बागलुङ, दार्चुला र धादिङका सबै सिटमा बाम उम्मेदवार विजयी

0
422

बागलुङ– प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा बागलुङका सबै सिट बाम गठबन्धनले जितेको छ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई भारी मतले पछि पार्दै पहिलो पटक जिल्लाको सबै सिटमा बाम गठबन्धनले कब्जा जमाएको हो ।
प्रतिनिधि सभा बागलुङ क्षेत्र नम्बर १ मा बहालवाला राज्यमन्त्री चम्पादेवी खड्कालाई एमाले नेता डाक्टर सूर्य खड्काले विजयी हासिल गरेका छन् । उनीहरु बीचको मतान्तार १३ हजार ४१ रहेको छ । सूर्य पाठकले ३३ हजार ६ सय ५७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दीमा नेपाल सरकारका राज्यमन्त्री समेत रहेकी नेपाली काँग्रेसकी चम्पा खड्काले २० हजार ६ सय १६ मत ल्याइन् । पाठक २०७० को संविधान सभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ बाट पराजीत भएका थिए । खड्का ७० को निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित उनका पति हरिबहादुर खड्काको सडक दुर्घटनामा निधन भएपछिको उपनिर्वाचनमा निर्वाचित भएर राज्यमन्त्री समेत भएकी हुन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट पनि भारी मत अन्तरले बाम गठबन्धनबाट उम्मेदवार बनेका देबेन्द्र पौडेल विजयी भए । बागलुङ क्षेत्र  नम्बर १ मा मतदाता भएर २ बाट उम्मेदवार बन्दा आफैले आफुलाई मत हाल्न नपाए पनि पौडेलले काँग्रेस उम्मेदवार नरबहादुर पुन ‘निरज’ लाई आठ हजार ९ सय २२ मत अन्तरले पराजित गरेका छन् ।
देबेन्द्र पौडेलले २८ हजार ८ सय २७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका पूर्व साँसद निरज पुनले १९ हजार ९ सय ५ मत प्राप्त गरे ।

 

दार्चुला – प्रदेश र प्रतिनिधिसभामा दार्चुलाको तीनवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्  ।प्रतिनिधिसभा तर्फ नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वसांसद गणेशसिंह ठगुन्ना विजयी भएका छन् । ठगुन्नाले २८ हजार ९ सय ९८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विक्रमसिंह धामीले २२ हजार २ सय ३३ मत पाएका छन् । वाम गठबन्धन उम्मेदवार ठगुन्नाभन्दा धामी ६ हजार ७ सय ६५ मतान्तरले पछि परे ।

 

धादिङ – धादिङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सिटमा वाम गठबन्धनले क्लिनस्वीप गरेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठी भारी मतान्तरले विजयी भएका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका त्रिपाठीले ४९ हजार १ सय २१ मत ल्याएका छन् ।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विश्व अर्याललाई त्रिपाठीले २७ हजार १ सय ५३ मतान्तरले हराए । त्रिपाठीका निकटतम प्रतिस्पर्धी अर्यालले २१ हजार ९ सय ६८ मत ल्याएका छन् । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेकपा एमालेका खेमप्रसाद लोहनी विजयी भएका छन् । लोहनीले ३६ हजार २ सय ५३ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिलमान पाखि्रनले ३५ हजार ६ सय १४ मत ल्याएका थिए ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here