नेपाली सेनाका लागि पाँच अर्बको गोली–गट्ठा बनाउने मेसिन खरिदमा अन्योल

0
518

काठमाडौं । नेपाली सेनाले माग गरेको गोली गट्ठा बनाउने मेसिन वर्तमान शेरबहादुर देउवा सरकारको पालामा खरिद गर्ने कि नयाँ सरकार बनेपछि किन्ने भन्ने विषयमा अन्योल देखिएको छ । यो मेसिन उपलब्ध गराउने एजेन्सीबीच प्रतिस्पर्धाका कारण अन्योल देखिएको स्रोतले जानकारी दिएको छ ।

कोही यही सरकारको पालामा यो काम फत्ते गराउन लागिपरेका छन् भने कोही नयाँ सरकारले मात्र दीर्घकालिन असर पुग्ने निर्णय गर्नुपर्ने तर्क गरिरहेका छन् ।

७.६२ एम्युनिसन प्रोडक्सन लाईन भनिएको यो मेसिन विभिन्न गोली गट्ठा बनाउन प्रयोग हुने र यो मेसिनको उत्पादनले नेपाली सेनालाई तालिमका लागि चाहिने गोली गट्ठामा धेरै हदमा आत्मनिर्भर बनाउने तर्कसहित सेनाले यसको माग गरेको थियो । सेनालाई यो मेसिन खरिद गर्नका लागि २०७३ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सरकारले स्वीकृति दिएको थियो ।

यो मेसिन अहिलेको सरकारको पालामा किन्न पाए केही कमिशन आउने भनेर सरकारले दबाब दिएको आरोप पनि संलग्न केही व्यक्तिले लगाएका छन् । तर, सेनाले भने सरकारले कुनै प्रकारको दबाब नदिएको बताएको छ ।

सेनाको सुन्दरीजलस्थित कारखानामा यो मेसिन जडान गरिने र त्यसबाट नेपाली सेना निकै सुदृढ हुने एक उच्च सैनिक अधिकारीले नाम नबताउने शर्तमा बताएका छन् । “कुन सरकारको पालामा खरिद हुन्छ भन्ने विषयमा सेनालाई सरोकार छैन । तर यो मेसिन सेनाका लागि भने अति जरुरी छ भन्ने सबैले बुझ्न जरुरी छ,” ति अधिकारीले बताए ।

यो मेसिन खरिद गर्ने स्विकृती पाएपछि सेनाले यस सम्बन्धमा अध्ययन गरेर आफ्नो जरुरतको मूल्यांकन गरी स्पेसिफिकेशन बनाएको र मेसिन उपलब्ध गराउन सक्ने देशसँग पत्राचार गरेको थियो । सेनाले यो मेसिन उपलब्ध गराउनका लागि दक्षिण कोरिया, इजरायल तथा फ्रान्ससँग पत्राचार गरेको र सबैबाट प्रस्ताव माग गरेको कुरा नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले बताएको छ ।

“यो मेसिन खरिद गर्नका लागि हामीले तीनवटा देशसँग प्रस्ताव मागेर यस्तो खरिद गर्दा अपनाउनुपर्ने सम्पूर्ण नियम सहि ढंगले पालना गरेका छौं,” सहायक रथी गोकुल भण्डारीले भने । भण्डारी निर्देशनालय प्रमुख हुन् ।

निर्देशनालयले सबै देशबाट आएको प्रस्ताव अध्ययन गरिरहेको बताएता पनि एक स्रोतले दक्षिण कोरियाको पुनसाङ कर्पोरेशनसँग मेसिन किन्ने तयारी अन्तिम चरणमा पुगिसकेको बताएको छ । नेपालले सधैं युरोपियन कम्पनीसँग यस्ता सामग्री खरिद गर्ने गरेको भए पनि यसपल्ट दक्षिण कोरियासँग खरिद गर्ने तयारी गर्दैछ । दक्षिण कोरियाको प्रविधि र मापदण्ड अन्तर्राष्ट्रिय तहको भएको सेनाका एक उच्च अधिकृतको ठहर छ ।

नेपालले आफूलाई चाहिने यस्ता मेसिनरी मुख्यतः जर्मनीबाट खरिद गर्ने गरे पनि नेपाललाई जर्मनी, बेल्जियम लगायत केही युरोपेली देशले मानव अधिकार सम्बन्धि कुरालाई लिएर हतियार बेच्न रोक लगाएका छन् । यस प्रक्रियामा संयुक्त राज्य अमेरिका पनि संलग्न थियो । माओवादी नियन्त्रणमा सेनाको प्रयोगलाई लिएर ति देशले विरोध जनाएका थिए । अहिले माओवादी शान्ति प्रक्रियामा आएर सरकारको समेत पटक पटक नेतृत्व गरिसक्दा पनि नेपाललाई हतियार दिने विषयमा ति देशको निर्णय परिवर्तन भएको छैन । तर अमेरिकाले भने शान्ति सेनाका लागि चाहिने हतियार उपलब्ध गराउन रोकेको छैन ।

बाह्रखरीबाट

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here