काठमाडौं–इन्जिनियरिङ्ग संस्थान पुल्चोकको प्राङ्गडमा आजबाट ‘नवौं सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतिस्पर्धा’ कार्यक्रम शुरु भएको छ । कार्यक्रम तीन दिन चल्नेछ ।
इन्जिनियरिङ्ग सस्थान,पुल्चोकको सहयोग रहेको कार्यक्रमलाई सिभिल इन्जीनियर विद्यार्थी समाज(सेस)ले आयोजना गरेको हो । कार्यक्रमलाई प्रमुख अतिथि भौतिक योजना तथा निर्माण मन्त्री वीर बहादुर बलायरले रिवन काटेर उद्घाटन गरेका थिए ।
नेपालको भौगोलिक अवस्था अनुरुप भीर–पाखा खोपेर सुरुङ्ग बनाउनेतर्फ आजसम्म ध्यान नदिएको प्रति अफसोच जनाएका मन्त्रीले प्रदर्शनीमा राखिएको कोटेश्वरबाट एयरपोर्ट मुनी भएर पेप्सीकोला जोड्ने अन्डरपासको प्रारुप विशेष चाख दिएर अवलोकन गरेको थिए ।
कार्यक्रममा १५ कलेजका २३ स्टल राखिएका छन् । कार्यक्रमको अन्तिम दिन ज्यूरीहरुले दिएको अंकको आधारमा प्रारुपहरु मध्यबाट उत्कृष्टलाई पुरस्कृत गरिने आयोजकले बताए ।


