नेपालमा साइकल

0
529

सन् २००७ को कुरा हो। अमेरिकी नागरिक केलभ स्पेयर नेपाल आएका थिए। उनले काठमाडौं आसपास क्षेत्रमा अन्न छोडाउने र पिस्ने काम हातैले गरेको देखे। केलभले अमेरिकाका ग्रामीण भेग सम्झे, जहाँ यस्ता काममा साइकल प्रयोग हुन्थ्यो। उनलाई लाग्यो, नेपालमा पनि त्यस्तै साइकल बनाउन सके, हातैले अन्न छोडाइरहेका किसानलाई सुविस्ता हुनेछ।

आठ वर्षपछि सन् २०१५ मा केलभ फेरि नेपाल आए। तीन जना नेपालीसँग सहकार्य गरी एउटा वर्कसप खोले। त्यही वर्कसपमा बन्यो, मेड इन नेपाल साइकल– पोर्टल बाइक।

केभलको सोचअनुरुप डिजाइन गरिएका यी साइकल मकै छोडाउने ‘कर्न सेलर’ का रूपमा प्रयोग गर्न सकिन्छ। मकै, गहुँ र कफी पिस्ने ‘ग्रिन्डर’ पनि जडान गर्न सकिन्छ। त्योभन्दा ठूलो उपयोगिता सहरी क्षेत्रमा छ, जहाँ मालसामान ढुवानी गर्न यो साइकल प्रयोग हुन्छ। त्यही भएर यसलाई ‘कार्गो साइकल’ पनि भनिन्छ।

‘हाम्रो उद्देश्य नै साइकलबाट सामाजिक रूपान्तरण गर्नु हो,’ कम्पनीका बजार व्यवस्थापक तेञ्जिङ गुरुङले सेतोपाटीसँग भने, ‘विभिन्न काममा प्रयोग गर्न सकियोस् भनेर यसलाई त्यही ढंगले डिजाइन गरिएको छ।’

उनका अनुसार चालकसहित तीन जना सयर गर्न मिल्ने यो कार्गो साइकल पसल–पसलमा सामान ओसारपसार गर्न उपयोगी छ।

‘तपाईं देख्न सक्नुहुन्छ, एउटा पाउरोटी, डुनोट, आलु चिप्स वा मैनबत्ती उत्पादकलाई ती सामान पसल वा ग्राहकसम्म पुर्याउन कत्ति कष्टपूर्ण छ,’ उनले भने, ‘सार्वजनिक बसमा चढाऊँ, बसवाला हाल्नै मान्दैनन्। मानिहाले पनि बढी भाडा तिरेर मात्र पुग्दैन, हप्की सहनुपर्छ। रिजर्भ गरेर लगौं, लागत उठ्दैन। आफैं केही गरिरहेका र अरूलाई रोजगारी दिइरहेका त्यस्ता उद्यमीकै लागि हो, यो साइकल।’

अन्न छोडाउन र पिस्न भने साइकलको चक्कामा मेसिन जोड्नुपर्ने उनले बताए। पेडल घुमाएपछि पछाडिको चक्का घुम्छ। यसले मेसिनलाई ऊर्जा दिन्छ। त्यही ऊर्जाबाट अन्न छोडाउने वा पिस्ने काम हुन्छ।

‘यसले किसानको शारीरिक कष्ट र समय दुवै बचत हुन्छ,’ गुरुङले भने।

उनीहरूले हातैले मकै छोडाउँदै आएका काभ्रेका एक किसानको घरमा यो साइकल परीक्षण गरेका थिए। काभ्रेकी ती किसान महिलाको अनुभव साट्दै गुरुङले भने, ‘उहाँलाई दुई दिन लाग्ने काम यो साइकलबाट दुई घन्टामै सकियो। उहाँ निकै खुसी हुनुभयो। उहाँको हातमा ठेला उठेन। ठेला निको पार्न हातमा तेल लगाउनु परेन।’

आवतजावतमा प्रयोग नहुँदा पनि अन्य काममा साइकलको उपयोगिता होस् भनेर यस्तो डिजाइन गरिएको उनले बताए।

नेपालमै बन्ने यो साइकललाई सबै पाटपूर्जा ताइवानबाट ल्याइन्छ। ती सबै यहीँ फिटिङ हुन्छ। स्थानीय मेकानिकले सजिलै मर्मतसम्भार गर्न सक्ने गरी डिजाइन गरिएको उनले बताए। जस्तो, ब्रेक फेर्नुपर्यो भने जुनसुकै साइकलको झिकेर लगाए फरक पर्दैन। तीस किलो तौलको यो साइकलले चालकसहित दुई सय किलो भार बोक्न सक्छ। चक्काका रिङ र तार पनि यति भार थेग्नसक्ने गरी बलियो बनाइएको छ। ‘सेभेन स्पिड’ गियर र डिस्कब्रेकसमेत जडित छ।

पहिलोपटक साइकल फिटिङ सिकाउन विदेशी नै आएका थिए। उनीहरूबाट तालिम लिएकाले नयाँलाई सिकाउन थाले। यो तालिम सबैका निम्ति खुला भएको गुरुङ बताउँछन्। नयाँ आउनेलाई तीनमहिने तालिम दिइन्छ। उनीहरू दक्ष भए र इच्छा देखाए यहीँ काम पाउँछन्। तालिमको शुल्क पनि लाग्दैन।

यो बहुपयोगी साइकलको मूल्य ३२ हजार ५ सय रुपैयाँ हो। कम्पनीले यसको फ्रेममा ३ वर्ष वारेन्टी र पाटपूर्जामा ६ महिना निःशुल्क सर्भिसिङ दिएको छ। ‘कोर्न सेलर’ र ‘ग्रिन्डर’ जडान गर्नुपरे अलग्गै ६ हजार रूपैयाँ तिनुपर्छ।

यसको कारखाना चोभारमा छ। यहाँ १२ जनाले रोजगारी पाएका छन्। बिक्री तथा सर्भिसिङ गर्न झम्सिखेलमा पसल छ। चाँडै नै बौद्ध र लाजिम्पाटमा खोल्ने तयारी भइरहेको गुरुङले बताए। उनका अनुसार मासिक करिब एक सय २० वटा साइकल उत्पादन भइरहेको छ। कम्तिमा दिनको एउटा बिक्री हुन्छ।

झम्सिखेलमा पसल राखेपछि राम्रो प्रतिक्रिया पाउन थालेका गुरुङले अब तराई सुहाउँदो मोडल निकाल्ने र विदेश निर्यात गर्ने योजना बनाएका छन्। यहाँ बस्दै आएका विदेशीले यो साइकल रूचाएकाले निर्यात गर्ने योजना बनाएको उनले बताए।

‘बच्चाहरूलाई स्कुल पुर्याउन, कुनै सामान किनेर कोठासम्म ल्याउन वा घुमघाममा, यो साइकल सहज छ,’ उनले भने, ‘यस्तै खालका कार्गो साइकल अमेरिकी र युरोपेली बजारमा ८ सय डलरभन्दा बढी पर्छ। यहाँ हामी ३ सय डलरमा बेचिरहेका छौं। विदेशमा ६ सय डलरसम्म बेच्न सकियो भने विदेशी मुद्रा आर्जन हुन्थ्यो।’

तराईमा यो साइकल बेच्न मूल्य र सुविधा दुवै कम गर्नुपर्ने उनले बताए। ‘तराईमा महँगा साइकल बढी चढिँदैन। भाउ कम गर्न जरुरी छ,’ उनले भने, ‘यसका लागि सुविधा घटाउनुपर्छ। तराईको जमिन समथर भएकाले गियर र डिस्कब्रेक चाहिँदैन।’

तराई मात्र होइन, केही साइकल त उनले जुम्ला र भैरहवा पनि पठाउन लागेका छन्। नारायणगढ, हेटौंडा र झापामा सर्भिसिङसहित बिक्री पसल खोल्ने तयारी भइरहेको उनले बताए।

‘विदेशबाट पाटपूर्जा ल्याएर बनाउने भए पनि यो आन्तरिक जनशक्ति प्रयोग भएको मेड इन नेपाल साइकल हो, हाम्रो जनजीवनमा यसको उपयोगिता बढी छ,’ गुरुङले भने, ‘म यो साइकललाई विदेशी बजार पुर्याएर नेपाल चिनाउन चाहन्छु।’

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here