जंगलमा हराएको सात दिनपछि जीवितै भेटिए जोन तामाङ, यस्तो छ आश्चर्यजनक उद्दार

0
590

ललितपुर, १७ माघ । फुल्चोकीमा हाइकिङ जाँदा सात दिन अघि हराएका बालक जोन तामाङ जीवितै भेटिएका छन् ।

फुल्चोकीको घनाघोर जंगलमा जोन जीवितै फेला परेको ललितपुरका एसपी नरेन्द्र चन्द जानकारी दिए ।

प्रहरीले फुल्चोकीबाट ल्याएर बालकलाई बिएण्डबी अस्पतालमा भर्ना गरेको छ । बालक सकुशल भेटिएकाले अरु विषयमा बिस्तारै अनुसन्धान हुने प्रहरीले बताएको छ ।

थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका थिए । नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना तीनैवटा सुरक्षा निकाय तामाङको खोजीमा लागेको थियो । हुलियाका आधारमा तामाङ जस्तै व्यक्ति भेटिएको सूचनाका आधारमा अभिभावक संगठन, प्याब्सन र आफन्तले गोदावरी आसपासका गाउँमा खोजी गरेका थिए ।

तामाङलगायत ११ जना विद्यार्थी लिएर विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर ओली बिहीबार फुल्चोकी हाइकिङ गएका थिए । प्रधानाध्यापक ओली अहिले प्रहरी नियन्त्रणमा छन् ।

यसरी भेटिए जोन : प्रकृति अधिकारी

सातौँ दिनमा जोन तामाङ भेटिए । फूलचोकीमै । उनी फेला परेको भनी सातदोबाटोका डीएसपी विनोद सिलवालले जानकारी दिनुभएपछि अभिभावक संघका पूर्व अध्यक्ष सुप्रभात भण्डारी र म गोदावरीतर्फ लाग्यौँ । राती सवा आठ बजे उनलाई तल गोदावरीमा ल्याइयो ।

उनलाई एम्बुेन्समा राखेर बीएण्डबी अस्पतालतर्फ लगियो । उनलाई रामकाजी तिवारी र चन्द्र आलेले बोकेर तल झार्नुभएको हो । रेस्क्यु एसोसिएसन, र्याफ्टिङ एसोसिएसनका साथै स्थानीय सुन्दर सिंह लामा, विनोद आचार्य, अनिल खत्रीसहितको १९ जनाको टोली आज सुरुमै फुलचोकीको टुप्पामा पुग्यो । त्यहाँबाट तल झर्यो । रामकाजी तिवारी र चन्द्र आलेले उनलाई फेला पार्नुभएको हो । उनी हराएपछि म र भण्डारी दाइ पनि दुईपटक त्यहाँ पुग्यौँ । आज पनि राती कहिले नौधारा, कहिले कुन उकालो र कहिले कुन उकालो जानु पर्यो ।

रामकाजी तिवारीले उद्धार कार्यका बारेमा यसरी बेलिविस्तार लगाउनुभयो, “हिजोको खोजी कार्य चित्त नबुझेपछि आज पुनः त्यहाँ पुग्यौँ । टुप्पामा पुगेर तलतिर झर्यौँ । जोन करिव दुई हजार मिटरको उचाइमा फेला परेको । सानो पोखरी रहेछ त्यहाँबाट दुई टोली छुट्टियो । हामी लाकुरी भञ्ज्याँग जाने बाटोतिर अझै दायाँ लाग्यौँ । करिव सात आठ सय मिटर तल झरिसकेपछि एउटा ब्याग भेट्यौँ । ब्यागभित्र एउटा पेन र चम्चा भेट्यौँ । शंका लाग्यो । दायाँ बायाँ हेर्दा मान्छे घस्रिएको ठाँउ भेट्यौँ । अझ तल हेर्दा मानिस उछिट्टिएर तल लडेको जस्तो देख्यौँ । तल गयौँ । एउटा मुढा ढलेको जस्तो रहेछ । त्यसभन्दा मुनी ठूलो पिपलको रुख जस्तो लडेको देख्यौँ । त्यसकै चेपमा अड्किएर बसेको देख्यौँ । ठिक ४ः४५ बजे भेटेका थियौँ । बीच बाटोमा टिफिन बक्स पनि भेटेका थियौँ । त्यो देखेपछि दाइ टिफिन बक्स भने । निकै खुशी लाग्यो । मानिस जस्तो देखे । मानिस लडेको जस्तो लाग्यो । फोटोको टोपी हेर्दा हन्ड्रेड पर्सेन्ट जोन हो भन्ने लाग्यो र जोन भनेर करायौँ । उ फर्कियो । हामी त्यहाँ पुगेपछि बच्चा रोयो । हल्का पानी खुवायौँ । बोतलभरिको पानी सबै खाइसक्ला जस्तो गर्यो । झाडीभित्र थियो । झाडी फाडफुड गर्यौँ । बाटो एकदमै गाह्रो थियो । हामीसँग एक पुडिया बिस्कुट थियो । सबै खाँदा गाह्रो होला भनेर आधा दियौँ । तल एकदमै झाडी छ । जोन फष्टमा रोयो । जोन हो भन्दा टाउको हल्लायो । धेरै कुराकानी गरेर डिस्टर्ब गर्न पनि मिल्दैन । प्रहरी, सेना बाटो बाटोमात्र गए । झोडमा हामीहरु मात्र गयौँ । त्यहाँ बाघको पाइला पनि देख्यौँ । त्यो बाटोमा एक दुई जना मानिसमात्र हिँड्न सक्दैन । डरलाग्दो छ । मालिँगोको घारीमा एकदमै डरलाग्दो छ । बँदेलले खनेको ठाँउ एकदमै धेरै छ । चितुवा र मृत सुतेको ठाँउ पनि धेरै देखिन्छ ।”

 

दैनिक नेपालबाट

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here