गुड फ्राइडे तमिल फिल्म ‘थीरन’

0
21

एक प्रहरीले कुनै अपराधी पक्रन कतिसम्म मेहनत गर्ला? कहिलेसम्म ऊ एउटै अपराधीको पछि लाग्न सक्ला? यस क्रममा उसले के के गुमाउनुपर्ला? के ऊ आफ्नो दौडमा सफल होला? उसको त्यागको सम्मान र कदर गरिएला? तमिल फिल्म ‘थीरन’ ले यिनै प्रश्नको जवाफ दिन्छ। यो फिल्म प्रहरी कार्यालयको दृश्यबाट सुरू हुन्छ। फाइलहरू डिजिटल गर्ने क्रममा एक प्रहरी अधिकृतले एउटा मुद्दाको फाइल भेट्छन्। त्यो देखेर उनी चकित खान्छन् र त्यो मुद्दा सम्हालेका प्रहरीलाई फोन गर्छन्। डिएसपी थीरनले फोनमा ती प्रहरीलाई उक्त घटनाको विस्तार लाउँछन्। फिल्म पुग्छ सन् १९९५ मा। भर्खरै डिएसपी बनेका थीरन र उनको परिवार दंग हुन्छ। उनका बुवा पनि प्रहरी हुन्छन् तर उनको निधन भइसकेको हुन्छ।थीरनको घरमा आमा र बहिनी हुन्छन्। घर आएका बेला छिमेकी युवतीसँग थीरनको प्रेम बस्छ र बिहे हुन्छ।

थीरन तगडा प्रहरी हुन्छन्। उनी देशका विभिन्न सहरमा आफ्नो कामले चिनिन थाल्छन्। नियम खासै नमान्ने र अपराधीलाई नछाड्ने प्रहरीको छवि बनाएका उनी विभिन्न ठाउँमा सरूवा भइरहन्छन्। त्यही क्रममा उनी यस्तो गाउँमा पुग्छन् जहाँ आतंकको बेग्लै रूप हुन्छ, डकैती। यो डकैतीमा डाँकाहरूले धनसम्पत्ति लुटपाट मात्र गर्दैनन्, घरका मान्छेको वीभत्स हत्या पनि गर्छन्। बच्चा होस् वा पाको, कसैलाई छाड्दैनन्।

ती यस्ता डाँका हुन्छन् जसबारे कसैलाई थाहा हुँदैन। उनीहरू रातमा कुनै छायाजस्तो आउँछन्, छायाजस्तै बिलाउँछन्। उनीहरूको आतंकको छायाले गाउँलेहरूलाई हरेक दिन तर्साइरहेको हुन्छ। सातो लिइरहेको हुन्छ। उनीहरू एक गाउँमा मात्र हुँदैनन्, देशका विभिन्न राज्यमा मुसाझैं घुसेर आतंक मच्चाइरहेका हुन्छन्। प्रहरीले ती डाँकुहरूको खिलाफ कुनै प्रमाण भेट्छन्, न अरू खोजिनिती गर्ने हिम्मत राख्छन्। यस्तै स्थितिमा पुगेका हुन्छन् थीरन त्यो गाउँमा। यो सबै देखेसुनेपछि उनी ती डाँका समूहलाई पक्रिने योजना बनाउँछन्। तर यो सबै उनले सोचेजस्तो सजिलो हुँदैन। यो यात्रामा उनले धेरै दुःख पाउँछन्, धेरै कुरा गुमाउँछन्। उनको बाटोमा चारैतिर अँध्यारो मात्र हुन्छ। ती डाँका समूहबारे उनले धेरै अध्ययन र खोज गर्छन्। यस क्रममा उनलाई त्यो समूहको थुप्रै रहस्य थाहा हुन्छ। उनीहरूले यो काम किन गरे, उनीहरूको तागत र सीप किन खास छ, यसको पछाडि रोचक कथा हुन्छ। यो कथा धेरै दशक पुरानो हो।

यही इतिहासको कथा र आफ्नो भूतकालको कथा थीरन वर्तमानमा सुनाइरहेका हुन्छन्। वर्षौं त्यो समयसँग सिँघौरी खेलेका थीरनको जीवनले कहाँनिर गएर आराम पाउँछ, यसका लागि फिल्म हेर्नुहोला। राम्रो कथा, एक्सन र थ्रीलरको मिश्रण हो थीरन। आधा दर्जनभन्दा धेरै अवार्ड जितेको यो फिल्मले समीक्षकहरूबाट निकै प्रशंसा पाएको थियो।

Facebook Comments

comments