ब्यक्तिको नाममा नामसारी भएका सार्वजनिक जग्गाको खोजी गरी पुनः सार्वजनिक बनाउने पहल शुरु

0
269
भक्तपुर । बालुवाटारको जग्गा भु–माफियाले कब्जा गरेको तथ्य सार्वजनिक भएसँगै भक्तपुरमा पनि ब्यक्तिको नाममा नामसारी भएका सार्वजनिक जग्गाको खोजी गरी पुनः सार्वजनिक बनाउने पहल शुरु गरिएको छ ।
प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा सरकारी निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, स्थानीय सरोकारवाला व्यक्तिहरु सहितको टोलीले भक्तपुरका चार स्थानमा भु–माफियाले अतिक्रमण गरेका जग्गाहरुको स्थालगत निरिक्षण गरिएको छ ।
निरिक्षणका क्रममा विभिन्न भु–माफियाहरुले भक्तपुरका चार स्थानमा मात्र करिव १ सय ६३ रोपनी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरिएको प्रमाण भेटिएको छ । जसमा कोशलटार सागबारीस्थित हनुमन्ते नदीको ६४ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गरिएको तथ्य सार्वजनिक भएको छ ।
हनुमन्ते नदीको उक्त सार्वजनिक जग्गा पूर्वभुमिसुधार मन्त्री जगन्नाथ आचार्यको पालामा व्यक्तिको नाममा लगिएको स्थानीय बताउँछन् । मन्त्री भएको समयमा आचार्यले आफ्नो श्रीमती विमली उपाध्यायको नाममा ५४ रोपनी दर्ता गरिएको तथ्य सार्वजनिक भएको सांसद बस्नेतले बताउनुभयो । उपाध्यायको नामबाट हाल विभिन्न व्यक्तिको नाममा जग्गा दर्ता गराई सकिएको उहाँको भनाई छ ।
त्यस्तै २०२१ सालमा मनोहरा नदीको नाममा रहेको ५४ रोपनी जग्गा पनि अतिक्रमण गरी व्यक्तिको नाममा लगिएको पाइएको छ । उक्त जग्गा श्याम जंग सिजापती, राजेन्द्र कुमार सिजापती, सुवर्ण कुमार सिजापती, प्रेम जंग सिजापती, तेज नसिं द्वारे, पुरुषेत्तम प्रसाद पौडेल लगायतको नाममा दर्ता भएको पाईएको छ ।
त्यस्तै निलवारहीमा १९ रोपनी १० आना सार्वजनिक जग्गा २०४२र०४३ सालमा कान्छा सुवालको नाममा दर्ता भएको पाइएको छ ।
सानोठिमी बन कार्यालय अगाडिको ९ रोपनी पर्ति जग्गा पनि ब्यक्तिको नाममा दर्ता कायम भएको तथ्य फेला परेको छ ।
त्यस्तै कमलपोखरीको १५ रोपनी ९ आना सार्वजनिक जग्गा २०४२ सालमा कान्छी पोडेनीको नाममा दर्ता भएको पाइएको छ । जसको जिल्ला अदालतले पुनः सरकारी जग्गा नै कायम गराएको छ ।
अनुगमनका क्रममा सांसद बस्नेतले गलत तरिकाबाट व्यक्तिको नाममा ल्याईएको सार्वजनिक जग्गाहरु व्यक्तिको नामबाट सार्वजनिक नै बनाउने काम शुरु भएको बताउनुभयो । उहाँले भु–माफियाका कारण सार्वजनिक जग्गा व्यक्तिमा ल्याइएका देशभरका सवै जग्गाहरु सरकारी बनाउने कार्य नेपाल सरकारले काम अघि बढाएको जानकारी गराउनुभयो ।
सांसद बस्नेतले आज चार वटा ठाउँको निरिक्षण गरेको र बाँकी अन्य ठाउँको समेत निरिक्षण गर्ने र जिल्ला प्रशासन प्रमुखले प्रतिवदेन तयार गरी गृहमन्त्रालयमा पठाउने तयारी भइरहेको जानकारी गराउनुभयो । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई सार्वजनिक जग्गा पहिचान गराउन निर्देशन समेत दिई प्रतिवेदन तत्काल उपलब्ध गराउन निर्देशन दिएको र सोही अनुसार भक्तपुरमा तिव्र रुपमा व्यक्तिको नाममा दर्ता गराएका सम्पूर्ण जग्गाहरुको पहिचान गर्न थालिएको बताउनुभयो ।
उहाँले व्यक्तिको नाममा लगिएका कुनै पनि सार्वजनिक जग्गा सरकारी बनाएरै छोड्ने बताउँदै भु–माफियाहरुलाई सरकारले कानुनी दायरामा ल्याई कारवाही गर्ने समेत बताउनुभयो । उहाँले सरकारले उच्च स्तरिय छानविन समिति समेत गठन गरी सकेको जानकारी गराउँदै उत्त समितिले आफ्नो काम गरिसकेपछि व्यक्तिका नाममा गएका देशभरका सवै सरकारी जग्गा पुनः सार्वजनिक नै हुने बताउनुभयो ।
निरिक्षणका क्रममा प्रजिअ नारायणप्रसाद भट्टले गृहमन्त्रालयको निर्देशन अनुसार सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता भएका सवै जग्गाहरु पुनः सार्वजनिक नै बनाउन आवश्यक सवै अस्त्र प्रयोग गर्ने बताउनुभयो । उहाँले कानुनभन्दा माथि कोही नरहेको बताउँदै दोषीलाई कानुनी दायरामा ल्याइने समेत बताउनुभयो ।
यस्तै चागुँनारायण नगरपालिका वडा नं १ का स्थानिय गौरीमान सिंह थापा भन्छन,  ” यो प्रति जग्गा हो, केहि भूमाफियाहरुले पहिले देखि नै दर्ता गरेर यस जग्गा खाने सुरमा लागे तर हामी त्यसको विपक्ष मा लागिरहेका छ “। प्रति जग्गा लाई प्रति नै कायम हुन दिनुपर्ने र भूमाफियाहरु लाई जग्गा हडपन नदिने उनको र्तक रहेको छ ।
यसैगरी चागुँनारायण नगरपालिका वडा नं ८ का रामकुमार नेवार ले सम्म रहेको खुल्ला जग्गा लाई खण्ड खण्ड गरी आ आफनो जग्गा भन्दै बिभाजन गरेकोमा चित्त दुखाएका छन । हाम्रो बाजेको पाला देखि रहेको र हामि बाल्यकाल देखि नै खेल्दै आएको यस जग्गा मा भूमाफियाहरुले राज गर्दा आफुले समेत दुख भोगेको उनि बताउछन ।
अर्का स्थानिय कृष्ण स्लोक भन्छन” भूमाफियाको चलखेलले गर्दा सार्बजनिक जग्गा लगायत कमलपोखरी ब्यक्तिको नाम मा गएको थियो ,यस सम्बन्धि हामिले मुद्धा हालेर कमलपोखरी र्फिता लिएका थियौ , यस्तै अन्य विविध ठाँउमा , भूमाफियाको वस्र्चय कायम नै रहेको छ।”
सांसद बस्नेतको नेतृत्वमा भएको अनुगमनमा नेकपाका अध्यक्ष बचन देउजा, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी  भट्ट, महानगरीय प्रहरी परिसरका प्रमुख एसपी हिमालय कुमार श्रेष्ठ, डिएपी मिलन केसी, स्थानीयवासी लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here