन् । सोही समयमा अरुण तेस्रो जलविद्युत आयोजनाको पनि संयुक्तरुपमा शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

सो कार्यक्रमलगत्तै दुई देशका उच्च अधिकारीहरुको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलन गरी सहमति वा समझादारीहरु सार्वजनिक गरिनेछ । पत्रकार सम्मेलनपछि भारतीय उपराष्ट्रपति, गृहमन्त्रीलगायतसँग शिष्टाचार भेटवार्ताको समय निर्धारण गरिएको छ ।

यसैगरी शनिबार साँझ नै प्रधानमन्त्री ओलीलाई इण्डिया फाउन्डेसनको कार्यक्रममा नागरिक अभिनन्दन गर्ने र सो कार्यक्रमलाई सम्वोधन गर्ने तय भएको छ ।

आइतबार भने ओली उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको अवलोकन भ्रमणमा जानेछन् जहाँ ओलीलाई विश्वविद्यालयले विद्यावारिधीको मानार्थ उपाधिले विभूषित गर्नेछ । ओली आइतबार साँझ नै स्वदेश फर्किने छन् ।

५४ सदस्यीय टोलीको नेतृत्व गर्दै ओली शुक्रबार भारत भ्रमणका लागि नयाँदिल्ली गएका थिए ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here