फर्मूला नपछ्याउनेहरूका लागि गोपी र बुलबुल

0
270

सामाजिक सञ्जालमा ‘सम्भवत अन्तिम दिन’ भन्ने हल्ला सुनेर हतार-हतार अफिसपछि म ‘गोपी’ फिल्म हेर्न जाँदा नेपाली मिडिया ऊखुका लाँक्रा बोकेर सडकमा उत्रिएका किसानहरूको आक्रोशको समाचारले तातेको थियो।

सँगसँगै अर्का एकथरी किसानले बजारभाउभन्दा पन्ध्रौं गुणा कम मूल्यमा पनि तरकारी बिक्री नभएपछि ट्रयाक्टर लगाएर बारीमै तरकारी फाँडेर आक्रोश पोखेका थिए।

सानैदेखि माटोसित खेलेर हुर्किएकी मेरो मन यी समाचारले कटक्क खाएको थियो।

यिनै खबरको धङधङी बोकेर चाबहिलको एउटा मल्टिप्लेक्सभित्र छिर्दा पहिले त पूरै हल खाली देखेर म सामसुम्मै सेलाएँ। अलि फरक केही गरौं न त भन्ने नेपाली फिल्मकर्मीको माया लागेर आयो। केका लागि फिल्म बनाउँदा हुन् यिनीहरू? कलाकारलाई के दिँदा हुन्? आफू के खाँदा हुन्? केटाकेटीलाई के खुवाउँदा हुन्? निकै बेरसम्म मनमा यिनै प्रश्नहरूले घोचिरहे।

केहीबेरमा फाट्टफुट्ट मान्छे थपिँदै गए। हलसँगै मेरो मन पनि अलिकति उज्यालियो।

फिल्म हेरेर निस्किएपछि लिफ्टमा सँगै झरेका एक जोडीलाई सोधेँ, ‘कस्तो लाग्यो त फिल्म?’

महिला ओठ लेप्राएर हाँसिन् मात्र। पुरुषले भनूँ कि नभनूँजसरी भने, ‘कृषि कार्यक्रमजस्तो।’

‘गोपी’ एक तन्नेरी गाईपालकको कथा हो। एसएलसीमा विशिष्ट श्रेणी ल्याएर (पनि) गाईपालन मोहमा परेको एक उपल्लो तहको सरकारी कर्मचारीको छोराको कथा हो, जो बिहानै उठ्छ, गाई दुहुन्छ, डेरीमा दूध पुर्‍याउन जान्छ, कलेज पढाउँछ र प्रेम गर्छ।

भलै यही फिल्ममार्फत् नै गाईपालनमा लाग्न युवाहरूलाई ‘इन्सपायर’ गर्छु भन्नतिर लाग्दा निर्देशक प्रस्तुतिमा चुकेका छन्। र, कहीँकतै स्पष्ट रूपमै रेडियो नेपाल वा नेपाल टेलिभिजनमा आउने कृषि कार्यक्रमको झल्को यसले दिन्छ। तर ‘गोपी’ ‘कृषि कार्यक्रम’ नै चाहिँ होइन। यसभित्र कथा छ, थोरैलाई छोडेर अधिकांशको मन छुने अभिनय छ। र, सबभन्दा महत्त्वपूर्ण कुरा, यसले नेपाली फिल्मको नियमितभन्दा फरक धार समातेको छ। डिजाइनर लुगा लगाएर खोलाछेउ नाच्ने हिरोहिरोइनलाई छोडेर गाईको भकारो सोहोर्ने ठिटोको कथा भनेको छ।

नेपालमा मसालेदार फिल्मको सबभन्दा ठूलो निर्यातकर्ता भारत ‘ट्वाइलेट एक प्रेमकथा’, ‘प्याडम्यान’ जस्ता फिल्म मन पराउने बनिसक्दा नेपाल कृषिप्रधान देश हो भनेर बच्चैदेखि रटेका नेपाली दर्शकलाई कृषि किन होच्याउने र लाज मान्नुपर्ने विषय लाग्छ, बुझिनसक्नु छ। समाजशास्त्र अध्ययन गर्नेलाई शोध गर्न शायद यो गज्जबको विषय हुँदो हो।

मलाई लाग्छ, कृषिमा आधुनिकता अझै भित्रिनसकेको कारण हाम्रोमा कृषिकर्म अझै पनि ‘फोहोरी’ काम नै मानिन्छ। यसैले गरीबीको द्योतक बन्न पुगेको छ। परम्परागत कृषिकर्म गर्ने ग्रामीण मध्यमवर्ग रेमिट्यान्सको पसिनाले हातको गोबर धोइपखाली सामान्यभन्दा सामान्य सुविधाको लागि सहर पस्न बाध्य छ। गाउँमा रहलपहल बूढाबूढीहरू उब्रेपाब्रेको खानेकुरा खेर नजाओस् भनेर एउटा बाख्राको पाठी वा कुखुरो पालेर बस्न बाध्य छन्।

यी बुढाबूढीका निधारका धर्सैपिच्छे कथा छन्।

मक्किएका बाख्राका खोर, भुइँमा लडिरहेका भैंसीका भकारोका दाम्ला, झार उम्रेका बलेसी, सबैसित एकसेएक कथा छन्। यी कथा खोस्रिइनुपर्छ, कोट्याइनुपर्छ, फोइनुपर्छ। कृषिकर्ममा युवापुस्तालाई डाक्न कृषिलाई आधुनिकीकरणमार्फत् ‘सुग्घरी’ पेसा बनाइनु जति जरुरी छ, त्योभन्दा बढी आजको तन्नेरी पुस्ताले कृषिकर्मप्रति राख्ने हेयको दृष्टिलाई बदल्न जरुरी छ।

यसका लागि राष्ट्रिय दैनिकमा फाट्टफुट्ट झुल्किने विदेशबाट फर्केर फलाएको बडेमानको कीर्तिमानी लौका वा नाम्लो लगाएर बोकेको माछाको फोटोले मात्र पुग्दैन। उनीहरूका संघर्ष र सफलताका कथा ठूलो पर्दामार्फत् आउन सके मात्र तिनको प्रभाव पनि ठूलै हुन्छ।

‘गोपी’कै जस्तो चल्नासाथै उत्रिन लाग्यो रे भन्ने हल्ला सुनेर पुगेकी थिएँ म एकसाँझ ‘बुलबुल’ हेर्न। युट्युबमा दसौंचोटि ट्रेलर हेरेर पात्रहरूसित आधा प्रेममा परिसकेकी म पुग्दा आधाउधी हलमा मान्छे थपिँदै थिए। सँगै हल छिरेकी ८४ वर्षीया गुल्मीकी नरिकला अर्याल बुहारीको हात समातेर सिट खोज्दै थिइन्।

‘बुलबुल’ एउटी उमेरले भर्खरकी तर परिबन्दले छिप्पिएकी ठिटीले असारे पिचले बिगारेका काठमाडौंका सडकका खाल्डा छिचोल्दै तीनपाङ्ग्रे टेम्पो हाँकेर देखेको जीवनको चक्का फेर्ने सपनाको कथा हो। दिनभर टेम्पोको गन्धले हप्प परेर गुम्सिएका सपनालाई हरेक रात भित्तेघडीको टिकटिकसँगै थपथपाउँदै अनिश्चित भविष्यको पर्खाइमा बाँचेको एक्लो र निस्सार जिन्दगीको दस्तावेज हो।

रत्नपार्कमा देखिरहेको, भेटिरहेको झैं लाग्ने परिचित पात्र, हरेक पात्रको एकसेएक अभिनय, बिम्ब र प्रतीकहरूको कलात्मक संयोजन र समग्रमा सुन्दर प्रस्तुतिले गर्दा ‘बुलबुल’ सशक्त बनेको छ। यसका पात्रले घरसम्मै, ओच्छ्यानसम्मै पछ्याइरहन्छन्। छ वर्षदेखि श्रीमानको छुवाइ अनुभव नगरेकी एक महिलाको माया गरिने चाहनालाई नितान्त मनोवैज्ञानिक तहमा पुगेर फिल्मले यसरी केलाएको छ, त्यसले दर्शकलाई छुने मात्र होइन, भित्र कतै चिमोट्छ। र, याद दिलाउँछ, ठूलीआमा, माइजू, फूपू अनि काकीहरूको, जोसँग रणकलाको जस्तै मिल्दोजुल्दो कथा छ।

फिल्मको आधारभूत मापदण्ड के हो भन्नेमा आज पनि बहस चलिरहेकै छ। अझै कति समयसम्म चलिरहन्छ कसैलाई पनि थाहा छैन। एकथरी मान्छे फिल्मलाई कलाको आँखाले हेर्छन्, त्यसैले यो अर्थपूर्ण अभिव्यञ्जना हुनुपर्छ भन्छन्। अर्काथरीका लागि फिल्म फगत मनोरञ्जन हो। उनीहरू मान्छेलाई हँसाउँछन् वा अरू कुनै हिसाबले रमाइलो गराउँछन् र त्यसो गरेबापत पैसा लिन्छन्।

फिल्मलाई कला देख्नेहरू यसले मानिसको जीवनका केही पक्ष उतारोस् र दर्शकको हृदय छोओस् भन्ने चाहन्छन्। यो खेमाका मान्छे फिल्मको पर्दामा हरेक समस्याको समाधान भएको, सर्वशक्तिमान, कहिल्यै हार्न नजानेको सुपरहिरो वा हिरोइनको सट्टा आफूजस्तै सामान्य, निम्छरो मान्छे देख्न चाहन्छन्। उनीहरूको फिल्मले पनि मान्छेले जस्तै सास फेर्छ। सास फेर्ने कुरा कहिले निस्सासिन्छ पनि, कहिले स्याँस्याँ पनि गर्छ। यस्तै जीवन्त माध्यमबाट उनीहरू जीवनका कैयन् उतारचढाव, दुविधा, रहर, बाध्यता अनि सम्झौताको चित्रण गर्न चाहन्छन्, जीवनका लम्बाइ, चौडाइ, गहिराइ हेर्न र देखाउन चाहन्छन्।

पछिल्लो समयमा नेपाली फिल्ममा यी दुई खेमाका पक्षपातीबीचको धर्को मोटो र गाढा बन्दै गएको छ। केहीअघि मूलधारका विषयबाट बाहिर गएर फिल्म बनाएका एक निर्देशकले मसित दुःखेसो पोखेका थिए, ‘नेपालमा फिल्म हेर्ने मुख्य जमात् भनेको नै प्लस टु पढ्दै गरेकाहरू हुन्। यिनीहरूलाई फिल्मका अन्य पक्षसँग कत्ति पनि मतलब छैन। हाँस्ने एलिमेन्ट र सेक्स सिन भए पुग्छ। जो मान्छे नेपालमा राम्रो फिल्म बन्दैन भनेर सामाजिक सञ्जालमा कराउँछन्, उनीहरूले नेपाली फिल्म नहेरेको जुगौं भइसक्यो।’

फिल्म चल्नु त के उनले आफ्नो काम मान्छेले हेरिदिऊन् मात्र भन्नकै लागि केही मान्छेलाई अनुरोध गरेर सित्तैमा फिल्म देखाउनुपर्‍यो। उनको फिल्म उत्कृष्ट नै त थिएन, तर त्यसले फर्मूले फिल्मबाट बाहिर निस्कने प्रयास भने अवश्य गरेको थियो।

फिल्म बनाउनेहरू भन्छन्, फर्मूलाबाट मोडियो भने फिल्म चल्दैन। परिवारको सपना धितो राखेर फिल्म बनाउन त सकिन्न नि।

त्यसैले उनीहरूले त्यही दिइरहेका छन्, जे हलले मागिरहेको छ। र हलले त्यही मागिरहेको छ, जे उनीहरूले दिइरहेका छन्। वर्षौंदेखि उनीहरू आलुकै तरकारी दिइरहेका छन्। कहिले उसिनेर, कहिले पोलेर, कहिले फ्राई गरेर त कहिले आलुदममा प्रशस्त अजिनोमोटो हालेर। आलुमा बानी परेकालाई अरू पनि तरकारी छ र त्यो आलुभन्दा निकै स्वादिलो पनि हुनसक्छ भन्ने थाहै छैन। किनकी उनीहरूले कहिल्यै आलुबाहेकका तरकारी चाखेकै छैनन्।

जब कसैले हिम्मत गरेर आलुबाहेकको केही पस्कन्छ, आलुमा बानी परेकाहरू अल्मलिन्छन्। एकअर्काको मुख हेर्छन् र इशारैइशाराले मन परेन भन्ने मत बनाउँछन्। जसले आलुबाहेकको स्वाद खुट्याउन सक्छ, मसला पुगेनपुगेको छुट्याउन सक्छ, उनीहरूले नेपाली फिल्मलाई आजभन्दा धेरै अगाडि नै ‘वेस्ट अफ टाइम एन्ड मनी’ को क्याटेगोरीमा राखिदिइसके।

फिल्म बनाउनेको काम हलले जेमा जिब्रो पड्काउँछ त्यो दिने मात्र होइन, उनीहरूको स्वाद परिमार्जन गर्ने पनि हो। नेपाली सिनेमालाई नयाँ जीवन दिने हो भने सबभन्दा पहिले फिल्मक्षेत्रका ‘सेफ’हरूले भारतबाट आयातित आलुको बोराबाट बाहिर निस्केर बारीतिर पस्न जरुरी छ। खोज्न जान्ने र हतारो नगर्ने हो भने हाम्रै बारीमा निगुरोदेखि तरुल र पिँडालुसम्म प्रशस्त पाइन्छन्। मूलाको डुकूदेखि सिम्लेकानका मुन्टासम्मको विविधता हामीकहाँ छ। पकाउन भने जान्नुपर्छ।

पकाउन नजाने आजको जमानामा गुगल गर्नदेखि फोन गरेर हजुरआमालाई सोध्न सकिन्छ। सोधेर पकाइयो भने पछि ‘त्यत्रो मिहिनेत गरेर पका’को, खेर गयो’ भनेर खिन्न हुनु पर्दैन। खानेले पनि भुटुन मसला मात्र खेर फाल्यो वा भाँडो मात्र डढाइदियो भनेर आँखा तर्ने वा धारेहात लाउने गर्दैनन्।

फर्मूले फिल्म रुचाउनेबाहेक हामीकहाँ एकथरी जमात छ, जुन साथीभाइले कुनचाहिँ अंग्रेजी वा हिन्दी फिल्मको टिकट काटिदिएको समेत नसोधी घुँडाले टेकेर फिल्म भ्याउन पुग्छ। अर्कै लोकका प्राणीजस्ता लाग्ने साइफाईका ‘सुपर फिक्सनल क्यारेक्टर’ हेरेर टिकटको तेब्बर पैसा पप कर्न र कोल्ड ड्रिङक्समा खर्च गर्छ। तैपनि हाँस्दै बाहिर निस्कन्छ।

तर आक्कलझुक्कल नेपाली फिल्म हेर्नु परोस् त, एकएक पैसाको हिसाब असुलउपर भयो भएन भनेर सामाजिक सञ्जालमा हिसाबकिताब गर्छ। बाइक वा गाडीभित्रबाट सडकका भित्तामा टाँगिएका नेपाली फिल्मका पोस्टरका नाम पढेर उडाउँछ र नेपाली फिल्म हेर्नेलाई तल्लो दर्जाको मान्छेको रूपमा हेर्छ।

अर्को एक जमात पनि छ, जसलाई फिल्मको कुनै मतलबै छैन। आफूलाई बौद्धिक भन्ठान्ने यो जमातसँग फिल्मप्रति कुनै आशा छैन, निराशा पनि छैन। लाग्छ, श्रव्यदृश्यको शक्तिसँग यो जमात परिचित भएर पनि अपरिचित छ।

सानो छँदादेखि नै म रेडियोलाई छातीमा च्यापेर हुर्केँ। एन्टेना खुस्केको रेडियोको टाउकोमा तार बाँधेर कतापट्टी सोझ्याउँदा आवाज स्पष्ट आउँछ भन्दै मैले सुनेका रेडियो नेपालका नाटक, ‘साथीसँग मनका कुरा’, ‘नयाँ बाटो नयाँ पाइला’देखि ‘कथा मीठो सारङ्गीको’हरूले मेरो जीवनमा कत्रो प्रभाव पारेका छन्, म मात्र जान्दछु। आवाजमा कत्रो शक्ति हुन्छ, मैले त्यतिबेलै महशुस गरेकी हुँ।

जब मेरो गाउँमा बिजुली आयो, पढाइ उतारिसकेका छोराछोरी भएका घरमा टिभी पनि आयो। राजेश हमालहरू आए। भुवन केसी, जल शाह अनि निरुता सिंहहरू आए। र, मलाई धरधरी रुवाए। दृश्यमा कत्रो शक्ति हुँदोरहेछ, मैले त्यतिबेला महशुस गरेँ।

यसैबीच एकदिन टिभीमा मैलाधैला चोली र दौरा लाएका, ठूले दाइजस्तै आँगनीमा टुक्रुक्क बसेर दुःखको पोको फुकाउने अनि हजुरबा जस्तै पिँढीमा बसेर ट्वार्रर ट्वार्र हुक्का तान्नेहरूको कथा आयो। ती निम्सरा मान्छेले मलाई आफूतिर यसरी खिचे, आमाका आँखा छलेर ‘तर्साउँछ’ भन्ने गरेको गल्लीमा सास टक्क रोकेर म रातिराति एक्लै ‘दलन’ नामक टेलिचलचित्र हेर्न अर्कै टोलमा पुग्थेँ। ‘दलन’ हेरेपछि मलाई भुवन केसी अनि करिश्मा मानन्धरहरूले रुवाउन छोडे। म फिल्ममा आफूजस्तै मान्छेको कथा खोज्न थालेँ।

अहिले भुवन केसीका लगभग मेरै उमेरका छोराले आफ्नो बाबुको ठाउँ लिएका छन्। उनको रूपमा फिदा हुनेहरू उनलाई पर्दाबाहिरै देखे पनि रोइदिन्छन्। कथा पुरानै छन्, बस् परिवेश बदलिएको छ। पहिले भुवन केसीहरू कुसुमे रुमाल दिएर प्रेम जताउँथे, अहिले अनमोल केसीहरू ‘फूटबल जस्तो’ स्तनसम्मै पुग्छन्। बासी लभ स्टोरीमा केटा र केटी फेरेर ‘कास्टिङ’ गराइने यी फिल्ममा कथाले रोमान्स माग्ने होइन, रोमान्सलाई धर्ना बसाएर कथा माग्न लगाइन्छ।

त्यतिले पनि नयाँपन आएन भने भेन्यू फेरिन्छ- पोखरा, मुस्ताङ, अष्ट्रेलिया…। भारतमा उहिल्यै ‘बदनाम’ बनाइसकिएका एकदुई ‘मुन्नी’हरूलाई ‘अलि’ छोटो फरिया लाइदिएर पूरै सहरको ‘फोकस’ गराउन मिहिनेत गरिन्छ। यो मिहिनेतको थोरै हिस्सा मात्र पनि कथा खोज्ने काममा लगाइन्थ्यो भने आज नेपाली फिल्म धेरै माथि पुग्दो हो।

फिल्म, साहित्य लगायत समाजको ऐना हुन् भनेर नेपाली विषयको जाँचमा नघुसाएका कमै मात्र नेपाली हौंला। तर यी ऐना हेर्ने हाम्रा भित्री आँखा लगभग बन्द छन्।

एकछिन सोचौं त, रणकला जस्ता कति मान्छे एकाबिहानै निन्द्रैमा ओठमा लाली लगाएर सहरको फेरो मार्न निस्कँदा हुन्?

बसपार्कमा साइत राम्रो हुन्छ भन्दै जबरजस्ती रातो टिका लगाइदिन आउने ‘जोगी’हरू काठमाडौंका लागि निस्कँदा साइतको टिका कसले लगाइदिएको हुँदो हो?

छालाको रङ र बाबुको मरणको सम्बन्ध नबुझेका जुनियर राम मनोहर यादवहरू बिस्कुट खोज्दै अब कसकोमा पुग्लान्?

घुँडा दुख्ने रोगले सताएर धर्म फेरेका कुनै सुदुर गाउँका हजुरबुवाले छोरो विदेश गएको बाटो हेरेर हाल्ने सुस्केरामा येशुको नाम लिँदा हुन् वा ‘हरि शरणम्’ भन्दा हुन्?

भूकम्पमा च्यापिएका कथा उत्खनन् गर्न को, कहिले आइदिएला?

सत्य त यो हो कि हामी कथा नै कथाले घेरिएका छौं। कतिपय अवस्थामा त जेलिएका पनि छौं। हामीकहाँ कथा खोज्न पिठ्यूँमा झोला झुण्ड्याएर हिँड्नु पर्दैन। कथा आफैं ठोक्किन आइपुग्छ। बस्, चिन्न सक्ने भित्री आँखा हुनुपर्छ।

र, कथा चिन्नेले मात्र कला चिन्छ, कलाकार चिन्छ। राम्रा कथाले दर्शकलाई मात्र छुँदैन, कलाकारका प्रतिभा र क्षमता पनि खोतल्छ। उदाहरणका लागि स्वस्तिमा खड्का रणकला बन्न सक्छिन् भन्ने नेपाली दर्शकलाई त के, स्वयं स्वस्तिमालाई समेत थाहा नहुँदो हो। रहरलाग्दो अभिनय क्षमता प्रदर्शन गर्दै गरेका अन्य असंख्य कलाकार अहिले नेपाली फिल्ममा देखा परेका छन्। फिल्म बनाउनेले नयाँ र फरक कथा ल्याउन सकेनन् भने उनीहरूको अभिनय क्षमता पनि दयाहाङ राई, सौगात मल्ल, प्रियंका कार्की, प्रकाश घिमिरे, बुद्धि तामाङ, अरूणा कार्कीहरूको जस्तै ‘स्याचुरेटेड’ भएर जानेछ।

सधैँ एकैखाले कथामा एकैखाले भूमिकामा अभिनय गर्दागर्दै अत्यन्त सम्भावना बोकेका यस्ता कलाकारको अभिनयमा समेत आजकाल पात्र होइन, उनीहरू आफैं भेटिन थालेका छन्। राजेश हमालको अहिलेको सचेत विश्राम पनि सधैँ आफूलाई मात्र भेट्दा भेट्दाको विरक्ति हो भनेर बुझ्न सकिन्छ। आफूभित्रको कलाकार नमरोस् भन्न पनि फरक कथा ल्याउन अब कलाकारले पनि फिल्म निर्माताहरूलाई झक्झक्याउनुपर्छ।

श्रव्यदृश्य अत्यन्त शक्तिशाली माध्यम हो। जान्ने, सक्ने, खट्ने र प्रयोग गर्न नडराउने हो भने यसले मान्छेमा ठूलो प्रभाव पार्न सक्छ। तर फिल्मकर्मीले बुझ्नुपर्छ, प्रभाव पार्नु र सन्देश दिनुमा ठूलो अन्तर छ। फिल्म, साहित्य, नाटक लगायतका विधाहरू मान्छेलाई पढाउन बनेका होइनन्।

जब फिल्म देखाउन छोडेर सिकाउनतिर लाग्छ, तब यसले आफ्नो बाटो बिर्सन्छ। फिल्मकर्मीले फरक प्रयास गर्दा के भुल्नु हुँदैन भने फिल्मको काम सिकाउने होइन, देखाइदिने मात्र हो। उत्कृष्ट कला छ भने रमाइलो गराउँदा गराउँदै पनि यसले मानिसको अन्तरहृदयलाई छुन सक्छ। कुनै पनि वस्तुप्रति हेर्ने दृष्टिकोण बदलिदिन सक्छ। आफूले सोचिरहेको धारभन्दा बाहिर गएर सोच्न प्रेरित गर्छ।

उस्तै फिल्मले त मान्छेको माथिङ्गल हल्लाइदिन्छन्। कुनैले नङ टोक्न लगाउँछन् त कुनैले खाली भित्तो हेरेर टोलाउने बनाउँछन्। कुनैले घण्टौं सुँक्सुँकाउने बनाउँछन्। कुनैले हिक्कहिक्क नै छुटाइदिन्छन्। फिल्मले गर्न सक्ने भनेको यत्ति हो। यत्ति गर्न सक्यो भने त्यो फिल्म उत्कृष्ट हो।

उदाहरण, अब ‘बुलबुल’ फिल्म हेर्नेजतिले कुनै पनि टेम्पोमा चढ्नुअघि त्यो टेम्पोका चालक हेर्नेछन्। उसको निधारको बासी टिका, जसलाई उसले ऐनाको छेउबाट उप्काएर लगाएर आएकी छे, मनमनै त्यसको अत्तोपत्तो सोध्नेछन्। गर्मीले पग्लिएर आँखाका डिलबाट तलसम्म बगेको उसको गाजल उसले कुर्ताको सलको फेरले नपुछी भरे मुसलधारे पानीमा आकाशतिर फर्किएर उसैलाई धुन दिन पनि सक्छे। वा आँशुको नदीले बगाउन पनि सक्छे। उसले बेलाबेला पट्पट् पड्काउने चुइङ्गम उसले आफ्नो लोग्ने, ससुरो वा छोरीसित कहन नसकेका व्यथाको पोको पनि हुनसक्छ। वा चोपेन्द्रहरूले देखाएको सपनाको पातलो फोका, जसलाई दाँतले किटिकिटी पारेर ऊ नियतिको उबडखाबड बाटोमा जिन्दगीको थोत्रो टेम्पो हाँक्दी हो।

‘गोपी’ र ‘बुलबुल’ उदाहरण मात्र हुन्। बिस्तारै सही, नेपाली फिल्ममा नयाँ प्रयोग भइरहेका छन् र यो खुसीको कुरा हो। भलै यी फिल्मका कथा, पटकथा, प्रस्तुति, निष्कर्ष, चरित्रचित्रण लगायतका कुरालाई लिएर बहस गर्न सकिन्छ, तर त्यसभन्दा अगाडि यी फिल्मले बाँच्नुपर्छ। फिल्म अर्काको खपतका लागि बन्ने हो। मसालेदार फिल्मको फर्मूलाले काम गर्ने हाम्रोजस्तो परिवेशमा नयाँ र फरक प्रयोग गर्नेले दर्शक नपाएकाले प्रयोगशीलता छाडेर उनीहरू फेरि फर्मूलामै फर्के भने त्योभन्दा ठूलो दुर्भाग्य नेपाली फिल्मका लागि अरू हुने छैन।

यी फरक धार समात्नेलाई अहिले दर्शकको साथ र सहयोग चाहिएको छ। ‘यो कुरा गज्जबै गर्‍यौ, अनि यहाँनेर चिप्लियौ है’ भनिदिने शुभचिन्तक चाहिएको छ। यी शुभचिन्तकलाई फिल्मकर्मीले पनि ‘राम्रो गरेको देखिनसहेका’ वा ‘खेदो खनेका’ वा ‘मगज खुस्केका’हरूको रूपमा लिनु हुँदैन।

फिल्मक्षेत्रसँग राम्रा फिल्म बन्ने लोभबाहेक कुनै लिनुदिनु नभएकालाई कुन फिल्मले कति कमायोसँग सरोकार हुँदैन। त्यतिबेलासम्म, जब आँखैअघि आफैं बाटो खन्नेहरू कोदाली बिसाएर भोलिको खानाको चिन्ता गर्न थाल्छन्।

यदि हामी यस्ता प्रयास गर्नेलाई प्रोत्साहनस्वरूप तीन सय रुपैयाँ खर्चेर एउटा नेपाली फिल्म ‘हेरिदिन’ पनि सक्दैनौं भने नेपाली फिल्म गतिलो भएन भनेर आलोचना गर्ने नैतिक धरातल पनि हामीसँग हुँदैन। धितोमा राखिएका सपना लिलामी हुने जोखिम मोलेर गरिएका यस्ता प्रयासलाई सिनेमामा हाम्रा कथा आउनुपर्छ भनेर नथाक्नेले साथ दिन सकेनौं भने नेपाली सिनेमाले काँचुली फेर्ने अवसर कहिल्यै पाउने छैन। र, त्यसमा हामी पनि उत्तिकै जिम्मेवार हुनेछौं।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here