कीर्तिपुरमा बन्यो काठमाडौंकै पहिलो ‘प्लास्टिक सडक’

0
307

एक वर्षदेखि धूलाम्मे र खाल्डाखुल्डीले अस्तव्यस्त कीर्तिपुर, नयाँ बजार सडक बुधबार कालोपत्रे गरियो। अब यो काठमाडौं उपत्यकाकै विशेष सडक बनेको छ।

विशेष हुनुको कारण- यहाँको कालोपत्रेमा अलकत्रा र गिटीबालुवासँगै चाउचाउ, बिस्कुट, पराग, चक्लेट लगायत विभिन्न ‘जंकफुड’ का प्लास्टिक खोलसमेत मिसिएका छन्।

सहर प्रदूषित पार्ने यी प्लास्टिक खोल बटुलेर, मेसिनले टुक्राटुक्रा पारेर, पगालेर, अलकत्रा र गिटीबालुवासँग मिसाएर सडक कालोपत्रे गरिएको हो।

‘प्लास्टिक सडक’ बनाउने अभियान पोखराबाट सुरू भएको थियो। पोखराका दुई युवा इञ्जिनियर र केही व्यवसायीले नौ महिनाअघि नेपालमै पहिलोपटक ‘प्लास्टिक सडक’ बनाएका थिए।

कीर्तिपुरका मेयर रमेश महर्जनले त्यही प्रविधि नयाँ सडकमा लागू गर्न पोखरेली समूहसँग सम्पर्क गरे। त्यसमा मेकानिकल इञ्जिनियर विमल बास्तोला, सिभिल इञ्जिनियर राजीव सुवेदीसहित सञ्जीव बास्तोला, अजय केसी र निराजन घिमिरे छन्। उनीहरू ‘ग्रिन रोड वेस्ट म्यानेजमेन्ट’ कम्पनीमार्फत् काम गरिरहेका छन्।

‘उहाँहरूलाई डाकेर सिधै काम लगाउन नमिलेपछि हामीले उपभोक्ता समिति गठन गर्यौं,’ मेयर महर्जनले सेतोपाटीसँग भने, ‘समितिले सामान्य सडकमा जस्तै बजेट बनाएर काम सुरू गर्यो।’

करिब दुई सय मिटरको नयाँ बजार सडकमा पाँचदेखि बाह्र प्रतिशत प्लास्टिक मिसाइएको छ। मेकानिकल इञ्जिनियर विमलका अनुसार ६ सय किलो प्लास्टिक खोल प्रयोग भएका छन्।

कीर्तिपुर, नयाँ बजार सडक कालोपत्रेमा प्रयोग भएका प्लास्टिकका टुक्रा। तस्बिर: नारायण महर्जन/सेतोपाटी

यो विधिमा प्लास्टिक खोलहरूलाई मसिनोसँग काटेर १ सय ७० डिग्री तातो गिटीबालुवामा हालिन्छ। तातो गिटीमा परेपछि प्लास्टिकका टुक्रा पग्लिन्छन्। गिटीमै टाँसिदै–मिसिँदै जान्छन्। त्यो मिश्रण अलकत्रामा हालिन्छ। त्यही घोलबाट सडक कालोपत्रे गरिन्छ।

यसरी प्लास्टिक प्रयोग गरेपछि ढुंगा र कोइलाको जोड सामान्यभन्दा मजबुत हुने उनी बताउँछन्।

‘यसले सडकमा पानी रसाउँदैन, टिकाउ हुन्छ,’ विमलले भने, ‘तापक्रम नघट्दै कालोपत्रे गरिसक्नुपर्छ। सकेसम्म निर्माणस्थलमै घोल तयार पार्नु बेस।’

उनीहरूले कीर्तिपुरमा झन्डै १८ दिन निर्माणस्थलमै घोल तयार पारेका थिए। प्लास्टिक खोलको व्यवस्थापन ‘ब्लु वेस्ट टु भ्यालु’ नामक कम्पनीले गरेको थियो। उक्त कम्पनीले शंकरापुर र कीर्तिपुर नगरपालिकासहित विभिन्न होटलका फोहोरमैला व्यवस्थापन गर्दै आएको छ।

‘हामी पुनः प्रयोग हुनसक्ने फोहोर बटुलेर बिक्री गर्छौं,’ कम्पनीका प्रमुख कार्यकारी नवीन विकास महर्जनले भने, ‘नबिक्ने फोहोर व्यवस्थापनको उपाय खोज्ने क्रममा प्लास्टिक सडकबारे थाहा पाएर सहकार्य गरेका हौं।’

उनका अनुसार चाउचाउ, बिस्कुट, परागका खोल, डाइपर, स्यानिटरी प्याड लगायत पुनः प्रयोग हुँदैनन्। फोहोरको अधिकांश हिस्सा भने यस्तै चिजले ओगट्छन्।

नवीनको कम्पनीसँग प्लास्टिक काट्ने मेसिन पनि थियो। उनी त्यस्ता प्लास्टिक टुक्रा पारेर विमलको समूहलाई दिन तयार भए।

कीर्तिपुरको ‘प्लास्टिक सडक’ पोखराको भन्दा अलि फरक भएको विमल बताउँछन्।

पोखरामा उनीहरूले बोरा, पोलिथिन झोला लगायत प्लास्टिकजन्य सामान पनि मिसाएका थिए। यहाँ भने चाउचाउका खोलजस्ता टल्किने प्लास्टिक मात्र हालेका छन्। यसले कस्तो नतिजा दिन्छ भनी केही समय हेर्नुपर्ने उनले बताए।

‘यो प्रयासमा सफल भयौं भने सहरी सरसफाइमा समस्या बन्दै गएका प्लास्टिक खोल तह लगाउने नयाँ उपाय हामीसँग हुनेछ,’ उनले भने।

चाउचाउ, बिस्कुट, चक्लेट उत्पादकहरूले नै आ-आफ्ना प्लास्टिक खोल तह लगाउन अघि सर्ने हो भने अझ सहज हुने देखिन्छ। उनीहरूले ‘दस खाली खोलको सट्टा एउटा सित्तैमा’ जस्ता उपभोक्ता योजना ल्याएर देशलाई प्लास्टिकको ‘डम्पिङ साइट’ बन्नबाट जोगाउन सक्नेछन्।

यसरी संकलन हुने प्लास्टिकलाई विभिन्न नगरपालिकासँग सहकार्य गरी सडक कालोपत्रेमा प्रयोग गर्न सकिन्छ।

पोखरेली इञ्जिनियर तथा व्यवसायीको टोलीले यो सम्भावनाको ढोका खोलेका छन्। जब युवा इञ्जिनियरहरू यस्तो काममा लाग्न सक्छन् भने लाखौं-करोडौं कमाउने कम्पनीले नसक्ने कुरै छैन। फोहोर उत्पादन उनीहरूले गर्ने भएपछि व्यवस्थापनको पहिलो जवाफदेहीता उनीहरूले नै लिनुपर्छ।

पोखरेली युवाहरू यो अभियानमा कसरी लागे त?

पोखरामा गत वर्ष साउनबाट सञ्चालनमा आएको प्लास्टिक सडक। सय मिटरको यो सडकमा तीन सय किलो प्लास्टिक प्रयोग गरिएको छ। तस्बिर स्रोत: विमल बास्तोला

उनीहरूको यात्रा बलिउड अभिनेता आमिर खानको ‘सत्यमेव जयते’ कार्यक्रमसँग जोडिन्छ।

सामाजिक मुद्दाबारे छलफल हुने यो कार्यक्रमको सन् २०१४ को एक शृंखलामा आमिरले फोहोरमैला प्रशोधनबारे बहस चलाएका थिए। उनले वैज्ञानिक तथा सामाजिक अभियन्ता राजगोपालन वासुदेवनसँग अन्तर्वार्ता गरे, जो फोहोरमैला प्रशोधनको सफल अभ्यासमा संलग्न छन्।

मधुराईको थियागराजर कलेज अफ इञ्जिनियरिङका यी प्राध्यापक ‘प्लास्टिक सडक’ का सर्जक हुन्। उनले सन् २००२ बाट प्लास्टिकका खोल, बोतल र झोला संकलन गरी सडक निर्माणमा प्रयोग गर्दै आएका छन्।

आमिरको उक्त कार्यक्रमपछि चर्चामा आएका यिनै प्राध्यापकलाई पछ्याउँदै विमल र राजीवले पोखरामा ‘प्लास्टिक सडक’ निर्माण गरेका हुन्।

पोखरा महानगरपालिका–१४, चाउथेको अनुपम टोलमा गत वर्ष साउनबाट सञ्चालनमा आएको प्लास्टिक सडक सय मिटर लामो छ।

यो सडक बनाउनुअघि विमलले सन् २०१८ मा प्राध्यापक वासुदेवनसँग सम्पर्क गरेका थिए। उनकै विद्यार्थीसँग तालिम पनि लिएका छन्।

भारतको सुरतस्थित नेसनल इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट मेकानिकल इञ्जिनियरिङ पढेका विमललाई कसरी ‘प्लास्टिक सडक’ को सूर चढ्यो त?

इञ्जिनियरिङ पढेर फर्केपछि उनी पोखरामै बत्ती, पानी तान्ने मोटर, प्लम्बिङ लगायतका प्राविधिक घर-घरै पठाउने कम्पनी खोलेर बसेका थिए। त्यही बेला एक दिन सडकमा दुर्घटनामा परेर घाइते भए।

मान्छेको जिन्दगीमा कहिलेकाहीँ दुर्घटना पनि बाटो देखाउने कारक बनेर आउँछ। विमललाई त्यस्तै भयो।

साँझ घर फर्कंदै गर्दा उनको बाइक सडकको खाल्डोमा पछारिएको थियो। ज्यानमा घाउ लाग्यो, दिमाग छर्लंग भयो।

पोखराभरिका खाल्डाखुल्डी सडक उनका आँखाआगाडि नाच्न थाले। कुनै साना खाल्डा, कुनै ठूला। जस्ता भए पनि मान्छेलाई पछार्न पर्याप्त।

उनले ‘सत्यमेव जयते’ मा आमिर खानले अन्तर्वार्ता लिएका प्राध्यापक वासुदेवनलाई सम्झे। प्लास्टिक मिसाएर सडक कालोपत्रे गर्ने विधि उनको दिमागमा घुम्न थाल्यो।

त्यही बेला भुटानमा यही विधि प्रयोग गरेर धमाधम सडक बन्दै गरेको उनले थाहा पाए।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here