भगवान् गौतम बुद्ध : छोटो परिचय

0
518

भगवान गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन। अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक् सम्बुद्धको रूपमा मान्दछन। बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ। बुद्ध कहलाइनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो। उनलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ। गौतम बुद्धलाई एसियाका तारा पनि भनिन्छ। गौतम बुद्ध नेपालको प्राचीन इतिहासमा अत्यन्त आदरणीय र उच्चस्थान प्राप्त व्यक्तित्व हुन्। ईशापूर्व छैठौं शताब्दीको युगलाई धार्मिक क्रान्तिको युग मान्ने गरिमा गौतम बुद्धले स्थापना गरेको बौद्ध धर्मले प्राप्त गरेको छ। गौतम बुद्धले तात्कालिक प्रचलित धर्म तथा दर्शनको खण्डन गरी आफ्नो दर्शन र सिद्धान्तको स्थापना गरे र त्यसकै जगमा सर्वसाधारण जनमानस र शासकवर्गलाई प्रभावित तुल्याई दुबैथरिलाई एउटै सूत्रमा उनेर एकै ठाउँमा समेट्न सफल भए। त्यसैले बौद्ध धर्म राष्ट्रिय घेराभन्दा माथि उचालिई विश्वधर्मका रूपमा स्थापित हुन सफल भयो।

गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकीनका साथ भन्न नसकिए पनि बीसौं शताब्दीका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल् ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन्। तथापि गौतम बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको सीमाभित्र पर्ने रूपन्देही जिल्लाको लुम्बिनी भन्ने ठाउँमा भएको थियो भन्ने कुरामा दुईमत छैन। उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला भनी चिन्तित रहन्थे। यही दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महसुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। बोधगया भन्ने ठाउँमा एक बृक्षको मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यक् सम्वोधि प्राप्त भयो र उनी सम्यक् सम्बुद्ध कहलाइए। त्यसपछि शेष ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउँ पुगी दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।

सिद्धार्थ गौतमका बाबु शुद्धोधन तत्कालिन तिलौराकोट राज्यमा शाक्य वंशका राजा थिए। यिनकी आमाको नाम मायादेवी थियो। भनिन्छ रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेट्यो, विश्राम गर्ने उद्देश्यले बाटामा पर्ने लुम्बिनी उपवनमा उनी आराम गर्न बसिन्। त्यसै वाटिकामा रहेको पुष्करिणी सरोवरको किनारमा अवस्थित एउटा रूखको फेदमा सुस्ताउँदै गर्दा मायादेवीको कोखबाट बालक सिद्धार्थको जन्म भएको थियो। सामान्य राजकुमार झैं यिनको पालनपोषण राजसी ठाटबाटमा सम्पन्न भयो र उमेर पुगेपछि यशोधरा नामकी युवती सँग विवाह भयो। यशोधराबाट राहुल नामका एक पुत्रको जन्म पनि भएको थियो। गौतम बुद्ध युवावस्थाका हुँदा एकजना ‘बिरूढक’ नामका राजासित यिनले युद्ध लडेको विवरण इतिहासमा भेटिन्छ। बाल्यकालदेखि नै गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई हरेक कुराले चिन्तनशील बनाउँथ्यो। दैनिकीकै क्रममा उनले बुढो, रोगी मानिसलाई देखे। उनले मानिस मरेको पनि देखे। यसबाट उनमा वैराग्य भाव उत्पन्न भयो। मानिस के कारणले रोगी हुन्छ? के कारणले बुढो हुन्छ? र के कारणले मर्छ? भन्ने प्रश्नले उनलाई वैरागी बनायो। यिनै प्रश्नको समाधान खोज्न बाबुको उत्तराधिकारबाट प्राप्त हुने राज्यको समेत वास्ता नगरी २९ बर्षको मध्यउमेरमा उनी एकदिन राती सुटुक्क दरवार छोडेर निस्किए।

बुद्धत्त्व प्राप्त गरिसकेपछि वैशाख शुक्ल पूर्णिमाका दिन भगवान् गौतम बुद्धले पहिलोपटक भारतको सारनाथमा उपदेश दिएका थिए। यो ठाउँ हाल भारतको बनारस क्षेत्रमा पर्दछ।

बुद्धले आफ्ना अनुयायीहरूलाई प्रदान गरेको शिक्षालाई धम्मविनय भन्ने गरिन्छ। विनय भन्नाले भिक्षुहरूका लागि बनाइएको नियमहरूको संग्रह बुझिन्छ भन्ने धम्म भन्नाले दु:खमुक्तिका लागि भिक्षु र गृहस्थ सबैका लागि बुद्धले दिएका शिक्षा भन्ने बुझिन्छ। बुद्धका लगभग सारा शिक्षा र उपदेशलाई ‘त्रिपिटक’ ग्रन्थका रूपमा संग्रहित गरिएको छ जसमा बुद्धका ८२,००० र उनका प्रमुख शिष्यहरूका २००० गरी ८४,००० सूत्रहरू संग्रहित छ्न्।

बुद्धले दु:खमुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्व दिदैंनथे। उनी भन्दथे, “भिक्षुहरू म दुई कुरा मात्र सिकाउंछु : दु:ख र दु:खमुक्तिको उपाय।” बुद्धको प्रयोगात्मक शिक्षालाई ३ किसिमले वर्गीकरण गर्ने चलन छ : शील, समाधि र प्रज्ञा। शीलको जगमा रहेर ध्यानद्वारा समाधि पुष्ट गर्दै प्रज्ञा उत्पन्न गराउन सकेमा नै दु:खमुक्तिको अवस्था अर्थात् निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो। शील, समाधि र प्रज्ञाको मार्गमा पुष्ट हुने क्रममा चारवटा ‘आर्यसत्य’लाई पूर्णरूपले बुझ्न सकिन्छ। ती चारवटा आर्यसत्यहरू यस प्रकार छन् :

दु:ख सत्य : दु:ख छ भन्ने कुरा र यसको अवस्थाको बोध
दु:खको कारण सत्य : दु:खको कारण आसक्ति र अन्तत: अविद्या हो भन्ने बोध
दु:खको निवारण सत्य : दु:खको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार
दु:खको निवारणको मार्ग सत्य : दु:खको निवारण गर्ने आर्य अष्टांगिक मार्गको बोध र यसको पालना। आर्य अष्टांगिक मार्गलाई शील, समाधि र प्रज्ञाको रूपमा पनि वर्गिकरण गर्ने गरिन्छ।

भारतको कुशीनगरमा ईशापूर्व ४८३को बैशाख शुक्ल पूर्णिमाको दिन नै बुद्धले निर्वाण प्राप्त गरेका थिए। गौतम बुद्धलाई सनातन हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीहरूले आफ्ना प्रमुख देवताको रूपमा पूजा गर्दछन्। बोधित्व र महानिर्वाण प्राप्त गरेको स्थान अहिले भारतभित्र परे पनि भगवान् गौतम बुद्धले अवतार ग्रहण गरेको र पृथ्वीतलमा पाइला टेकेको माटो अर्थात् सिद्धार्थ गौतमको जन्मभूमि नेपाल हो र सार्वभौम नेपाल राज्यको कपिलवस्तु जिल्लामा पर्ने लुम्बिनी हो। यो अकाट्य सत्य हो, यसमा कुनै विवाद छैन, कुनै मतान्तर छैन तर पनि छिमेकी राष्ट्र भारतका केही मानिसहरु आफ्नै हृदय भित्रको सत्यतालाई समेत लुकाउँदै र अन्तरात्मालाई ढाँट्दै उनको जन्म भारतमा भएको हो भनेर लेख्न, भन्न र प्रचार गर्न तल्लीन भएका देखिन्छन्। यस्ता कैयौं प्रमाणहरू भेटिन्छन्। यद्यपि गौतम बुद्धको समयभन्दा करिब २५० बर्ष पछि तात्कालिक विशाल भारतका चक्रवर्ती सम्राट अशोक आँफू स्वयं लुम्बिनी आएर गौतम बुद्ध र कनकमुनी बुद्धको जन्मस्थलमा पूजा गरी, त्यहाँका जनतालाई राज्यलाई दाखिला गर्नुपर्ने किसिमकिसिमका कर, शुल्क र राजश्वमा छुट दिएको अभिलेख कुँदी गाडेको विशाल अभिलेख अद्यापि जीवन्त छ तैपनि बुद्धको काल्पनिक जन्मभूमिका रूपमा भारतले गर्व गर्नु हास्यास्पद नै मान्न सकिन्छ।

समग्रमा हामी सम्पूर्ण नेपालीका लागि गर्व र गौरव एवं विश्वशान्तिका प्रतीक भगवान् गौतम बुद्ध अत्यन्तै महत्वपूर्ण रही आएको छ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here