कालिमाटीले जोगाई राखेको सिद्धपोखरी

सिद्धपोखरीबाट रानीपोखरीको पुनर्निर्माणमा सिको गर्नु आवश्यक

0
522

भक्तपुर — भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति २०५३ मा साविक २ नम्बरका वडाध्यक्ष थिए । वर्षौंदेखि घाँसे मैदानमा परिणत सिद्धपोखरी संरक्षणको प्रस्ताव राख्दै एक संस्थाले डेढ करोड रुपैयाँको बजेट ‘इस्टिमेट’ निकाल्यो । नगरपालिकासँग जम्मा ३० हजार रुपैयाँमात्र जगेडा थियो । ‘उक्त संस्थाको प्रस्ताव अस्वीकार गर्दै नगरपालिकाले १४ वटा संरक्षण समिति गठन गरी सिद्धपोखरी संरक्षण अभियान थाल्यौं,’ उनले भने ।

पूर्व/पश्चिम २७५ मिटर, उत्तर/दक्षिण ९२ मिटर क्षेत्रफल ओगटेको सिद्धपोखरी संरक्षण गर्न सजिलो भने थिएन । घाँसे मैदानको घाँस फाँडेर स्थानीयको सहभागितामा खासाङखुसुङ खोलाबाट ३ वटा पम्पको सहायताले २४ सै घण्टा ७४ दिन पानी तानेको उनी बताउँछन् ।

पानी राखिसकेपछि पनि पोखरीबाट पानी चुहिने समस्या भने समाधान भएन । स्थानीयकै सहभागितामा भाँडा बनाउने कालीमाटी (द्योचा) छापेपछि बचेको मेयर प्रजापतिले बताए । हालसम्म कालीमाटीकै कारण सिद्धपोखरी बचेको नगरपालिकाले जनाएको छ । सिद्धपोखरीले पुनर्जीवन पाएकोमा २०५४ सालयता बर्सेनि इन्द्रजात्राका साँझमा दिपावली गर्ने परम्परा बसेको छ । ‘मल्लकालीन चिनारीका रूपमा सिद्धपोखरीलाई लिन सकिन्छ,’ उनले भने ।

नेपाल संवत् २१८ मा नेपालमण्डलका शक्तिशाली युवराजा इन्द्रसिंह देवको पालामा बनेको सिद्धपोखरी अर्थात् इन्द्र दह उपत्यका भरीकै पोखरीहरूको पहिचानका रूपमा अडेको छ । इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार त्यो युग सैवबौद्धसिद्ध तान्त्रिकहरूको युग थियो । ९१९ वर्ष पहिले सैवबौद्धसिद्ध युगको वास्तुतन्त्र विधिअन्तर्गत बनेकाले उक्त पोखरीको नाम नै सिद्धपोखरीरहन गएको हो ।

नेवारी लोकजीवनमा सिद्धपोखरीलाई त:पुखु (ठूलो पोखरी) भन्ने गरिन्छ । त्यसबखत उपत्यकामा बनेको सबैभन्दा ठूलो पोखरी भएकाले सिद्धपोखरी त:पुखुको नामले पनि प्रख्यात छ । ‘नेपाली संस्कृतिको एउटा विशेषता के छ भने कुनै कुरा बनिसकेपछि त्यसलाई पछिसम्म पनि सांस्कृतिक जीवनसँग युगौंयुगसम्म जीवन्त तुल्याइराख्नु हो,’ डा. श्रेष्ठले भने, ‘सिद्धपोखरी पनि त्यसको अपवाद होइन ।’

सिद्धपोखरीमा इन्द्रजात्रा र दसैंमा नवरात्रा मेला लाग्ने गर्दछ । सिद्धपोखरी परिसरमा लिच्छविकालदेखिका दुर्लभ कलाकृति छन् । डा. श्रेष्ठका अनुसार नेपालमै सर्वप्राचीन बराह मूर्ति, गणेश मूर्ति, चौथो/पाँचांै शताब्दीदेखिका बुद्ध, हरिहर, लक्ष्मीनारायण, वासुदेव कमलजा, उमामहेश्वरलगायत मूर्तिहरू छन् । धार्मिक समन्वय र सांस्कृतिक एकताको ज्वलन्त नमुनाको उदाहरण बौद्ध चैत्य र शिव लिङ्ग भएकाले पनि नेपाली संस्कृतिको अतुल्य नमुना सिद्धपोखरी भएको श्रेष्ठले बताए ।

सिद्धपोखरी अवलोकन गर्दै आन्तरिक तथा बाह्य पर्यटक

विभिन्न कालखण्डमा जीर्ण बनेको सिद्धपोखरी संरक्षण एवं जीर्णोद्धार हुँदै आएका प्रमाण छन् । नेपाल संवत् ३६४ मा अनर्घमल्ल देवले पोखरीको पर्खालसमेत घेरेर यसको क्षेत्र निर्धारण गरेको डा. श्रेष्ठ बताउँछन् । त्यसैगरी मल्लकाललगायत शाह कालमा भीमसेन थापाको समयमा राणा प्रधानमन्त्री रणोद्दीप सिंहको पालामा समेत पोखरीको जीर्णोद्धार भएको उनले बताए । सिद्धपोखरी अहिले भक्तपुरको मात्र नभई उपत्यकाकै मल्लकालीन सुन्दरता र शोभालाई बढाएको छ । नेपाली वास्तु संस्कृतिलाई जोगाएको छ । ‘कंक्रिट संस्कृति हाम्रो संस्कृति होइन,’ उनले भने । सिद्धपोखरीबाट रानीपोखरीको पुनर्निर्माणमा सिको गर्नु आवश्यक भएको उनी बताउँछन् ।

यता नेपाल इञ्जिनियरिङ कलेजका सहायक प्राध्यापक श्यामसुन्दर कवां पोखरी संरक्षणमा कालीमाटीको बढी महत्त्व रहेको बताउँछन् । ‘पोखरीको पानी चुहिँदा कालीमाटीको सहायता लिने परम्परा आजको होइन,’ उनले भने, ‘मौलिकता बचाउन कंक्रिट प्रयोग गर्ने होइन ।’ नगरपालिकाले सिद्धपोखरी संरक्षणका लागि प्रत्येक वर्ष बजेट छुट्याई मर्मत गर्ने गरेको छ । सिद्धपोखरी र पोखरी परिसर सफाइका लागि कर्मचारी खटाएको नगरप्रमुख प्रजापतिले बताए ।

सिद्धपोखरी वरिपरि बगैंचा निर्माण गरेको छ भने पोखरीमा माछा पालनसमेत गरेको छ । सिद्धपोखरीमा पालेको माछा बिक्रीबाट मात्र १५ लाखभन्दा बढी आम्दानी गरेको नगरपालिकाले जनाएको छ । पोखरी संरक्षणको खर्च माछा पालनबाट उठेको प्रजापतिले बताए । सिद्धपोखरीमा सात हजारभन्दा बढी माछा पालन गरेको छ । सिद्धपोखरी अवलोकनका लागि दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक आउँछन् ।

कान्तिपुर समाचारबाट

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here