ओलीले देखेको पानीजहाज सपना

0
487

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७३ जेठ ४ गते पहिलोपटक भनेका थिए, ‘अब नेपालले आफ्नै पानीजहाजबाट सामान ल्याउँछ।’

त्यसको दस दिनपछि आएको आर्थिक वर्ष २०७३/७४ को बजेटमा ‘पानीजहाज सञ्चालनको कानुनी तथा संस्थागत तयारी गरिने’ उल्लेख छ।

बजेटमा उल्लेख भए पनि केही समयमै ओली सरकार ढलेकाले यो कुरा कार्यान्वयन हुन सकेन।

नयाँ सरकारले ओलीको पानीजहाज सपना बजेटमै सीमित राखिदियो। अर्थ मन्त्रालयका अधिकारीका अनुसार बजेट भाषणमा पर्नुबाहेक यसमा अहिलेसम्म कुनै प्रगति भएको छैन।

आफूपछिका सरकारले पानीजहाजलाई बेवास्ता गरे पनि ओली आफ्नो योजनामा अडिग छन्। डेढ वर्षबीच उनले यो कुरा पटक–पटक दोहोर्याएका छन्। अहिले आएर उनले नयाँ सरकारमार्फत् त्यसलाई कार्यान्वयन गरेरै छाड्ने अठोटसमेत लिएका छन्।

कात्तिक २१ गते चुनावी घोषणापत्र सार्वजनिक गर्दा ओलीले पानीजहाजको कुरा उप्काए। ‘पहिला पानीजहाज चलाउँछु भन्दा धेरैले मलाई उडाए तर समुद्रमा पानीजहाज चलाउनुपर्छ, नेपाल आउने सामान आफ्नै पानीजहाजले बोक्नु पर्छ,’ ओलीले भने, ‘फुर्सद हुँदा भाडामा लगाएर नाफा पनि कमाउन सकिन्छ।’

उनले यसो भनिरहँदा वाम गठबन्धनको अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छेउमै थिए। दुई दलको साझा घोषणाको पाँच नम्बर बुँदामा लेखिएको छ–भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गरिनेछ।

चुनावी भाषणमा पनि ओली पानीजहाज सपना दोहोर्‍याइरहेका छन्।

कात्तिक २५ गते झापामा आयोजित चुनावी सभामा उनले भने, ‘यो चुनावपछि प्रशान्त र हिन्द महासागरमा पानीजहाज चलाउने व्यवस्था गरिनेछ। हाम्रै पानीजहाज चलाउँदा कांग्रेसले छट्याकपट्याक नगरोस्।’

उनले पानीजहाज चलाउँदा सामान बोक्न सजिलो हुने नभई राष्ट्रिय ध्वजावाहक जहाजले देशको गौरव पनि बढाउने बताउँदै अाएका छन्।

तर कतिपयका विचारमापानीजहाज अहिले नेपालको आवश्यकता नै होइन। एउटा जहाजमा झन्डा फहराउँदैमा नेपालको गौरव नबढ्ने उनीहरूको तर्क छ।

पानीजहाज नेपालको आवश्यकता हो कि गौरव मात्र हो भन्ने निष्कर्षमा पुग्नुअघि पानीजहाजमा कसरी सामान आउँछ भन्ने हेरौं।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कार्गोसम्बन्धी काम गर्ने व्यवसायी अविनाश बोहोराका अनुसार स्थानीय कम्पनीले पानीजहाजबाट सामान ल्याउँदा किन्ने र बेच्ने पक्षबीच सिपिङ कम्पनी आउँछन्। यस्ता कम्पनीमध्ये केहीका आफ्नै पानीजहाज हुन्छन्, केहीले अरूका जहाजमा सामान पठाउँछन्।

धेरै नेपाली आयातकर्ताले कलकत्तासम्म पुर्‍याइदिने सर्तमा बिक्रेतासँग सामान किन्छन्। बिक्रेताले सिपिङ कम्पनीसँग ‘डिल’ गर्दा परिमाण ठूलो हुने भएकाले भाडा सस्तो पर्छ। जबकि, नेपाली आफैंले ‘डिल’ गर्दा महँगो भाडा तिर्नुपर्ने हुन्छ।

संसारभरि पानीजहाज दुई रुटमा चल्छन्, मेन लाइन र फिडर लाइन। मेन लाइनमा चल्ने जहाज ठूला हुन्छन्। धेरै पानी भएको महासागरमा चल्ने यस्ता जहाजले १६ हजार कन्टेनरसम्म सामान बोक्न सक्छन्।

फिडर लाइनमा चल्ने जहाज साना हुन्छन्। यिनले मेन लाइनमा चल्ने जहाजले ल्याएको सामान विभिन्न देशका बन्दरगाहसम्म पुर्‍याउँछन्। यस्ता जहाजले ४ सय कन्टेनरसम्म बोक्न सक्छन्।

नेपालको कुनै आयातकर्ताले ब्राजिलबाट केएफसीको सामान कलकत्तासम्म ल्याउँदा यी दुवैखाले जहाज चाहिन्छन्।

ब्राजिलबाट सामान पठाउने कम्पनीले यो क्षेत्रभरिका लागि माग भएको मासु एउटा जहाजमा हालेर पठाउँछ। मेन लाइनमा चल्ने त्यो पानीजहाजमा अरू पनि सामान हुन सक्छ।

ब्राजिलबाट हिँडेको झन्डै तीस दिनपछि जहाज श्रीलंकाको कोलोम्बो बन्दरगाह आइपुग्छ।

‘कलकत्ता ल्याउनुपर्ने सामानलाई त्यहीँ अनलोड गरेर त्यो जहाज आफ्नो गन्तव्यमा हिँड्छ,’ बोहोराले भने, ‘कोलम्बोबाट फिडर भेसलले झन्डै सात दिन लगाएर कन्टेनर कलकत्ता ल्याइपुर्‍याउँछ।’

अफ्रिका, युरोप र अमेरिकाको सामान कोलम्बो बन्दरगाहमा आउँछ भने चीन, जापान, कोरियालगायत पूर्वी एसियाली देशबाट सामान बोकेर आउने ठूला जहाज सिंगापुर र मलेसियाको पोर्ट क्लाङमा रोकिन्छन्। ती दुवै बन्दरगाहबाट कलकत्ता सामान ल्याउन पनि फिडर भेसललाई साता दिन लाग्छ।

तीन वर्षअघि नेपालमा वार्षिक ४३ हजार कन्टेनर सामान समुन्द्री मार्गबाट आयात हुन्थ्यो। अहिले बढेर ७० हजार कन्टेनर पुगेको छ।

यसरी हिसाब गर्दा नेपालका लागि कलकत्तामा प्रतिदिन डेढ सयदेखि २ सय कन्टेनरसम्म सामान पानीजहाजबाट आउँछ।

‘अहिलेसम्म कुनै पनि जहाजले नेपालको मात्र सामान बोकेका छैनन्, किनकि नेपालमा आउने सामान एकदमै थोरै हुन्छ,’ इन्टरस्टेटका मल्टी मोडल ट्रान्सपोर्टका प्रबन्ध निर्देशक आरबी रौनियारले भने।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here