काठमाडौँ: दोस्रो तथा अन्तिम चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सोमबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ। सोमबार राजनीतिक दलहरु मतदातामाझ अन्तिम पटक पग्दैछन्। राजनीतिक दलका नेताहरु आ-आफ्ना क्षेत्रमा चुनावी कार्यक्रममा व्यस्त छन्।
मौन अवधि प्रारम्भ भएपछि निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन। मौन अवधि उल्लङ्घन गरी प्रचारप्रसार गरेमा निर्वाचन आयोगलाई उम्मेदवारी रद्द गर्ने सम्मको अधिकार छ।
उम्मेदवारसँगै मौन अवधिभर राजनीतिक दल तथा दलका पदाधिकारीहरुले आचारसंहिता विपरीत काम गर्न पाउँदैनन्। सञ्चारमाध्यमले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसार गर्न पाउँदैनन्।
के के गर्न पाइँदैन
निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा उम्मेदवारले भोट माग्न तथा अन्य प्रचारात्मक काम गर्न पाइने छैन्। मौन अवधिको उल्लङ्घन भएको ठहर भएमा निर्वाचन आयोगले उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्द गर्न सक्नेछ।
सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचार प्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ। आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा ’एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने’, उल्लेख छ।
त्यस्तै दलका उम्मेद्वारहरुले राजनीति दलको चिह्न अंकित टिसर्ट, टोपी र स्टीकर प्रयोग गर्न समेत पाउने छैनन्। निर्वाचनका लागि खटिएका कर्मचारीहरुले मौन अवधिभित्रै मतदान केन्द्रहरु तयार गर्नेछन्।
- निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने।
- मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनु पर्ने।
- एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने।
- मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने।