झोलामा बोकेको लाटो पहाड : कथा

रेश्मी लामिछानेको कथा

0
492

‘सल्लीपीर पढ्नु भो ?’
मैले पुर्लुक्क उसको अनुहार हेरे । ऊ बासि पत्रिका हेर्दैथियो । सायद पत्रिकामा उसलाई चाख लाग्ने विषयवस्तु थिए होलान , त्यसैले त बिना उत्सुकता उसले प्रश्न तेर्साको थियो । हुन त कुरा पनि त फरक धारका कहाँ हुन्छन र हाम्रो । कि त उपन्यास कि त कविता , यिनै हुन हाम्रा कुराको बलियो आधार । कहिलेकाही त लाग्छ यी लेखन नहुँदा हुन र यिनले कलमको बिर्को नखोल्दा हुन त के हामी यसरी गफ्फिन पाउथिम र?
कस्तो हाँसो उठ्दो प्रश्न आफैसँग गरेछु । यदि लेखक नहुदा हुन र यि चुप लाएर बस्दा हुन त हामी पनि त यी लेख देखि त टाढै हुँदा हुम नि ।
उसको प्रश्नको उत्तर दिन भुलेर झन आफ्नै प्रश्नभित्र आफै रुमलिदैँ रैछु । उसले ०.५ पावरको चस्मा तल नाकतिर झारिदिंदा पो झलास्स भए ।
ऊ हाँस्यो बेपत्ताले । ‘ के तर्सिरा बिहान बिहानै ?’
निच्च दाँतमात्र देखाए मैले ।
‘ नाई पढेको छैन , तपाईले पढ्नु भो त?
‘ खोइ यसपालि चाई अरुकै मागेर पढु भन्या, कसैले किनेकै छैन । ’
‘ ए , उसो भए म किन्छु नि त, तपाई पढ्नुस तेसपछि म पढुँला हुन्न ? ’
‘ ए भइ हाल्छ नि । गज्जब को कुरो सुनाउनु भो ’ । ऊ निच्च हाँस्यो ।
मनमनै लाग्यो केटोले जिस्कायो कि कसो हतार हतार म पुस्तक किन्छु जो भने मैले ।

आज पनि सदा जस्तै तातो पानी सँगै कालो चिया पनि आयो । जाडो बढेर होला अचेल चिसो पानी पिउन मन लाग्दैन । चिसो पानीले शौचालयतिर धेरै दौडाउछ ।
उसले इसारा गर्यो अनि चिया लियो । मैले पनि तातोपानी लिए । पानी नामको मात्र तातो रैछ । एकैसासमा सकिदिए ।
‘अस्ति मैले दिएको बुक ल्याउनु भो त ? ’ चियाको कप उठाउदै सोध्यो ।
‘कुन ? चकलेट ?’
‘उम तेही ’ चियाको कप टेबलमा राख्दै उसले टाउको हल्लायो ।
‘एह ल्याको छु अनि खोइ त मलाई नयाँ खुराक ? ’
उसले जादु देखाएझै गरि ज्याकेटमा हात छिराएर पछाडिपट्टि बाट केही झिक्यो । ‘लिनुस हजुरको खुराक ’
मादल बोकेको मान्छेको प्रतिबिम्बित चित्रले भरिएको एउटा पुस्तक उसले मेरो अनुहार अगाडि उभ्यायो । मैले देब्रे हातले समाउदै पुस्तकको नाम पढे ‘ लाटो पहाड ’ ।
‘ यो पुस्तकको लेखकलाई चिन्नुहुन्छ ? ’ पुस्तकको तल दाँयातिर लेखिएको ‘ उपेन्द्र सुब्बा ’ पढिनसक्दा उसले प्रश्न तेर्साइसककेको थियो ।
‘ नाई चिन्दिन । यो पुस्तकको नाम पनि आजै थाहा पाउदैछु । ’
‘ कबड्डी फिल्मको झाँक्रि याद छ ? ’ उसले मोबाइलको स्क्रिन हातले सार्दै सोध्यो । सायद फोटो देखाएरै चिनाउन खोज्दैथियो ।
‘उम याद भो, ए उसको हो ?, लेखक पनि पो हो ?’

‘ उम लेख्छन यिनले घत लाग्ने कुराहरु, अलि अश्लिल शब्द पनि हुन्छन यिनको पुस्तकमा तर पचाउन सहज हुने गरि लेख्छन बुढा ’
उसले उपेन्द्र सुब्बाको कुरा गरिरहँदा मेरो आँखामा झाँक्रि बुढो नाँचिरह्यो ।
‘ अनि आज कतिको समय लिएर आउनु भाको छ ? ’ मैले व्यागमा लाटो पहाड राख्दै सोधे ।
‘ सँधै जति, अनि तपाईले ’
‘ मलाई अलि हतार छ आज । यहि पुस्तक छोड्न मात्र आएकी । मेरो आज सानो मिटिङ्ग छ । क्लाइन्टलाई कुराई राखेको छु । धेरै दिनको न्यास्रो पनि मेट्नु थियो । भेट भयो खुशी लाग्यो । ’ उसले सहज रुपमा मेरो कुरालाई स्वीकारिदियो ।
ऊ बाथरुम तिर लाग्यो । मेरो चिया अझै बाँकी थियो । मैले अन्तिम सुरुप सक्दा सम्म ऊ बाथरुम बाट आइसककेको थियो । चिसो मौसममा हलुका भएर हिड्नुनै जाति जस्तो लागेर म पनि बाथरुम तिर लागे ।
बाथरुमबाट निस्किदा उसलाई मैले अघि बसेको टेबलमा देखिन् । टेबलमा पुगेर ब्याग बोक्दै गर्दा उसलाई काउन्टरमा देखे । पैसा तिरेर बसिराको रैछ । इसारामा हामी बाहिर निस्कियौ ।
ऊ दुबै हात माडिरहेको थियो । सायद जाडो अनुभुति उसलाई पनि भइरहेको थियो ।
‘ हस त अब छुटुम ’ माडिरहको हात नबिसाई उसले नमस्कारले बिदाई गर्यो मैले पनि प्रतिउत्तरमा दुबै हात जोडे ।
कैयौं दिन अनि समय यसैगरि मैले उसँग बिताएको छु । व्यस्त समयमा पनि महिनाको एकपटक हामी आफैसँग समय चोरेर यसरी नै भेट्छौ । हामीलाई सामान्य माहोलमै सहज लाग्छ पनि । थोरै समय पायौ भने पनि ठाउँको अभाव कहिल्यै भएन । चिया पसलको अभाव हुँदो हो भने चाँहि सायद यो आफैसँग चोरेको समयमा गफिने समय हुदैन्थ्यो ।
जिवनमा रँग अनि उमँग छ भन्ने कुराको आभाष उसलाई भेटको दिन जहिले पनि हुन्छ । ऊ आफ्नै सँसारमा व्यस्त छ । म जति न्यास्रिन्छु सायद उसले यस्तो सुइको पनि पाउदैन होला । र पनि मेरो जिवनको एक हिस्सा बनेको छ ऊ । बसेर मजाले गफिने समय नहुँदा पनि उसलाई भेट्दा जिवन पुर्ण छ । साथीको नाता यति गहिरो हुन्छ थाहै थिएन् । सल्लाह सुझाब दिन साँच्चिनै उ माहिर छ, उसको व्यक्तित्व जस्तै । मनमा यति आनन्द अवश्य हुन्छ उसलाई भेटको दिन कि ‘ मेरो एउटा साथी छ ।’

व्यस्त जिवन पन्छाउँदै आज पनि ऊ र म सँगै कालो चिया पिउँदैछौ । टेबलमा ३ वटा कप छ , कालो चिया पिउँने हामी दुई । तातोपानी पिएर मैले एक सुरुप कालो चिया पनि हानी सके । मेरोे अगाडि उही मेरो साहित्यिक सहयात्री छ । आज उसलाई बोल्न गारो भइरहेको छ । चिसो बढिसक्यो , उसको घाँटीमा समस्या छ । उसै तब गम्भिर झनै नबोल्दा त साँच्चैनै गम्भिर देखिया छ उसलाई । ‘ लाटो पहाड ’ बोकेर हिडेको पनि १ महिना बितिसकेको रैछ ।
‘ आज पनि कसैलाई भेट्नु छ ? ’ उसले सदाको भन्दा सानो स्वरमा प्रश्न सोझ्यायो ।
‘ नाई कतै जानु छैन यति बिहानै । किन र ? ’
‘ ब्याग पनि बोक्या छ साथमा झोला पनि बोक्या छ । ’ उसले जिज्ञासाका साथ सोध्यो ।
हास्न मन लाग्यो, मुस्कुराएरै टारे । ‘ ब्यागमा आफ्नै खत्रान्खुत्रुङ्ग छन । झोलामा तपाईलाई कोसेली ल्याइदेको छु । ’
‘ लाटो पहाड ’ र ‘ सल्लीपीर’ सँगै झोलाबाट निकालेर दिए । एक मिठो मुस्कान उसको अनुहारनै उज्यालो हुनेगरि छरियो । उसको नजर प्लाष्टिक पनि नच्यातिएको ‘ सल्लीपीर ’ मा थियो ।
‘ कहिले फिर्ता गरुम त यो’ पुस्तकको अगाडिपछाडि हेर्दै सोध्यो ।
‘अब अर्को भेटमा ’ मैले सरल जवाफ उसको अनुहारमा हेर्दै छोडे ।
थोरै नजर जुध्यो मैले चियाको कपमा नजर डुलाईहाले । यसरी कमै नजर जुँध्छ हाम्रो । अक्सर सँगै कहिल्यै हामी एक अर्कालाई हेर्दैनौं । आज ऊ सदा भन्दा राम्रो देखे मैले । भुक्क फुलेको ज्याकेटमा फुक्क फुलेको अनुहार के बिधि सुहाएको छ आज । हल्का गोरो, सुहाउदिलो अनुहारको बनोटमा उसलाई आजै मात्र हेरिरहु देखे । चोरी चोरी हेरेको सुइको पायो कि भन्ने लाज र डरले एकैचोटी अठ्यायो । कप टिपेर हतार हतार चिया पिउँदा सर्कियो ।
चिया सर्केर खोकेको देखेर ऊ हाँस्यो निकै मजाले । पानी मगाइदियो पनि साहुबा सँग ।
एकछिनको खोकिपछि मैले पानी पिए ।
प्रसंगलाई बदल्दै उसले सोध्यो ‘कस्तो रैछ लाटो पहाड ? मन पर्यो नि ? ’
‘ उम मन पर्यो । जे होस रमाइलो लाग्यो पढुन्जेल । फरक धारको लाग्यो, पढ्दा मन चङ्गा जस्तै भयो । यस्ता कथा पनि रैछन भन्ने लाग्यो । धन्यवाद तपाईलाई । ’
‘ उम रमाइला छन यसका कथाहरु , कैलेकाइ यस्ता कथाहरु पनि पढ्नुपर्छ क्या । सँधै एकै खालका उपन्यास, कथा पनि पढ्नु हुन्न ’ उसले दुबै पुस्तक झोलामा राख्दै भन्यो ।
‘एउटा कुरा सोधुम , अलि गारो अनि अलि ठ्टयौली पारामा उसले अनुरोध व्यक्त गर्यो ।
‘के कुरा हो सोध्नु न ? ’
‘कुनै दिन तपाईले मेरो बारेमा केही लेख्नुपर्यो भने कथामा लेख्नुहुन्छ कि कवितामा ? ’
मैले पुर्लुक्क उसलाई हेरे आश्चर्यका साथ ।
यो प्रश्न त त्यहि हो जुन प्रश्न मैले उसलाई संयौं पटक सोधिसके तर कल्पनामा । आज उसले यथार्थमै सोध्यो । के उसले पनि कल्पनामा मलाई यो कुरा सोधिसकेको भएर हो त ? सायद कल्पनामा पनि मैले यो प्रश्न ढिलो नै सोधेको हुनुपर्छ । र त ऊ विपनामा म भन्दा छिटो भयो ।
‘ अनि यहि प्रश्न मैले तपाईलाई सोधे भने नि ? ’ यसपालि हिम्मत बटुलेरै यसको आँखामा हेरेर प्रतिप्रश्न गरे ।
उसले मिठो मुस्कान छोड्दै भन्यो, ‘ प्रश्न पहिले कसले गर्या ? ’
‘ उत्तर नदिई प्रश्न गर्नै नपाई हो ? ’ म पनि अलि अडिग बने ।
‘ उत्तर जान्न आतुर भएर नै त पहिले प्रश्न गर्या । ल ठिकै छ दुवैलाई सहज हुने एउटा बाटो खोजुम ’
‘ कस्तो बाटो ? ’ चिसोमा पनि उत्सुकताले थोरै न्यानो दिएको जस्तो भयो ।
दुबै हातको बाउला थोरै थोरै माथि सार्दै उत्सुकताको साथमा उसले भन्यो, ‘अबको भेटमा दुबैजनाले लेखेर ल्याम अनि सुनाम हुन्छ ? ’
कुरा त ठिकै थियो तर पर्खाइ त लामो हुने भयो । मैले पनि एकछिन सोचेर भने । ‘उम हुन्छ , तर अबको भेट चाँहि चाडै हुनुपर्छ । ’
‘हस हजुरको मर्जी । कैले हुन्छ त अब हाम्रो भेट? ’ उसले आँखीभौ माथि सार्दै सोध्यो ।
‘ म पछि भन्छु नि हजुरलाई हुन्न ?’ मैले मोबाइल हेर्दै भने ।
‘ हस सक्दो चाडो भेटुम मलाई जान्न हतार भो आफ्नैबारे ’ । घाँटी दुखेपनि उसको बोलीमा उत्साह उत्तिकै थियो ।
बिहानको ९ बजेर २५ मिनेट नाघिसकेको थियो । हामी दुबै हतारियौ । नयाँ ठाउँ भएपनि हामी सहजताका साथ चिया पसलमा गफिएको पनि डेढ घण्टा बितेको पत्तै भएनछ ।
‘ अब निस्किउ होला । ’ टेबलमा राखेको चस्मा लाउदै मैले भने
‘ हुन्छ अब निस्किउ ’
म अघि लागे । चियाको पैसा तिरेर बाहिर निस्किए । ऊ पनि रातो झोलासँगै बाहिर निस्कियो । मान्छेको लस्कर बाक्लिसकेको रैछ । गाडीको तातिसँगैको हर्नले दिन सुरु भइसकेको घोषणा गरिसकेको थियो ।
हामी दुई पनि केही नबोली नमस्कार साटेर आफ्नो आफ्नो बाटो लाग्यौं ।

दिनभरिको थकानलाई मिचेर आज म केही लेख्न बसेकी छु । उसँगको भेटले दिन पनि मधुरतामा बितेको थियो ।
जति सक्दो चाँडो मैले उसको बारेमा केही लेख्नुथियो ताकि हाम्रो भेट चाँडो होस । म खुशी छु उसलाई चाँडैनै भेट्ने बहाना मसँगै बोकेर ल्याएकी छु ।
‘ ओहो यो चिसो बतास । झ्याल बन्द गरु ? कि नगरु ? बाहिर केही दृश्य हेरु ? कतै मनका भावसँग जुर्ने शब्द पो भेटिन्छन कि ? ’

मनको तातोलाई यो चिसो हावाले पनि चिस्याउन नसकेको । कस्तो कौतुहल अनि वितृष्णा जागेको आज ? रातको ९ बजे पनि मानिसहरु सुत्ने तरखरमा छैनन। हेर बाटो पनि खाली छैन ।
मनमनै हाँसो उठ्छ । म पनि त कहाँ सुत्या छु त? मेरो मन र दिमाग पनि त खाली छैन । म झ्याल बन्द गर्छु ।

के लेखु उसको लागि ? कविता ? उम ट्राइ गरु के जान्छ र?

भेट्छु एउटा यात्री यो सुनसान डगरमा ।
बोकेर के के मनमा, हिडेको छ ऊ आफ्नै रहरमा ।
देखिन्छ ऊ साच्चै ज्ञानी, परेको ऊ छ आउने जानेको नजरमा ।
भोगेरै बुझ्यो या देखेर, यस्तै छ भन्छ ऊ संसारको रित, यो अन्जान शहरमा ।

‘ ह्या कसरी लेखु मनका भाव ? यो कविता पनि खासै फुर्दैन । के लेखु ? चिठ्ठी ?
वाउ गुड आइडिया । चिठ्ठी लेख्छु । ’

‘ वाउ क्या दामी छ चिठ्ठी । मन पर्छ होला नि उसलाई । उसले पो के लेख्या होला है मेरो लागि ? ’

मेसेज रिङ्ग बज्छ मोबाइलमा ‘ नमस्कार, सन्चै हुनुन्छ ? के गर्दै हुनुन्छ ?अनि के लेख्दै हुनुन्छ ? कविता कि चिठ्ठी ? म भोलि एक महिनाको लागि थाइल्याण्ड जादैछु काम विशेषले । फर्केर आएको हप्ता नै तपाईलाई मेरो भाव सुनाउनेछु । मैले लेखेर पर्समा राखेको छु । मन त थियो आज बिहान नै दिउ तर केही भाव ती अनुहारको पनि पढ्न मन थियो । सरल र सहज अर्थमा केही बुझेको छु ती मनका भावहरु पनि । बाँकी कुरा अबको भेटमा । अबको भेट साँच्चै सुमधुर र यादगार हुनेछ । पर्खेर बस्नु, फर्केर आउनेछु । टेक केयर, मिस यु । ’
मेसेज पटक पटक पढ्न मन लाग्छ । कस्तो मिठो भावनाले घेरेको उसका भावहरु पढ्दा । म जे सोच्छु के ऊ पनि त्यहि सोच्छ ? अब कसरी बित्छ यो एक महिना ? के गरि काट्नु यो पापी समय ? मनमा धेरै वितृष्णा जाग्छन् ।
आज मुड छ गीत सुन्दै सुत्छु ।
सुन भनन, जुन हेरन, कस्तो शितल तिम्रो छायाको,
एउटै साहारा तिम्रै मायाको……..

लेखक रेश्मी लामिछाने

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here