खोटाङको हलेसी बजारमा भीषण आगलागी हुँदा कम्तिमा ७ घरमा क्षति पुगेको छ। चार घरमा पूर्ण र तीनमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राईको घरबाट मंगलबार राति साढे सात बजेपछि सल्केको आगोले राई सहित किराना पसल तथा होटल सञ्चालन हुँदै आएको उचितबहादुर राई, तम्बराज राई, अम्बराज राईको घर पूर्णरुपमा क्षति पुग्याएको छ। यस्तै, प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राई लगायतको घर, पसल तथा होटलमा क्षति पुगेको प्रहरीले जनाएको छ।
करिब तीन घण्टा पछि आगो नियन्त्रणमा आएको छ। आगलागीको कारण खुलेको छैन। घटनामा कुनै मानवीय क्षति नभएको र क्षतीको बिस्तृत बिवरण आउन बाँकी छ।
बस्तीबीचकै घर भत्काएर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयबासीलाई सघाउन दिक्तेलबाट नेपाली सेना र शसस्त्र प्रहरी समेत हलेसी पुगेको थियो ।
जयरामतर्फबाट हलेसी आउनेक्रममा मन्दीर प्रबेश गर्ने द्धार नजिकैको क्षेत्रबाट आगो सुरु भएको हो।