६ मंसिर, काठमाडौं । सडकसम्बद्ध नेपाली इन्जिनियरहरुले पहिलो पटक नेपालमै बनिरहेको सुुरुङमार्गमा तालिम लिने मौका पाएका छन् । सडक विभागले पहिलो चरणमा १५ जना इन्जिनियरलाई नागढुंगामा जापानी सहयोगमा बनिरहेको सुरुङमार्गमा लगेर तालिम गराएको हो ।

सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख डा. विजय जैसीका अनुसार विदेशी परामर्शदाता र ठेकदारबाट सिप, ज्ञान, दक्षता प्राप्त गर्ने गरी विभागका इन्जिनियरहरुलाई तालिम दिन शुरु गरिएको हो ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापकसहित सुरुङका विज्ञहरुबाट सैद्धान्तिक कक्षा लिने र प्रयोगात्मक रुपमा २.६८ किलोमिटर लामो निर्माणाधीन नागढुंगा सुरुङमार्गमा लगेर तालिम दिने काम शुरु भएको हो ।

‘विभागका करिब ५ सय मध्ये २ सय जना इन्जिनियरलाई हामी यस किसिमको तालिम दिन्छौं,’ उनले भने,’यसमा हामीलाई सुरुङमार्गको ठेकदार कम्पनी हाजमाले पनि सहयोग गरेको छ । ‘ प्रत्येक महिनामा यस्ता तालिम गर्दै नेपाली इन्जिनियरको दक्षता वृद्धि गर्ने उनले बताए ।

यस्तो तालिमपछि नेपाली इन्जिनियरहरुलाई आत्मविश्वास बढ्ने र अध्ययनमा रहेका साना सुरुङमार्ग निर्माणका समयमा सुपरभिजन गर्नसक्ने क्षमता विकास हुने विभागको अपेक्षा छ ।

विभागले सुरुङमार्गको डिजाइनबारे पनि केही दर्जन इन्जिनियरलाई छुट्टै तालिम दिने तयारी गरिरहेको छ । यस्ता तालिमबाट सुरुङ प्रविधिबारे मध्यमस्तरको ज्ञान प्राप्त हुने भएकाले नेपालमै दक्ष सुरुङ इन्जिनियरहरुको उत्पादनमा टेवा पुग्ने विभागको विश्वास छ ।

नेपालमा सडक मार्गलाई छोट्याउन नेपालमा १०५ वर्षअघि नै मकवानपुरको चुरियामाई सुरुङमार्ग बनाएको इतिहास छ । अमलेखगञ्ज-हेटौंडा सडकखण्डमा राणा शासनको पालामा बनाइएको ७०० मिटर लामो सुरुङमार्गको भग्नावशेषलाई अहिले बागमती प्रदेश सरकारले जीर्णोद्धार गरिरहेको छ ।

सुरुङ प्रविधिमा प्रवेश गरेको सय वर्षपछि मात्रै नेपालले सडक पूर्वाधारमा यसको प्रयोग बढाउने नीति बनाएको छ । तर, यसका दक्ष प्राविधिक भने नेपालमा सीमित मात्रै छन् ।

अब सुरुङहरु बनाउँदै त्यसबाट सिक्दै दक्षता पनि बढाउँदै र विदेशी प्रविधि पनि आत्मसात गर्ने योजना विभागको छ ।

अरू सुरुङमार्ग निर्माणमा सहयोगी

सडक विभागले चालु आर्थिक वर्ष २०७८/७९ मा थप चारवटा सुरुङमार्ग निर्माणका लागि अध्ययन अघि बढाउन लागेक छ । विभागका अनुसार कर्णालीमा समेत यो वर्ष सुरुङमार्ग निर्माणको लागि अध्ययन हुनेछ । यो वर्ष बबई-छिन्चु खण्डमा सुरुङमार्ग निर्माणको सम्भावनाबारे अध्ययन गर्न ६० लाख रूपैयाँको बजेट विनियोजन भएको छ ।

त्यसैगरी पाल्पाको प्रवास-जोर्ते खण्डमा सुरुङमार्ग बनाउन पनि यो वर्ष बजेट विनियोजन भएको छ । यो सुरुङमार्गको अध्ययनका लागि विभागले ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

यसैवर्ष चितवनको शक्तिखोरबाट धादिङको माझिम्टारसम्म सुरुङमार्ग बनाउन विभागले अध्ययन अघि बढाउने तय गरेको छ । यसका लागि बजेट विनियोजन गरेर तयारी सुरु गरिएको निर्देशक जैसीले बताए ।

त्यसैगरी चेपाङमार्गको दुम्लिङ-वासपाङ खण्डमा पनि सुरुङमार्गको अध्ययन अघि बढाउने कार्यक्रम तय गरिएको विभागले बताएको छ । विभागले काभ्रेको रबिओपीबाट भक्तपुरको ताथली जोड्ने सुरुङमार्ग पनि अध्ययन गर्ने योजना बनाएको छ ।

सिद्धार्थ राजमार्ग (बुटवल-पोखरा) को सिद्धबाबामा यहाँ ११ सय मिटर लामो सुरुङ निर्माणका लागि विभागले ठेक्का गरेर कम्पनी छनोट गर्ने तयारी गरेको छ । सो सुरुङमार्ग निर्माणका लागि अर्थमन्त्रालयले स्रोत सुनिश्चित गरी यो वर्ष ६० करोड बजेट छुट्याएको छ ।

त्यसैगरी उत्तर-दक्षिण कोरिडर अन्तर्गत दोलखाको लामाबगरमा बन्ने सुरुङमार्गको डिजाइन तयार भइसकेको छ । सो सुरुङमार्ग निर्माणका लागि बहुवर्षीय ठेक्का गर्न अर्थमन्त्रालयसँग बजेटको सहमति पनि माग्न लागेको छ । यो वर्ष यो सुरुङमार्ग अघि बढाउन २५ करोड बजेट विनियोजन भएको छ ।

यो सुरुङमार्ग निर्माण भएमा दोलखा हुँदै चीनसँग जोडिएको नाका लामाबगरसम्म सडक पुग्नेछ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ‘हेडवक्र्स’ भन्दा माथिको भागमा करिब एक किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ । यो सुरुङ बनेपछि चीनको नाका जोड्न थप करिब ९ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ ।

यही बेला संघीय सरकारले एकैपटक २३ वटा सुरुङमार्गबारे अध्ययन गरिरहेको छ । विभागले धरान-लेउतीरोड, गोदावरी (ललितपुर)-मानचौर (काभ्रे) र दिपायल (डोटी)-खुटिया (कैलाली) खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्दैछ ।

विभागले पूर्व-पश्चिम राजमार्गको नवलपरासीको दुम्कीबास-बर्दघाट खण्डमा पनि ५-६ किलोमिटर लामो सुरुङमार्ग बनाउन अध्ययन गर्दैछ । पोखरा-बागलुङ सडकको हेम्जा-नयाँपुल खण्डमा पनि ७ देखि साढे ८ किलोमिटर लामो सुरुङमार्गको सम्भाव्यता अध्ययन हुँदैछ । यता वीपी राजमार्गको खुर्कोट-चियाबारी खण्डमा पनि सुरुङमार्गको सम्भाव्यता अध्ययन भएको छ ।

विभागले स्वीस सरकारको सहयोगमा गणेशमान सिंह मार्गमा पर्ने थानकोट-चित्लाङ सुरुङमार्गको पनि अध्ययन गर्दैछ । मकवानपुरको थाहा नगरलाई जोड्ने यो सुरुङमार्ग बनेमा पालुङ भएर हेटौंडा जोड्ने त्रिभुवन राजपथको दूरी छोटिनेछ ।

यसैगरी, टोखा-छहरे-गुर्जुभञ्ज्याङ र बेत्रावती-रसुवागढी (घट्टेखोला) सुरुङमार्गको त डीपीआर तयार गरिँदै छ । २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा काठमाडौंबाट रसुवाको नेपाल-चीन नाकासम्म -टोखा-छहरे-गुर्जुभञ्ज्याङ करिब ५ किलोमिटर र बेत्रावती-रसुवागढी (घट्टेखोला) (करिब २४ किलोमिटर) सुरुङमार्ग बनाउन अध्ययन गर्ने समझदारी भएको थियो । त्यसअनुसार चिनियाँ टोलीले प्रारम्भिक अध्ययन गरेको थियो । महामारीपछि चिनियाँ प्राविधिक नेपाल नआएकाले यो आयोजनाको थप अध्ययनबारे अन्योल छ ।

जापानको सहयोगमा कोटेश्वर-जडीबुटी सुरुङमार्गको अध्ययन पनि भइरहेको छ । केन्द्रीय राजधानी काठमाडौं सहरको ट्राफिक समस्या कम गर्न सरकारले नयाँबानेश्वर र गौशालामा पनि अन्डरपास बनाउने योजना बनाएको छ ।

नेपाली सेनाले निर्माण जिम्मा लिएको काठमाडौं-निजगढ द्रुतमार्गको महादेवडाँडामा ३.३५५ किलोमिटर, धेद्रेमा १.६३० किलोमिटर र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ बनाउन डिजाइनको काम भइरहेको छ ।

मकवानपुरमा कुलेखानी-भीमफेदी सडक खण्डमा २५ अर्ब लगानीमा देउरालीडाँडा छल्न बागमती प्रदेश सरकारले ३ किलोमिटर लामो सुरुङमार्ग बनाउन अध्ययन गरेको छ ।

यसत्ा सुरुङमार्गहरु निर्माणमा जाँदासम्म नेपाली इन्जिनियरहरुलाई आयोजनाको सुपरीवेक्षणमा लगाउन सक्ने गरी दक्ष बनाइसक्ने सरकारी योजना छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here