‘तस्बिरमा नेपाल’ सार्वजनिक

0
133

नेपाल प्रज्ञा–प्रतिष्ठानले सिङ्गो नेपाललाई तस्बिरमा हेर्न सकिने सामग्रीका रूपमा ‘तस्बिरमा नेपाल’ नामक कृति प्रकाशन गरेको छ।

पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिको लगातार प्रकाशन गर्दै आएको प्रज्ञा–प्रतिष्ठानले यस पटक भने नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका र हिमाल, पहाड, तराई र उपत्यका सबै क्षेत्रका महत्वपूर्ण तस्बिरहरूलाई एउटै कृतिमा समेटेर प्रकाशन गरेको छ।

फोटो पत्रकार भरतबन्धु थापाले खिचेका नेपालको भौगोलिक सुन्दरता, पुरातात्त्विक गौरव, ऐतिहासिक गरिमा र धार्मिक तथा पर्यटकीय दृष्टिले उच्च महत्त्व राख्ने ५०० भन्दा बढी रङ्गीन तस्बिरहरू यस कृतिमा समेटिएका छन्।

‘नेपालको प्रदेश नं. एकदेखि सुदूरपश्चिम प्रदेशसम्मका सात प्रदेशलाई सात खण्डमा विभाजन गरी तिनलाई चिनाउने दृश्यसामग्रीहरूलाई अलग अलग रूपमा प्रस्तुत गरिएको यो कृति फोटो पत्रकारिताका दृष्टिले त ऐतिहासिक छ नै आजसम्म प्रकाशित नेपाल चिनाउने सामग्रीहरूमध्येमा पनि सर्वाधिक उपयोगी देखिएको छ’, प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले भने।

यसअघिनै नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाल चिनाउने बृहत् ग्रन्थका रूपमा ‘नेपाल दर्पण’ प्रकाशन गर्ने कुराको घोषणा दुई वर्ष अगाडि नै गरेको थियो।

नेपालका सात वटै प्रदेशका भूगोल र प्रकृतिका साथै त्यहाँ बस्ने जाति र तिनका भाषा, संस्कृति, इतिहास, समाज, मूर्त/अमूर्त कला, साहित्य, धर्म, परम्परा, सभ्यता, ज्ञान–विज्ञान, अर्थतन्त्र, व्यवसाय/पेसा आदि पक्षको स्थलगत अवलोकनसहितको अध्ययन र अनुसन्धान गराई सम्बद्ध विद्वान्हरूबाट प्रदेशगत तहमा सात वटा आधिकारिक ग्रन्थ निर्माण गराउने प्रतिष्ठानको योजना छ।

त्यस्तै तिनीहरूको सारसङ्क्षेपका रूपमा ‘नेपाल दर्पण’ नामक आठौं ग्रन्थ तयार गरी यी सबै ग्रन्थलाई सुरुमा नेपाली भाषामा प्रकाशन गर्ने र लगत्तै ती आठ वटै ग्रन्थलाई अङ्ग्रेजी भाषामा अनुवाद गराई प्रकाशन गर्ने योजना र लक्ष्यसहित प्रज्ञा–प्रतिष्ठानले आवश्यक बजेटका लागि नेपाल सरकारसमक्ष अनुरोध गरेको प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले बताए।

कोभिड–१९ का कारण आवश्यक बजेट प्राप्त नभएपछि आफ्नै आन्तरिक बजेट व्यवस्थापन गरी प्रदेश नं. २ को परिचयात्मक ग्रन्थ लेखन कार्य सम्पन्न भए पनि अन्य प्रदेशको काम गर्न नसकिएकाले तस्बिरबाट मात्र भए पनि सिङ्गो नेपाल चिनाउने सामग्री प्रकाशन गरेको उनले बताए।

‘तस्बिरमा नेपाल’ कृतिमा तस्बिरै तस्बिरबाट नेपाललाई देखाइएको हुनाले यो सबै उमेरसमूहका लागि रोचक, मनोरञ्जक र ज्ञानवद्र्धक रहेको प्राज्ञ डा. देवी नेपाल बताए।

‘जो कोहीले यसबाट चित्र हेरेर मनोरञ्जन गर्न चाहनेले पूर्ण मनोरञ्जन गर्न सक्ने, नेपालको विविधतापूर्ण परिवेशका बारेमा जान्न चाहनेले ज्ञान प्राप्त गर्ने र नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक, पुरातात्त्विक विषयमा गहिरो अनुसन्धान गर्न चाहनेले पनि महत्त्वपूर्ण सूचनाहरू प्राप्त गर्न सक्नेछन्’, प्राज्ञ डा. नेपालले भने।

एउटै कृतिमा र एकै ठाउँमा बसेर सिङ्गो देश हेर्न सकिने ३२० पृष्ठ र २०७० मूल्य रहेको एफोर साइजमा सम्पूर्ण रङ्गीन कलेवरमा छापिएको प्रकृति नेपाल प्रज्ञा–प्रतिष्ठानको विक्री कक्षमा र अधिकृत विक्रेतामार्फत देशभरका पुस्तक पसलहरूबाट किन्न पाइन्छ।

सेतोपाटीबाट

Facebook Comments

comments