नचिनिने शव १७ डाक्टरले पहिचान गरेर आफन्तलाई बुझाए

0
198

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव नचिनिने अवस्थामा संकलन गरिएको थियो।

सुकेटार विमानस्थलबाट बिहीबार बिहान काठमाडौं ल्याइएका शव त्रिवि शिक्षण अस्पतालको ‘फरेन्सिक ल्याब’ मा परीक्षण गरी सनाखत गरिएको हो।

यसको निम्ति फरेन्सिक विभाग प्रमुख डा. रिजन श्रेष्ठ नेतृत्वको टोलीले सबै शव परीक्षण गरेको थियो। फरेन्सिक, डेन्टल र पोस्टमार्टम विभागका १७ जना चिकित्सक यसमा संलग्न थिए।

जलेका शव शरीरमा बचेकाखुचेका कपडासँगै ल्याइएको परीक्षणमा संलग्न डेन्टल विभागका डा. सुवित मास्के बताउँछन्।

उनका अनुसार शव परीक्षण गर्न दुइटा विधि अपनाइन्छ- पोस्टमार्टम र एन्टिमोर्टम।

‘पोस्टमार्टम’ शंकास्पद मृत्युमा गरिन्छ भने ‘एन्टिमोर्टम’ नचिनेको शव पहिचान गर्न अपनाइन्छ। हवाई वा अन्य दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव नचिनिने अवस्थामा छ भने एन्टिमोर्टमबाट सनाखत गरिन्छ।

यो विधिअन्तर्गत फेला परेको शवलाई ‘फरेन्सिक ल्याब’ मा लगेर शरीरको बनावट, उचाइ, हड्डी, दाँतको बनावट पहिचान गरिन्छ। त्यस्तै, शरीरमा भएका कपडा र औंठी, सिक्रीलगायत गहना लगाएको थियो कि थिएन हेरिन्छ। यस्ता चिह्नबाट शव पहिचान गर्ने प्रक्रिया नै ‘एन्टिमोर्टम’ हो। यसमा डिएनए परीक्षण पनि पर्छ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१०, सिस्नेभीर दाह्रेढुंगामा बुधबार भएको दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक वीरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको मृत्यु भएको थियो।

‘शवहरू नचिनिने अवस्थामा आएका थिए। यस्ता शव आँखाले हेरेर सनाखत गर्न सकिँदैन। द्रुत गतिमा भएको भयानक दुर्घटनाले शवहरू एकदमै नचिनिने भएका थिए,’ मास्केले भने।

उनका अनुसार शव पहिचान गर्नुअघि उसका आमाबाबु वा आफन्तले दिएको हुलियाका आधारमा परीक्षण गरिएको थियो।

चिकित्सक टोलीले पहिले हुलिया परीक्षण गर्न आफन्तलाई सँगै राख्यो। सोधपुछ गर्यो। शरीरमा केही दाग भए/नभएको, मेडिकल अपरेसन गरिएको/नगरिएको, शरीरका हाड भाँचिएका वा स्टेन्ट राखिएको थियो/थिएन, दाँत कस्तो थियो लगायत सबै रेकर्ड लियो।

‘यी सबै रेकर्ड लिएर एउटा शव परीक्षण गर्न झन्डै एक घन्टा लाग्यो,’ डा. मास्केले भने, ‘सम्बन्धित मान्छेलाई सँगै राखेर सोधपुछ गर्दै हुलिया पत्ता लगाउने काम गर्यौं। अनि आफन्तसँग शवको डिएनए जाँचेर हेर्यौं। तीनवटा टोलीले परीक्षण गरेकाले छिट्टै पहिचान भयो।’

उनका अनुसार डिएनए परीक्षण गर्दा सबभन्दा पहिला शवको नमूना संकलन गरिन्छ। पहिले रगत परीक्षणबाट डिएनए पत्ता लगाइन्थ्यो। अचेल औंठाछाप, थुक, छाला, नङ, कपाल, हड्डी, दाँत वा शरीरका कुनै अंगबाट डिएनए परीक्षण गर्न सकिन्छ।

यसरी शवको डिएनए परीक्षण गरेपछि त्यसलाई आफन्तको ‘डिएनए’ सँग मिलाएर हेरिन्छ। यकिन गर्न उक्त प्रक्रिया दोहोर्‍याइन्छ। यही आधारमा शवसँग डिएनए मिलेपछि मात्र आफन्तलाई बुझाइएको उनले बताए।

नेपालमा शिक्षण अस्पताल, केन्द्रीय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीसँग मात्र फरेन्सिक ल्याब छ।

प्रहरीले गम्भीर प्रकृतिको घटना अनुसन्धानका लागि फरेन्सिक ल्याब प्रयोग गरिरहेको छ। प्रहरीले प्रयोग गरिरहेको फरेन्सिक ल्याबमा हत्या, हातहतियार वा गोलीको दाग हेर्छ। लागुऔषध प्रयोग भए/नभएको यकिन गर्छ।

सेतोपाटीबाट

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here