ललितपुर, २० वैशाख । जनसरोकार समिति खोकना र बुङ्गमतीको आयोजनामा ऐतिहासिक, सांस्कृतिक एवम् पुरातात्विक महत्वको सम्पदास्थल खोकना र बुङ्गमतीको संरक्षण गरौँ, गैरकानुनी प्रक्रियाबाट न्यूनतम मुआब्जा निर्धारण गरिएको जग्गा अधिग्रहण कार्य बन्द गरौँ भन्ने नाराका साथ शुक्रबार एक बृहत् र्याली एवम् जनसभाको आयोजना गर्यो ।
ललितपुर महानगरपालिका वडा नं. २२ स्थित बुङ्गमतीदेखि सुरू भएको र्याली मछिन्द्र बहाल, खोकनाको थलाछी, रूद्रायणी मन्दिर, न्ह्योबु टोल, सैँबु, भैँसेपाटी, नखु, जाउलाखेल, श्रीबहाल, महापालको नगरपरिक्रमा गर्दै कृष्णमन्दिर मङ्गलबजारमा पुगी जनसभा भएको थियो ।
स्मार्ट सिटीको नाउँमा बस्ती म्हास्न पाइँदैन, द्रुत मार्गको नाउँमा जनता मार्न पाइँदैन, सभ्यता म्हास्न पाइँदैन, खोकना र बुङ्गमती म्हास्न पाइँदैन, सांस्कृतिक र पुरातात्विक महत्वको खोकना र बुङ्गमतीको संरक्षण गरौँ, जग्गा दलालहरू मुर्दावाद, भूमाफियादेखि होशियार, चक्रपथको नाउँमा जग्गा लुट्न पाइँदैन, पीडित जनता एक होऔँ भन्ने आदि नाराका साथ बुङ्गमतीदेखि मङ्गलबजारसम्म जुलुस भएको थियो ।
ललितपुरका खोकना र बुङ्गमती, काठमाडौँ, भक्तपुर र काभ्रेलगायतका युवा, विद्यार्थी, महिला, शिक्षक, मजदुर, किसान, व्यवसायी, कर्मचारी, ज्येष्ठ नागरिकहरूले समेत ऐक्यबद्धता जनाएको सो जुलुस मङ्गलबजार पुग्न झण्डै साढे दुई घण्टा लागेको थियो ।
मङ्गलबजारमा आयोजित जनसभामा ललितपुर र काठमाडौँका विभिन्न सामाजिक अभियन्ता, काठमाडौँ उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति, कानुनज्ञाता र खोकना तथा बुङ्गमतीका पीडितहरूले जनताको सहमति र अनुमतिविना जग्गा हडप्ने सरकारी योजनाको निन्दा गरे ।
वक्ताहरूले सयौँ वर्ष अघिदेखि बसोबास गर्दै आएको पुरातात्विक, ऐतिहासिक तथा सांस्कृतिक महत्वको खोकना र बुङ्गमतीका बासिन्दाको जग्गा र आवास कब्जा गरेर विस्थापित गर्ने सरकारी षड्यन्त्रविरूद्ध एकजुट भई सङ्घर्ष गर्नुपर्ने खाँचो औँल्याए ।
विकासको नाउँमा विनास र स्थानीयवासीको अस्तित्वमा सङ्कट निम्त्याउने कार्यको विरोधमा पीडित जनताको आवाज कमजोर भए बस्ती सुरक्षित नहुने हुँदा सम्पदा, बस्ती र देश जोगाउन सङ्घर्षबाहेक अर्को विकल्प नभएको वक्ताहरूको अभिमत थियो ।
नेपाली सेनालाई सरकारको दलाली नबन्न आग्रह गर्दै वक्ताहरूले जग्गाको मुआब्जा नलिन पनि किसानहरूलाई सुझाए ।
सत्ता साझेदारी गरेर दुईतिहाइ मत प्राप्त सरकारले आदिवासी जनतालाई उठिवास गरेर आदिवासी जनताको बस्ती सिध्याउन अघि बढिरहेको छ, सङ्घीय मान्यताअनुसार सन्तुलित विकास गर्न लाग्नुपर्ने सरकार जनताको जग्गा हडपेर अकर्मण्य कार्य गरिरहेको छ, नक्कली कम्युनिष्टलाई चिन्न नसकेर जनताले दुःख पाइरहेका छन्, जनताको मत लिएर जनतालाई दुःख दिने सरकारलाई समयमै चिन्नुपर्छ र व्यापक जनतामाझ उदाङ्ग्याउनुपर्छ, वक्ताहरूको स्वर थियो ।
वक्ताहरूले भने, आदिवासी जनजातिलाई विस्थापित गर्ने सरकारी योजनालाई असफल पार्नुपर्छ । खोकना र बुङ्गमतीका जनता विकासविरोधी होइनन् तर सरकारले झूटको खेती गर्दैछ । जग्गा दलालको लहैलहैमा जानु हुँदैन । रैथाने वासीलाई उठिवास गराउने सरकारी षड्यन्त्रमा फस्नु हुँदैन ।