नेपाल र मलेसियाबीचको खेल २४ ओभरमा छोट्याइयो, नेपाललाई लगातार तेस्रो सफलता

0
264

मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले आज आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार सवा ७ बजे सुरु हुनुपर्ने भए पनि वर्षाका कारण भर्खरै सुरू भएको छ।

वायुमास ओभल मैदानमा भइरहेको खेलमा टस जितेर नेपालले बलिङ रोजेको छ। खेल छोट्याएर २४ ओभरको बनाइएको छ।

नेपाललाई तेस्रो सफलता मिलेको छ। नेपालका लागि अनिलकुमार साहले पहिलो विकेट लिए भने दोस्रो विकेट कप्तान दीपेन्द्र सिंह ऐरीले लिए। ऐरीले नै मलेसियाको तेस्रो विकेट झारे। ताजा स्थितिमा मलेसियाले ६.५ ओभरमा ३ विकेट गुमाएर ३३ रन बनाएको छ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी, जितेन्द्र सिंह, अनिल शाह, आसिफ सेख, किशोर महतो, प्रनित थापा, सहवभ आलम, सन्दिप लामिछाने, रोहित कुमार पौडेल, भीम सार्की र कमल सिंह ऐरी रहेका छन्।

एसिया कपको समूह ए मा रहेको नेपाल अन्तिम खेलमा मलेसियाविरुद्ध शानदार जित हात पार्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ। लगातार दुई खेलमा पराजित भएको मलेसिया पनि आज पहिलो जितको खोजीमा हुनेछ।

समूहको दोस्रो खेलमा भारतलाई पराजित गरेको नेपाल उच्च मनोबलमा छ। नेपालले पहिलो खेलमा बंगलादेशलाई कडा टक्कर दिएको थियो।

समूह ‘ए’ कै अर्को खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। यो खेल पनि वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको थियो। खेल ३२ ओभरमा घटाइएको छ। दुई खेलबाट सेमिफाइनलमा पुग्ने २ टिमको टुंगो लाग्नेछ।

बंगलादेशले जित निकालेमा नेपाललाई फाइदा हुनेछ। यो अवस्थामा नेपालले जित निकाले सेमिफाइनल पुग्ने पक्का छ। तर, भारत विजयी भएमा भने नेपालले मलेसियालाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ। किनकि भारत र नेपाल विजयी भएमा तीन टिमको समान ४–४ अंक हुनेछ। राम्रो रनरेट हुने २ टिम अन्तिम चारमा पुग्नेछन्।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here