काठमाण्डौमा यौन ब्यवसायी बालिकाहरुको आ-आफ्नै कथा

0
428

काठमाडौंमा ठूलो संख्यामा कलिला बालिका गुजाराका निम्ति कसरी यौनकर्मी बनेका छन् ? १४ देखि १८ वर्षका बालिकाले यतिविघ्न शोषण भोगिरहँदा पनि सरकार रमिता हेरेर बसेको छ । अनगिन्ती सपना बोकेर दिनहुँ देशका कुनाकाप्चाबाट थुप्रै मानिस राजधानी पस्छन् । त्यो पंक्तिमा कलिला बालिका र किशोरीको संख्या पनि त्यत्तिकै हुन्छ । औपचारिक शैक्षिक योग्यता र हातमा सीप नभएका थुप्रैलाई काठमाडौं शहरले यस्तो जञ्जालमा पारिदिन्छ, उनीहरू कलिलैमा देह बेचेर गुजारा चलाउन बाध्य हुन्छन् । अनि, विस्तारै पेशेवर यौनकर्मी बन्छन् ।

खाजाघर, चियापसल, स–साना रेस्टुरेन्टदेखि बास बस्न बनाइएका गेस्ट हाउस तथा शहरी ‘रात्रिजीवन’ भनिने डान्सबारमा काम गर्ने धेरै बालिका र किशोरी पेशेवर यौनकर्मी बनिरहेका छन् । ‘मनोरञ्जन क्षेत्र’ भनिने यस्ता ठाउहरूमा कलिला बालिका र किशोरीको देह किनबेच हुन्छ । यो व्यापारका क्रममा कतिपय गर्भवती समेत हुन्छन् । अनि उनीहरूलाई अर्को आपत् आइलाग्छ । राजधानीमा कसरी भइरहेछ कलिला बालिका र किशोरीहरूको देह किनबेच ? केहीको कथा–व्यथा खोतलेका छौं ।

कामना (१६)
भर्खर १६ वर्ष पुगेकी कामना कलंकीको सपना गेस्ट हाउसमा काम गर्छिन् । तीन वर्षदेखि त्यहा काम गरिरहेकी उनी शुरूमा आफ्नो कामबारे खुलेर बोल्न मानिनन् । केहीबेरपछि टाउको निहुर्याउदै भनिन्, “त्यस्तै नराम्रो काम गर्छु ।”

कामनाले भनेको त्यो ‘नराम्रो काम’ हो– यौन व्यवसाय । उनका ग्राहक थरीथरीका छन् । कोही एक दुई घण्टा बस्छन्, कोही रातभर पनि । ग्राहक अनुसार कमाइ हुन्छ । रातभर बस्नेले धेरै ‘टिप्स’ दिन्छन् । उनी भन्छिन्, “बिहे नगरेका भन्दा बिहे गरेका, ३५–४० वर्षका ग्राहक धेरै आउछन् । नयाभन्दा पुरानै धेरै छन् मेरा ।”

तीन वर्षअघि ठूलो सपना बोकेर काठमाडौं आएकी थिइन्, कामना । शुरूमा होटलमा भाडा माझ्ने र सरसफाइ गर्ने काम गरिन् । तर, कमाइ र व्यवहार दुवै राम्रो नभएपछि साहुबाट ‘राम्रो व्यवहार’ हुने काम रोजिन् र यौन व्यवसायमा लागिन् ।

दुई वर्षयता उनी साथीहरूसंग मिलेर डेरामा बसेकी छन् । अरू साथीहरू पनि उनको जस्तै काम गर्छन् । कामना भन्छिन्, “अब त धेरैलाई फोननम्बर थाहा भइसक्यो । होटलको साहुले पनि नम्बर दिइहाल्छन् । बेलाबेला आइरहनेहरूले त फोन गरिरहन्छन् ।”

बीचमै पढाइ छाडेकी कामनालाई अब पढ्न मन छैन । केही सीप भइदिए चाहिं यस्तो काम गर्नुपर्ने थिएन जस्तो लाग्छ । गाउ“मा बस्ने आमाबुवालाई आफ्नो काम के हो भनेर नभने पनि ‘राम्रै काम छ’ भनेकी छिन् । कहिलेकाहीं घरमा केही पैसा पनि पठाइदिन्छिन् । उनी भन्छिन्, “अब गाउ फर्केर जान मन छैन । के मुख लिएर जानू ?”

प्रेरणा (१७)
२१ वर्ष पुग्दै गरेकी नुवाकोटकी प्रेरणा अहिले काठमाडौंमा आफ्नै सिलाइ–कटाइ व्यवसाय गर्छिन् । उनले फेसन डिजाइनरको ‘एड्भान्स कोर्ष’ पनि गरिसकेकी छन् । आफूजस्तै करीब एक दर्जन चेलीलाई फेसन डिजाइनिङ सिकाएकी उनी चार वर्षअघिको आफ्नै दिनचर्या सम्झदा भने भावुक हुन्छिन् ।

त्यसबेला भर्खर एसएलसी दिएकी थिइन्, प्रेरणाले । आमा बिरामी भएपछि पैसा कमाउनै पर्ने बाध्यता आइलाग्यो । उनी फुपू नाता पर्नेसँग काठमाडौं आइन् । तिनै फुपूले बालाजुको एउटा होटलमा काममा लगाइदिइन् । “भाडा माझ्ने, सरसफाइ गर्ने काम होला भन्ठानेकी थिए”, उनले भनिन्, “साहुले ग्राहक रिझाउनुपर्छ भने । शुरूमा के भनेको हो बुझिन“ । पछि थाहा भो– ग्राहकले जे भन्यो त्यही गर्नुपर्ने रहेछ ।” उनी भन्छिन्, “त्यसपछि मैले गर्ने–नगर्ने सबै काम गर्नुपर्यो ।”

एकदिन साहुले नै जबर्जस्ती गरेपछि उनी त्यहाबाट भागिन् । काम खोज्दै जादा उनी ठमेलको एउटा मसाज सेन्टरमा पुगिन् । काम गर्ने केटीहरू, मसाज गराउन आउने चाहिं केटा मात्र हुन्थे । शुरूमै दिदी (साहुनी)ले काम सिकाइन् । प्रेरणा भन्छिन्, “छुट्टै कोठामा आफू पनि एक्लै, ग्राहक पनि एक्लै हुने, एकै दिनमा १४–१५ जनासम्मलाई सेवा दिनुपर्दथ्यो ।”

त्यहा उनीजस्ता चारजना केटी एउटै कोठामा सुत्थे । “स–साना बच्चा भएका आमाहरू पनि काम गर्थे” प्रेरणाले भनिन्, “दिउसो बच्चा राख्ने कोठा छुट्टै हुदोरहेछ, बच्चा रोए पनि आमाहरू जान पाउदैनथे ।”

प्राप्ती (१८)
कलंकीको कलश गेस्ट हाउस, केही महिना अघिसम्म प्राप्तीको कर्मथलो थियो । प्राप्तीलाई के काम गछ्र्यौ भन्दा विना संकोच भनिन्, “ग्राहकसंग बस्छु ।”

उनी पेशेवर यौनकर्मी बनेको तीन वर्ष भयो । पहिले पुरानो बसपार्कतिर बस्थिन् । एक वर्ष जति भयो कलंकीतिर आएको । “रेट फरक हुन्छ, एकजनासंग १५ सय लियो भने रुम भाडा आफैं तिर्छु, आफैं रुम भाडा तिर्ने ग्राहक आयो भने हजार रुपैया लिन्छु” प्राप्ती भन्छिन्, “दिनको चार पाच हजारसम्म कमाउछु ।”

८ कक्षा पढ्दापढ्दै उनी साथीसंग भागेर काठमाडौं आएकी थिइन् । शुरूमा यो काममा लाग्दा उनी १५ वर्षकी थिइन् । उनले आमा, दाजुभाउजू र भाइलाई ‘बिहे गरिसकें’ भनेकी छन् । यही काम गर्दागर्दै भेटेको एक युवकसंग माया बसेर बिहे पनि भयो । गाडीमा काम गर्ने उनका श्रीमान्लाई अब उनी अरूसंग बसेको मन पर्दैन । प्राप्ती भन्छिन्, “दिउसो अरू काम गरेर बिहान, बेलुका कोठामै बूढाबूढी बस्न पाइने भए अब यो काम छाड्थें ।”

वेदना (१८)
चार वर्षअघिको कुरा हो । वेदना त्यसबेला १४ वर्षकी थिइन् । थानकोटतिरको एउटा होटलमा काम शुरू गरेको दिन साहूले ग्राहकलाई खाना पुर्याइदेऊ भने । उनी खाना लिएर गइन्, कोठा साघुरो थियो । “ग्राहकले खाना होइन, मेरो हात समाए” वेदना भन्छिन्, “खाना पुर्याउनु भनेको ग्राहकसंग बस्नु रहेछ ।” त्यो क्याबिन रेस्टुरेन्ट थियो ।

गाउकै चिनजानका मान्छेले उनलाई मासिक रु.४/५ हजार तलब हुने सजिलो काम लगाइदिन्छु भनेर काठमाडौं ल्याएका थिए । वेदना भन्छिन्, “फोन उठाउने काम हुन्छ भन्थे र विश्वास गरें । यस्तोमा परें ।”

पहिलो दिनमै भोग्नु परेको व्यवहारका कारण त्यो होटल छाडेर अर्कोमा काम गर्न थालिन् । “अहिले बिहान चारबजे उठेर राति १०/११ बजेसम्म भाडा माझ्छु”, आफ्नो अनुभव सुनाउदै वेदना भन्छिन्, “ग्राहकसंग बस्नेलाई शारीरिक दुःख चाहिं हुन्न । साहुले पनि राम्रो गर्छ । भनेको बेला छुट्टी दिन्छ, मागेको पैसा पनि दिन्छ । भाडा माझ्ने, सफा गर्नेलाई चाहिं हेप्ने, दुःख दिने, काम धेरै लगाउने गर्छन् ।”

मनु (१७)
१७ वर्षीया मनुको घर रामेछाप हो । तीन वर्ष अघिसम्म उनी काठमाडौंको एउटा डान्सबारमा काम गर्थिन् । साझ ६ बजेदेखि रातको १२ बजेसम्म काम गरेर डेरा पुग्दा रातको दुई बज्थ्यो । बिहान ६ बजेको स्कूल भ्याउन पा“च बजे उठ्नुपर्दथ्यो । स्कूल पढेर १०–११ बजे कोठामा आउने, खाना पकाएर खाने, केहीबेर सुत्ने, होमवर्क गर्ने र साझ परेपछि फेरि डान्सबार पुग्ने उनको तालिका थियो । १३ वर्षको उमेरमा शुरू भएको यो काम तीन वर्ष चल्यो ।

हामीले भेट्दा उनी गैरसरकारी संस्था ‘विश्वास नेपाल’ को दिवा सेल्टरमा थिइन् । यो संस्थाले उनीजस्ता बालिकालाई आश्रय दिएको रहेछ । डान्सबारको ‘जागिर’ छाडेपछिका एक वर्षमा उनको जीवन पूरै फेरिएको छ । अहिले उनी कलेज पढ्ने र बचेको समय विभिन्न संघ/संस्था र स्कूलमा डान्स सिकाउने काम गर्छिन् ।

उनी कसरी काठमाडौं आइपुगिन् ? मार्मिक कथा छ । बुवाले छाडेर अर्कैसंग बिहे गरेपछि मनुकी आमा उनीसहित भाइ र बहिनी लिएर चार वर्षअघि काठमाडौं आएकी थिइन् । सडकछेउमा तरकारी बेचेर परिवार पालिरहेकी आम अकस्मात् बिरामी भइन् । उपचार गर्न आफन्तबाट लिएको ऋण तिर्ने उपाय थिएन ।

काम खोजिरहेकी मनुलाई चिनजानकै दिदीले टेकूमा रहेको डान्सबारमा काम लगाइदिइन् । दिदी पनि डान्सबारमा काम गर्थिन् । केही दिनमै ग्राहकलाई ‘रमाइलो’ गराउने काममा अभ्यस्त भइन् । “ग्राहक यस्तो ठाउ“मा रमाइलो गर्न भनेरै आउछन्, उनीहरूको चित्त बुझाएरै पठाउनुपर्छ” मनु भन्छिन्, “मैले पनि तीन वर्षसम्म त्यही गरें ।”

सफल (१७)
दिवा सेल्टरमा मनुसंगै थिइन्, १७ वर्षीया सफल । उदयपुरकी सफलले मनुका कुरामा सही थप्दै भनिन्, “ग्राहकले भनेअनुसार गरिदिएपछि हामीलाई पनि टिप्स आउछ, साहुलाई पनि आम्दानी हुन्छ ।”

बालाजु बाइपास क्षेत्रको डान्सबारमा काम गर्ने सफलको कथा पनि मार्मिक छ । ११ कक्षा पढ्दै गर्दा एक वर्षअघि गाउ“कै दिदीहरूसंग काठमाडौं आएकी उनले शुरूमा दोहोरी सा“झमा काम गरिन् । त्यसपछि डान्सबारमा छिरिन् ।

गाउ“मा हुदा उनी नजिकैको स्कूलमा पढाउ“थिन्, महिनामा रु.७/८ हजार कमाइ हुन्थ्यो । धेरै कमाइ गर्न काठमाडौं आउने हुटहुटी चल्यो । “तर, काठमाडौंमा यस्तो काम पो गर्नुपर्दो रहेछ” सफलले भनिन्, “अब घर फर्केर जाउ“ भने भागेर गएकी भन्लान्, यहा अरू काम केही पाइन्न, के गर्ने, के ?”  –क्रमशः

साँघु पत्रिकाबाट

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here