ताथलीमा जग्गा प्लटिङसँगै सार्वजनिक जग्गा मिचिने क्रम बढ्दै : शक्तिका अघि जनप्रतिनिधि निरीह

0
413

भक्तपुर । जग्गाको खरिद बिक्रिले भय जन्माएको शहरका रुपमा पछिल्लो समय भक्तपुर नेपालमै परिचित बनेको छ । सार्वजनिक जग्गा अतिक्रमणले तिब्रता पाएको बेला भक्तपुरको चाँगुनारायण नगरपालिकामा समेत यो रोगले ब्यापकता पाएको हो । सार्वजनिक जग्गा अतिक्रमण हुँदा समेत सरोकारवाला तै चुप मै चुप बस्नुको पछाडि आर्थिक चास्नीको खेल भएको यस क्षेत्रका स्थानीय बताउँछन् ।

कर्मचारीले देश चलाएका बेला जग्गामा हुने आर्थिक चलखेल जनप्रतिनिधिको आगमनसँगै न्यून हुने आशामा तुषारोपात भएका घटनाहरु बाहिर आइरहेका बेला यस चाँगुनारायण नगरकोे ताथलीमा भएका प्लटिङमा आर्थिक चलखेलका साथै सक्नेको राज चलेको स्पष्ट देख्न सकिन्छ ।

ब्यक्तिगत जग्गासँगै रहेको सार्वजनिक जग्गा अतिक्रमण गर्ने रोगलाई जनप्रतिनिधिले रोक लाउन नसक्नु र आँखा चिम्म गरेर बस्नुले जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान चरितार्थ बनेको छ भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नंं ९ ताथलीमा भइरहेको जग्गा प्लटिङ ।

जनप्रतिनिधि आउनु अघि प्राधिकरणसँग स्विकृति लिएर गरिने जग्गा प्लटिङ सरकारको निर्णयसँगै स्थानीय तहमा स्वीकृति लिनु पर्ने भएपछि जग्गा प्लटिङ यस क्षेत्रमा झन मौलाएको होे । तर स्थानीय तहका जनप्रतिनिधिहरु भने जग्गा प्लटिङका लागि अधिकांशलाई स्विकृति नदिएको बताउँछन् ।

‘शक्तिवालाहरुका अघि केही लागेन ।’ नगरपालिकाको नियमलाई समेत अटेर गरेर जग्गा प्लटिङ भइरहेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र स्विकार गर्दै भन्छन्, ‘पहुँचकै आधारमा यसरी जग्गा प्लटिङ भइरहेको छ र यसमा नगरपालिकाले रोक लगाउँदा समेत अटेर गर्दै धमाधम काम भइरहेको छ भने शक्तिका अघि मौन बस्नु पर्ने बाध्यता आएको छ ।’ यति मात्र नभएर हाल चाँगु नगरपालिकाभित्र भएका प्लटिङका बारे अत्याधिक मात्रामा गुनासो आउने गरेको उनी बताउँदै यस क्षेत्रमा हुने गरेका अधिकाशं जग्गा प्लटिङमा सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा परेको स्विकारछौं ।

‘के पाखो के खेत के बारी अनि सार्वजनिक जग्गा भएको स्थान भेट्नासाथ भूमाफियाहरुको आँखाबाट जोगाउनै मुस्किल हुने गरेको’ स्थानीय रामचन्द्र खत्री् बताउँछन् । आर्थिक पहुँचकै आधारमा जग्गाको चलखेल नभएको भए किन सराकारवालाहरु चुप लागेर बस्थे त ? उनी प्रति प्रश्न गर्छन् ।

उनी भन्छन्, ‘ढुंगा बोल्दैन् देवता देख्दैन् भने झै डोजर चलाएर यस क्षेत्रका सबै डाँडा काँडा सकिसकेका छन् ।’

त्यस्तै अर्का स्थानीय उत्तम शाखकर्मी गुनासो गर्छन्, ‘जनप्रतिनिधि आए पछि झनै ताथलीमा सार्वजनिक जग्गा भूमाफियाहरुका लागि साधुका लागि चौतारो बनेको छ । पैसावालाहरुले सके जे पनि गर्न सक्छन् भन्ने भनाई यो क्षेत्रमा भइरहेका जग्गा प्लटिङबारे जानकारी लिए पुग्छ ।’

नगरपालिका क्षेत्रमा गरिएका जग्गा प्लटिङ भएका क्षेत्रमा कम्तीमा पनि दशदेखि पन्ध्र प्रतिशतसम्म सार्वजनिक जग्गा अतिक्रमण भएको छ । यसको अध्ययन गरि तथ्यांक संकलन गरि सक्दो कारवाही गर्ने नगरपालिकाले जनाएता पनि हाल सम्म कुनै प्रक्रिया नबढाएको नगरपालिका स्रोत जनाउँछ । राजनीतिक र अर्थको पहुँचकै आधारमा यो क्षेत्रमा गरिएका जग्गा प्लटिङ क्षेत्र आसपासमा भएका सार्वजनिक जग्गा सकिने क्रम जारी रहेको छ ।

साझा सम्पत्तिका रुपमा रहेको सार्वजनिक जग्गा यसैगरि जग्गा प्लटिङका नाममा सक्दै जाने हो भविष्यमा सन्तानले सार्वजनिक जग्गा भनेको के हो भनेर नसोध्लान् भन्न सकिँदैन ।

ताथली खबरबाट

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here