बोजिनी रिसोर्टका सञ्चालक तथा पर्यटन उद्यमी फुयाँलको व्यावसायिक अनुभव

0
1823

काठमाडौं उपत्यकाबाट नजिकै पर्ने आकर्षक पर्यटकीय गञ्तव्यको रुपमा रहेको नगरकोट सुर्योदयको दृश्यावलोकनको निम्ति पहिले देखि नै निकै चर्चामा रहँदै आएको क्षेत्र हो । उक्त क्षेत्र विदेशी पर्यटकहरुको लागि मात्र नभएर नेपालीहरुको निम्ति समेत त्यति नै रुचाइएको क्षेत्र हो ।

काठमाडौंको नजिक रहेको कारण रिफ्रेसमेन्ट तथा प्रकृतिसँगको आनन्द लिनको निम्ति अधिकांश व्यक्तिहरुले नगरकोटलाई रोजाईमा पार्ने गरेको बुझ्न सकिन्छ । हाल नगरकोट क्षेत्रमा विभिन्न तालिम, सेमिनार, साधारणसभा, पिकनिक लगायतका कार्यक्रमहरु समेत सञ्चालन गरिँदै आइएको छ । जुन गतिविधिहरु विगतको तुलनामा बढ्दै गएको बताइन्छ । यस्तो अवस्थामा नगरकोट क्षेत्रमा पर्यटन क्षेत्र फस्टाउने सम्भावना समेत निकै राम्रो तवरले वृद्धि भएको छ ।
यससँगै नगरकोट क्षेत्रमा पर्यटनसँग सम्बन्धित विभिन्न व्यावसायिक गतिविधिहरु समेत फस्टाउँदै गएका छन् । होटल तथा रिसोर्टहरुले पनि यस क्षेत्रमा लगानी गर्ने क्रम बढेको छ ।

१ बर्ष देखि वोजिनी नगरकोट रिसोर्ट सञ्चालनमा ः
शान्त र मनोरम वातावरणबीच प्राकृतिक वरदानको रुपमा नगरकोट क्षेत्र रहँदारहँदै पनि प्रयाप्त मात्रामा होटल तथा रिसोर्टहरु भने उपलब्ध हुन नसकेको कुरालाई दृष्टिगत गर्दै विगत १ बर्ष देखि बोजिनी नगरकोट रिसोर्ट सञ्चालनमा आएको छ ।

कस्तो छ वोजिनी नगरकोट रिसोर्ट ?
युवा उद्यमी माधव प्रसाद फुयाँलको लगानीमा सञ्चालनमा आएको उक्त रिसोर्टमा हाल प्रति कोठा ३ जना सम्म बस्न सक्ने किसिमका २० ओटा कोठाहरु छन् । दिउँसोको समयमा आयोजना गरिने कार्यक्रमको निम्ति यस रिसोर्टमा करिब ४ सय व्यक्तिहरुलाई व्यवस्थापन गर्न सकिने क्षमता छ ।

हाल यस रिसोर्टमा भिआइपि हल र साधारण हल गरी २ किसिमका सेमिनार हलहरु उपलब्ध छन् । यो रिसोर्ट हाल चाँगुनारायण नगरपालिका अन्तरगत सुडालमा अवस्थित छ । यस रिसोर्ट रहेको क्षेत्रबाट उपत्यकाका ३ ओटै जिल्लाको अलावा बनेपा समेत स्पष्ट रुपमा देख्न सकिन्छ । रिसोर्टको अर्को विशेषताको रुपमा त्यहाँबाट देखिने सुर्यास्तको दृश्यलाई पनि लिन सकिन्छ ।

बोजिनी रिसोर्टबाट काठमाण्डौ उपत्यका

उद्यमी फुयाँलका आगामी योजना ः
हाल भव्य भवनमा सञ्चालनमा आएको यस रिसोर्टले आगामी दिनमा रिसोर्टको क्षेत्र र क्षमता विस्तार गर्ने योजना लिएको छ । यसको निम्ति कटेज सहितका भवनहरु निर्माण गर्ने, स्वीमिङ पुल स्थापना गर्ने, हेल्थ क्लब सञ्चालनमा ल्याउने, बालबालिका लगायतको निम्ति उपयुक्त प्ले स्टेसन लगायत सञ्चालनमा ल्याउने आफ्ना योजनाहरु रहेको र यसको निम्ति निकट भविष्यमा नै काम शुरु गरिने रिसोर्टका प्रबन्ध निर्देशक माधव प्रसाद फुयाँलले बताउनुभएको छ ।

नेपाली युवालाई नेपालमा नै उद्यमशिल बनाउनको निम्ति आफू लामो समय देखि विभिन्न क्षेत्रमा संलग्न हुँदै आएको र पछिल्लो समय पर्यटन तथा होटलको क्षेत्रमा लगानी विस्तार गर्ने योजना बमोजिम अघी बढेको बताउने फुयाँलको लगानी काठमाडौंको आगमन कलेज, क्रिम लर्निङ एम्बिएन्स स्कुल, अजिमा सप्लायर्स, अजिमा ल्याण्ड डेभलपर्स लगायतमा समेत विविधिकरण भएको छ ।

शिक्षा र पर्यटन प्राथमिकतामा पर्नेछन् : फुयाँल
यी सबै क्षेत्रमा गरी आफू आवद्ध क्षेत्र मार्फत करिब १ सयको सङ्ख्यामा नेपालीहरुले रोजगारी प्राप्त गरेको बताउँदै काम गर्ने जोश र क्षमता हुने हो भने नेपालमा नै प्रयाप्त अवसर भएको समेत ऊहाँ बताउनुहुन्छ । आगामी दिनमा समेत नेपालमा शिक्षा र पर्यटनको क्षेत्रलाई कसरी व्यवस्थित तवरले अघी बढाउन सकिन्छ भन्नेमा नै आफू केन्द्रित रहने समेत उहाँ बताउनुहुन्छ ।

बोजिनी रिसोर्ट

स्तरीय सेवामा प्रतिवद्ध छ रिसोर्ट :
हाल यस रिसोर्टले सेमिनार तथा पिकनिकको निम्ति आउने ग्राहकलाई लक्षित गरी स्तरीय सेवा उपलब्ध गराउँदै आएको छ । एकपटक आफ्नो रिसोर्टमा पुगेको व्यक्तिलाई कसरी पुःन अर्को पटक जसरी पनि त्यस क्षेत्रमा पुग्नैपर्छ भन्ने वातावरण बनाउन आफू निरन्तर रुपमा लागिरहेको बताउँदै सोही मान्यताले आफूहरुले सेवा र सुविधालाई विशेष प्राथमिकतामा राख्दै आएको फुयाँल बताउनुहुन्छ ।

विगतको अनुभव र सिकेको पाठ :
शुरुमा सानो पुँजी लगानी गरेर शुरु गरेको आफ्नो व्यवसाय अहिलेको अवस्था सम्म आउन सफल हुनुमा आफ्नो धैर्यता र जोखिम वहन क्षमतालाई नै प्रमुख सफलताको रुपमा फुयाँल लिनुहुन्छ । व्यवसाय शुरुका दिनबारे सम्झँदै फुयाँल आफूले घरबाट लिएको ५-७ लाख रकमको अलावा कृषि विकास बैंकबाट धितोमा कर्जा लिएर यो व्यवसाय शुरु गरेको ऊहाँले बताउनुभयो । केही समय खानी तथा भूगर्भ विभाग र काठमाडौं महानगरपालिकामा जागिर गरी जागिरे जीवनको अनुभव समेट्नुभएका ऊहाँ त्यो भन्दा ठूलो रुपमा निजी क्षेत्रबाट नै काम गर्न सकिन्छ भन्ने मान्यताले निजी क्षेत्रमा आकर्षित हुनुभएको हो ।

आफू उद्यमशिल मानसिकताको भएको कारण सीमित जागिरे दायरामा बस्न सक्ने अवस्था नभएको हुनाले जागिरबाट बाहिरिए पश्चात् पहिलो व्यवसायको रुपमा रियल स्टेटको क्षेत्रमा ऊहाँले लगानी विस्तार गर्नुभयो ।

ढुक्कको सरकारी जागिर छोडेर जोखिम मोल्नुमै बढी आनन्दको अनुभव :
तत्कालिन समयमा महानगरपालिका अन्तरगत नेपाल सरकारले चःमती र नयाँबजारमा व्यवस्थित वस्ती विकासको निम्ति अघी सारेको अवधारणालाई जागिरकै समयमा नजिकबाट बुझ्ने मौका पाएको हुनाले सोही बमोजिम नेपाल सरकारको मुख नताकी सम्भव रहेका कामहरु आफैंले गर्नुपर्छ भन्ने मान्यताले नेपाल सरकारको जागिर छोडेर रियल स्टेटको क्षेत्रमा आएको समेत फुयाँलले बताउनुभयो ।

विदेशको अनुभव :
समय समयमा रसिया, सिंगापुर, मलेसिया, श्रृलंका, दुबई लगायतका देशहरुमा भ्रमण गरिरहनुहुने फुयाँल सिंगापुरको पर्यटन क्षेत्रबाट भने निकै नै प्रभावित हुनुहुन्छ । सिंगापुर र नेपाल पर्यटन प्रवद्धनको निम्ति भूबनोटको हिसाबले पूर्णत फरक नै भएपनि नेपालले त्यहाँको व्यवस्थापनबाट भने पाठ सिक्न र सुधार गर्नुपर्ने प्रयाप्त ठाऊँ रहेको फुयाँलको दाबी छ । सिंगापुरमा रहँदा पाहुनाहरुलाई प्रदान गरिने सेवा र सत्कार तथा सरसफाईबाट आफू सबैभन्दा बढी प्रभावित भएको ऊहाँ बताउनुहुन्छ ।

सामाजिक भावले उत्प्रेरित :
व्यावसायिकताको अलावा सामाजिक रुपमा पनि प्रतिष्ठित फुयाँलले सामाजिक रुपमा सहयोग गर्नमा पनि त्यत्ति नै अगाडि हुनुहुन्छ । विभिन्न समयमा आयोजना हुने विभिन्न कार्यक्रमहरुको निम्ति ऊहाँको सहयोग निकै महत्वपूर्ण रहँदै आएको छ ।

काठमाडौंको बाइपास ओरालोमा रहेको तरुण मावि, तारकेश्वरको गुरुकुल स्कुल, लगायतका विभिन्न स्कुलहरुको अलावा वृद्धाश्रम, मन्दिर, धार्मिक तथा सामाजिक गतिविधि लगायतमा पनि फुयालले महत्वपूर्ण सहयोग गर्दै आउनुभएको छ । खासगरी तारकेश्वर क्षेत्रको निम्ति ऊहाँको सामाजिक कार्य केन्द्रित छ ।

युवालाई सन्देश :
नेपाल निकै राम्रो सम्भावना भएको मुलुक हो । यहाँ नै रहेर काम गर्नको निम्ति काम गर्ने जाँगर हुने हो र उद्यमशिल सोच भने हुनुपर्छ । यसो हुन सके कुनै नेपाली पनि कामको निम्ति विदेश जानुपर्ने अवस्था छैन । नेपालमा सबै कुरा सम्भव छ ।
अरुको देखासिकी गरेरै सफल हुन सकिन्छ भन्ने ठान्नुहुँदैन । अन्तरआत्माले उचित ठह¥याएको काममा भने पछि हट्नु हुँदैन । आफूसँग ज्ञान र अनुभव भएको क्षेत्रमा काम गर्नु अझ राम्रो । कामलाई सम्मान गर्नुपर्छ । सानोठूलो र लज्जाभाव राखेर सफलता प्राप्त गर्न सकिँदैन ।

युवाहरुमा उद्यमशिलताको विकासको निम्ति नेपाल सरकारले पनि सानो लगानीबाट शुरुवात गर्न सकिने व्यावसायिक क्षेत्रको पहिचान गरी त्यसको निम्ति आवश्यक सबै किसिमका सहयोगहरु उपलब्ध गराउनुपर्छ । उद्यमशिल कार्यक्रमहरु सञ्चालन गर्नको निम्ति समय–समयमा स्वरोजगारमूलक तालिम तथा अन्य पहलहरु पनि गर्नु  अत्यन्तै आवश्यक छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here