भक्तपुर। भक्तपुर नगरपालिकाले हनुमानघाटस्थित खोह्र दीप ध्वाखा नेपालीमा (स्वग जाने ढोका) र छिपा ताँ ( पुल) को निर्माण गरेको छ । स्थानीय नगरबासी आर्थिक सहयोग तथा श्रम योगदानमा नगरपालिकाले सो क्षेत्र निर्माण गरेको हो ।

पालिकाले एक कार्यक्रमको आयोजना गरी खोह्र दीप ध्वाखा र छिपा ताँको उदघाटन गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँले मौलिक शैली एवम् परम्परागत शैलीमा को खोह्र दीप ध्वाखा र छिपा ताँ बिहीबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले जनताको सहयोगमा निर्मित खोह्र दीप ध्वाखा मौलिक, कलात्मक र निकै आकर्षक भएकोे बताए । उनले सम्पदा संरक्षणमा भक्तपुरका जनताहरुको अपनत्व र समर्पणभावको प्रशंसा गरेका छन् ।

उनले सुधारिएको शवदाह गृह र विद्युतीय शव दाहगृह निर्माणतर्फ पनि नगरपालिकाले पहल गर्नुपर्ने आवश्यकताबोध रहेको र हनुमन्त्ते खोलाको सुधार र सरसफाईमा पनि विशेष ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिमार्फत गरिने विकास निर्माणको भौतिक संरचना बलियो हुने, स्थानीय जनताको अपनत्व रहने, स्थानीय जनताले स्वयम्सेवी रुपमा श्रमदान गर्ने र कम लागतमा गुणस्तरीय निर्माण कार्य हुने बताए ।

खोह्र दीप ध्वाखा निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष रत्नलाल साँधले ध्वाखाको दायाँ बायाँ सहायक द्घार र बीचमा मुख्य रहेको खोद्रा दीप ध्वाखा निर्माणको लागि रु. ४९ लाख ९५ हजार ९ सय ७४ रुपैयाँ भन्दा बढी आर्थिक सहयोग संकलन भएकोमा कुल खर्च रु.४८ लाख ६९ हजार ८ सय ६५ रुपैयाँ रहेको र कार्य मूल्यांकन रु. ५७ लाख ९ हजार ४४० रहेको बताए ।
यस्तै छिपा ताँ निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष लक्ष्मी रञ्जितले आयव्यय प्रस्तुत गर्दै पुलको लगत इस्टिमेट १ करोड ९८ लाख ४१ हजार रहेकोमा कूल खर्च १ करोड ७७ लाख ८ हजार ७३० रहेको र कार्य मूल्यांकन २ करोड, ९ लाख ९८ हजार रहेको बताए ।

कार्यक्रमका सभापति एवम् खोह्र दीप ध्वाखा निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णगोविन्द खाइजु र सचिव कृष्णगोविन्द लाखाले ध्वाखा निर्माणमा १८० वटा भन्दा बढी गुठियारहरुबाट आर्थिक सहयोग प्राप्त भएको र ध्वाखा निर्माणका क्रममा सहयोग गर्ने सबैमा खुसी व्यक्त गरे ।

Facebook Comments

comments