कट्रिना-विक्कीको विवाहको सुरक्षा तयारीमा जुट्यो राजस्थान प्रशासन

0
215

१७ मंसिर, काठमाडौं । केही दिनयता बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाहको खबरले बलिउड तातेको छ । विवाहका विषयमा दुवैले औैपचारिक घोषणा नगरेपनि धुमधामले तयारी अगाडि बढारहेका छन् । कट्रिना र विक्कीको विवाह राजस्थानको सवाई माधोपुर जिल्लाको एक भव्य होटलमा हुने जनाइएको छ । विवाह समारोह डिसेम्बर ७ देखि १० सम्म चल्नेछ ।

यसैबीच कट्रिना र विक्कीको विवाहमा शान्ति सुरक्षा कायम गर्ने विषयमा सवाई माधोपुर जिल्ला प्रशासन कार्यालयमा बैठक बसेको छ । सवाई माधोपुरका जिल्ला अधिकारी राजेन्द्र किशनको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा विवाह समारोह व्यवस्थापक, होटल मालिक, प्रहरी अधिकारी लगायत सहभागी थिए । बैठकमा विवाह हुने स्थल बरवाडा क्षेत्रमा सरसफाइ तथा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिइने निर्णय भएको जिल्ला अधिकारी किशनले जानकारी दिए । यस्तै विवाह स्थलमा कुनैै अप्रिय घटना हुन नदिन र यातायात सुचारु गराउन ट्राफिक व्यवस्थापन चुस्त बनाउने विषयमा पनि निर्देशन दिइएको उनले बताए ।

किशनका अनुसार कट्रिना र विक्कीको विवाह समारोह डिसेम्बर ७ देखि १० सम्म चल्नेछ । विवाह समारोहमा १२० जना पाहुना सहभागी हुने जनाइएको छ । विवाह समारोहमा कोरोना संक्रमण नफैलियोस् भनेर आवश्यक सतर्कता अपनाउने विषयमा पनि छलफल भएको छ । जिल्ला अधिकारी किशनका अनुसार विवाहमा आउने पाहुनाले कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएको हुनुपर्नेछ । खोपको दुवै मात्रा नलगाएको भए पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य लिएर आउन सूचित गरिएको छ ।

कट्रिना र विक्कीको विवाह स्थल सवाई माधोपुर जिल्लाको मुख्यालयबाट १८ किलोमिटर टाढा चौथ बरवाडाको एक पहाडी क्षेत्रमा सात सय वर्ष पुरानो किल्लामा रहेको छ । सोही स्थानमा यसैवर्षको अक्टोबरमा सञ्चालनमा आएको भव्य रिसोर्टमा उनीहरुको विवाह हुनेछ । उक्त रिसोर्टमा ४८ वटा कोठा छन् । जुन कोठाको मूल्य एक दिनको ५० हजार रुपैयाँदेखि ७ लाखसम्म पर्छ ।

बीबीसीको सहयोगमा

Facebook Comments

comments