मन परेको साथी

0
625

तिमीसितको त्यो पहिलो भेट भएको दिन, मलाई अहिले पनि याद छ । त्यो दिन हाम्रो जाँच रै’छ । म सम्पूर्ण जाँच सिद्याएर कापी बुझाउनेतरखरमा थिएँ । जाँच सकेर उक्त तरखरमा लाग्ने बेलामा मैले अलिक ठूलै आवाजमा बोलेको रै’छु, “सकियो ।” तिमी त्यसबेला पूर्ण अपरिचितथियौ मेरा लागि । नजिकै कसैको उपस्थिति भएको मलाई थाहै रै’नछ । तिमीले मतिर हेरेर मुसुक्क हाँस्यौ र नचिनेकै भए पनि सोधेकी थियौ, “सकियो ?” मैले टाउको हल्लाएँ । तिमीले त मैलेभन्दा अगाडि नै सकेकी रै’छौ, जाँच सकेको मान्छेको अगाडि आएर त्यसरी मैले ‘सकियो’भनेर फुर्ती नगरेको भए पनि त हुन्थ्यो । तर, त्यहाँ तिम्रा अगाडि लज्जित हुनुशिवाय मेरा लागि अरु कुनै विकल्प थिएन ।

तिमीले पनि हाँस्दै मलाई सोधेकी थियौ, “अनि जाँच कस्तो भो त ?”

मैले यत्ति मात्र भनें, “राम्रो भो ।” तर, कस्तो हुस्सु रै’छु म- ‘तिम्रो कस्तो भो ?’ भनेर चैं सोधिनछु ।

त्यसपछि त के थियो र ! तिमी बारम्बार भेट्टिरह्यौ कलेजभरि । चिनेपछि र वास्ता भएपछि दुबैको उपस्थितिले एक—अर्कालाई सहजतापूर्वकभेट गराउँदोरै’छ । नचिन्दा पो कसैको वास्ता हुँदोरै’नछ । तिमी बोलिराख्ने स्वभावकी, हाँसिरहनुपर्ने तिमीलाई, साथी पनि धेरै बनाएकीथियौ । म चुपचाप एकान्तमा बस्न रुचाउने बानी भएको, कम हाँस्ने र धेरै कम साथी भएको मान्छे । हाम्रो मित्रता सम्भव थिएन कमसेकममेरो तर्फबाट चैं, तर तिमीले कति चाँडै, कत्ति सहजै मलाई साथी बनाइहाल्यौ ।

त्यसबेला भर्खर-भर्खर हाम्रो परिचय भएको बेला, म जहाँ एक्लै बसेको भए पनि तिमी मलाई देख्दा मेरो छेवैमा आउँथ्यौ र मसित गफ गर्थ्यौ। म पटक्कै बोल्नै नजान्ने मान्छे, तिमीसित कस्तरी गफिन्थेँ, त्यस किसिमको ऊर्जा, म कसम खाएर भन्छु, त्यसअघि मभित्र कहिल्यैपलाएको थिएन । स्त्रीहरुसित दुई मिनेट कुरा गरेपछि मलाई कुरै सिद्धिएझैं लाग्थ्यो र त्यो शून्यताको अवस्थामा म त्यस स्त्रीसित छुट्टिएरआफ्नै बाटो तताउन मजबूर हुन्थेँ । तर, तिमीसित बित्ने क्षणहरुमा कहिल्यै पनि त्यस अवस्थाको सिर्जना भएन, म चकित छु ।

त्यो अर्को दिनको कुरा भन्छु । त्यो दिन हामी सबैजना ल्याबमा थियौं । ल्याब अस्तव्यस्त थियो, जहाँ काम कम र ओहोरदोहोर ज्यादाभइरहेको थियो । म अरु दुईजना केटाहरुको गफ सुनेर बसिरहेको थिएँ । तिमी पनि मैतिर आएर त्यस गफमा सहभागी भयौ र एकछिनपछियौटा चिठ्ठाको प्याड झिकेर कुनै यौटा च्यारिटीमा सहयोग गर्न आग्रह गर्‍यौ । मैले ‘कति दिनु पर्ने ?’ भन्दा तिमीले ‘जति दिए पनि हुन्छ’भनेकी थियौ । त्यसपछि मैले तिमीलाई रु. १० को नोट झिकेर दिएको थिएँ । तिमीले रिसिप्टमा मेरो नाम, थर अनि टेलिफोन नम्बर लेखेकीथियौ ।

तर, मलाई अनुमान थिएन– तिमीले त्यै रिसिप्टमा भरिएको टेलिफोन नम्बरका आधारमा मलाई फोन गर्छ्यौ भनेर ।

फोनमा कुरा गर्दा तिमीले मलाई कति लामो समयसम्म सस्पेन्समा राखेकी थियौ । मेरो हरेक ‘को हो ?’ भन्ने प्रश्नमा तिमी उसैगरीहरेकपल्ट ‘गेस गर न’ भन्थ्यौ । म पनि पैलोपल्ट तिम्रो आवाज फोनमा सुनिरहेको थिएँ- के थाहा पाउन सक्थेँ र को हो भनेर ।

बल्लतल्ल तिमीले आफ्नो परिचय दियौ । मैले सोध्न पुगेछु, “किन फोन गरेकी ?”

तिमीले बिस्तारै भनेकी थियौ, “रिसिप्टमा फर्जी नम्बर दियौ कि भनेर चेक गरेकी ।”

त्यसपछि तिमीले पनि त्यस दिन आफ्नो नम्बर मलाई टिपायौ र हामीबीच टेलिफोनमा कुराकानी हुन थाल्यो । वास्तवमा म ढाँट्दिनँ, मलाईतिमीसित फोनमा कुरा गर्दाको अवस्था, अझै पनि ती वार्तालाप सम्झेर एकान्तमा मुस्कुराइरहेको हुन्छु ।

कलेजमा पनि हामी प्रायः साथसाथै हुन्थ्यौं । तिम्रो रूपको चर्चा मेरा केटा साथीहरुबीच चल्ने गर्थ्यो । तिमीलाई सबैले राम्री भन्थे । विशेषगरीतिम्रो हाँसिरहने स्वभावको प्रशंसा धेरैले गर्थे । म उनीहरुको ‘हो’ मा ‘हो’ मिलाउँथें । तिमी राम्री नै थियौ मलाई यस्तै लाग्थ्यो ।

हामी रुखमुनिको सानो चौतारीजस्तोमा बसेर कैंयौं बेरसमम गफ गर्थ्यौं । तिमीलाई बातैपिच्छे हाँसिरहनुपर्ने, त्यो पनि ठुल्ठूलो आवाजकासाथ । म त्यो बेला भने निकै लजाउँथें किनकि वरपरका मान्छेहरुले पनि तिमी त्यस्तरी हाँसेको देखेर हामीतिरै ध्यान दिएर हेरिरहेका हुन्थे ।मैले एक-दुईपटक तिमीलाई भनेको पनि थिएँ कि तिम्रो त्यस किसिमको हँसाइ अलिक भद्दा र लाजमर्दो भयो भनेर तर तिमीले मलाई पटक्कैटेरिनौ । तिमीलाई फुक्का भएर उड्न मन पर्थ्यो, यौटा स्वच्छन्द र निष्फिक्री चरीझैं भएर, म यै धरतीमा अनेक विवशताहरुबाट जेलिएको ! कठै तिम्रो उडानमा के साथ दिन सक्थें र ! तर पनि हामी उसैगरी बाँधिइरह्यौं, मित्रताको डोरीले, जति सम्भव थियो- त्यै कसाइ लिएर ।

अनि हाम्रो भेट कलेज बाहिर पनि उत्तिकै हुन्थ्यो । विशेष जाँचको बेलामा । फोन गर्ने तिमी नै हुन्थ्यौ— नोटहरु आदानप्रदान गर्नुगर्‍यौ भनेर ।म जहिले पनि तिम्रै अनुकूलताका आधारमा तिमीले नै भनेको ठाउँमा आइपुग्थेँ । अनि चियापसलमा चियाको चुस्की लिँदै हामी नोट साट्ने रपढाइको कुरा गर्ने काम कम र अर्थोक नै अन्टनसन्टका गफ ज्यादा गर्थ्यौं । तिमी पढाइलाई चटक्कै पन्छाएर भनिरहेकी हुन्थ्यौ, “जाँचसकिएपछि फलानो फिलिम हेर्न जानुपर्छ ।” म छक्क परिरहेको हुन्थेँ ।

एकदिन त्यसैगरी नोट साटासाट गर्न भनी हामी तिम्रो अनुकूल पर्ने ठाउँमा भेटिएका थियौं । तिमीले मेरो हात समाएर तानेर लग्यौ । मैले’कहाँ जाने ?’ भनी सोध्दा तिमीले शुरुमा केही जवाफ दिइनौ । धेरै बेरपछि लगभग गन्तव्य स्थान आइपुग्ने बेलामा यथार्थ कुरा बतायौ—कुर्ता शुरुवाल किन्न जान लाग्या भनेर । त्यतिबेला शायद तिमीलाई तिम्रो नातेदारको बिहेमा जानु रै’छ । तिमीले अनेक कुर्ता छान्यौ तरतिमीलाई कुनै मन परिरहेको थिएन । म सम्झिन्छु, तिमीले त्यसबेला भनिरहेकी थियौ, “अलिक कन्ट्रास्टिङ कलर छान्नुपर्‍यो !” मैलेत्यतिबेला तिम्रो ‘कन्ट्रास्टिङ कलर’ को अर्थ नबुझेर निकै बेरसम्म टाउको दुखाउनुपर्‍यो । बल्लबल्ल तिमीले छानिसकेपछि मैले चाल पाएँ-कन्ट्रास्टिङ कलर कस्तो हुनुपर्छ भनेर ।

तिम्रो यौटा शौख थियो । तिमी बजारमा आएका हरेकजसो सिनेमा हेर्ने गर्थ्यौ । मलाई पनि कर गर्थ्यौ । तर, मैले अधिकांश तिम्रो त्यसआग्रहप्रति आनाकानी नै गरिरहेँ । हामीले हाम्रो कलेज लाइफभरि मुश्किलले दुईवटा सिनेमा सँगै बसेर हेर्थ्यौं होला । किन-किन यो सन्दर्भमाहाम्रो पारा अलिक मिलेन । मैले हेर्न चाहेको सिनेमा तिमीले पैल्यै हेरिसकेकी हुन्थ्यौ । त्यसैले म विवश हुन्थेँ- अरुसितै गएर हेर्नलाई ।

अनि तिम्रो अर्को यौटा शौख थियो । तिमीलाई गीत गाउन मन पर्थ्यो । अनि तिम्रो स्वर पनि त राम्रै थियो । तर, तिमी जब गीत गाउँथ्यौ,कसो-कसो उठेर नाचिहाल्छ्यौ कि जस्तो लाग्थ्यो मलाई । पूरा शक्ति सोहोरेर गाउँथ्यौ, घाँटीका नसा फुलुन्जेलसम्म गाउँथ्यौ । म सुन्थेँ,तिम्रो आवाजमा मीठास थियो । अनि मलाई के पनि लाग्थ्यो भने तिमी गीतहरुको इन्साइक्लोपेडिया नै हौ । हजुरबाको पालादेखिका गीतहरुतिमी गाउँथ्यौ र बजारमा आएका सबै नयाँ गीतहरुको अपडेट पनि राखिरहन्थ्यौ । म कैलेकाहीँ तिमीलाई फर्माइस गर्थें । मलाई सेन्टी गीतहरुमनपर्ने भएकाले तिमीले ती मैले फर्माइस गरेका गीतहरु बडो फिलका साथ गाउँथ्यौ, म मन्त्रमुग्ध रहन्थेँ ।

ती दिनहरुमा मैले तीन-चार दिन लगाएर यौटा लामो प्रेमपत्र लेखेर तयार पारेको थिएँ । १०-१२ पन्नाजति लामो थियो त्यो प्रेमपत्र । कलेजमासाथीहरुलाई देखाउनुपर्‍यो भनेर त्यो म आफ्नो साथै लिएर हिँड्थें । सबैलाई देखाएँ, त्यसपछि तिम्रो पालो आयो । तिमीले सम्पूर्णपढिसकेपछि मलाइ सोधेकी थियौ त्यो पत्रभित्रकी महिला पात्रका बारेमा । तिनताक म क्लासकी यौटी केटीलाई प्रेम गर्थें । सो त्यो प्रेमपत्रउसैलाई सम्झेर लेखेको थिएँ । तर, तिम्रो त्यसबखतको प्रश्नको उत्तर मैले सजिलै कहाँ दिन सकें र ! तर तिमी पनि के कम थियौ र ! त्योदिनभरि तिमीले मलाई कोट्याई कोट्याइकन मभित्रको जवाफ उधिनेरै छाड्यौ, म हारें ।

त्यसपछिका दिनहरुमा तिमी मेरो छेउमा आउँदा हरेकपलट उसैका कुराहरु लिएर आउन थालेकी थियौ । बिस्तारै बिस्तारै तिमीले ऊसित पनिदोस्ती गरिसकेकी थियौ । तिमी भन्ने गर्थ्यौ— उसलाई यस्तो मन पर्छ, उसलाई उस्तो मन पर्दैन । फलानो ठाउँ उसको घर । घरमा आमाबाबुछन् । दाजुभाइ छैनन् । आदि आदि ।

कुनै-कुनै बेला तिमी ऊसितै बसेर गफ गरिरहेकी हुन्थ्यौ । मलाई देख्नासाथ आफ्नो घोक्रो सुकुन्जेल चिच्याउँथ्यौ । तिम्रो चिच्याहटकलेजबाहिरका मान्छेले त सुन्थे होलान्- म त्यहीँ नजिकै तिमीहरूकै अगाडि केही दूरीमा हिँडिरहेको मान्छे, के नसुनौला र ! म तिमीहरुनजिकै पुग्थेँ । मनमनै केही प्रफुल्लित पनि हुन्थेँ । केही भय, केही सङ्कोच, लाज सप्पै एकैसाथ मैमाथि आइपरिरहेका हुन्थे । कस्तोरियाक्ट गर्थेँ होला म त्यस क्षण, त्यो तिमीले मात्र राम्रोसित ख्याल गरेकी थियौ होला । मलाई लाग्छ- उसले त मलाई ठीकसित हेरिरहेकी पनिहुन्थिन ।

तर, त्यहाँ हाम्रो त्यस किसिमको संयुक्त उपस्थितिलाई सहज बनाइदिन खोजिरहेकी हुन्थ्यौ तिमी— म बुझ्थेँ । मेरा केही तारिफहरू पनिगरिरहेकी हुन्थ्यौ । अनि त्यस दिन अनायासै उसैलाई सुनाउँदै भनिरहेकी थियौ, “खै त्यो प्रेमपत्र देऊ त, सप्पैलाई पढ्न दिनुपर्‍यो ।”

उसले अब आफ्ना ठुल्ठूला आँखा उघार्दै तिमीतिर हेर्दै भनेकी थिई, “कस्तो प्रेमपत्र ?”

त्यसपछि तिमीले उसलाई मैले लेखेको प्रेमपत्रको सम्पूर्ण यथार्थ विवरण सुनाइदिएकी थियौ शिवाय त्यसको महिला पात्रका बारे । तिमीलाईथाहा छैन- म त्यस क्षण झन्डै झन्डै बेहोशै हुन आँट्या थिएँ ।

तिमीले त्यसरी तारिफ गरेको देखेर उसले तब मतिर ठाडो हेरेर मागेकी थिई, “खै देऊ न त हामी पनि पढौँ ।”

त्यसबेला मेरा गाला रातोपीरो भएको हुँदो हो । कान तातेर भत्भती पोलिरहेका थिए । मुटु छाती फोरेर बाहिरै निस्किन्छ कि जस्तो गरिरहेकोथियो । मैले त्यो दिन ल्याउँदै नल्याएको भनी ढाँटे । पछि एकफेर लाग्यो— मैले त्यसरी नढाँटेकै भए पनि हुन्थ्यो ।

अन्तिममा तिमीले मसित पिउने पानी माग्यौ । तिमीलाई थाहा थियो- म पानी बोकेर हिँड्थें । झन् त्यो पानी मेरो घरनजिकैको ढुङ्गेधाराको थियो । तिमीले कलकल पिएको देखेर उसले पनि त्यो पानी मागी र घटघट खाई । मलाई लाग्यो- त्यस दिन धन्य थियो मेरो लागि ।

त्यसपछिका फोनका वार्तालापमा तिमी र म मिलेर अधिकांश उसैको कुरा गर्थ्यौं । तिमी आफूलाई उसको जानकारी भएसम्मका कुराहरु मलाईसुनाउँथ्यौ । म मन्त्रमुग्ध भएर ती कुराहरु सुनिरहेको हुन्थेँ । हरेकपल्ट तिमी फोनमा कुरा उठाउँदा ‘अलिक पोजेटिभ कुरा छ’ भन्थ्यौ । साँच्चैतिमीसित फोनमा भएका ती कुराहरु पोजिटिभ नै हुन्थे, म फुर्किन्थेँ ।

त्यसपछि तिमी मलाई आवश्यक सरसल्लाह दिन्थ्यौ, ‘अब यसो गर्नुपर्छ, अब उसो गर्नुपर्छ ।’ म बेला बेलामा उत्ताउलिएर भन्थेँ, “यसो गर्दाहुन्छ ?” तिमी मलाई ठाडै भन्थ्यौ, “हतार नगर न ।” म मूक भएर तिम्रा कुरा सुनिरहेको हुन्थेँ अनि तिमीले भनेजस्तै गरिरहन्थेँ ।

एकदिन म क्लासमा ध्यान दिएरै पढिरहेको थिएँ । त्यस दिन तिमी क्लासमा थिइनौ । बङ्क गरेर कता गएकी थियौ मैले खासै चासो पनिराखिराखेको थिइनँ र मलाई त्यति वास्ता पनि लागिरहेको थिएन । तिमी क्लास हुँदाहुँदै बीचैमा छिर्‍यौ र मलाई खोज्दै सिधै मेरै छेउमा आएरबस्यौ । मलाई तिमी मेरो छेउमा आएर नबसुन्जेलसम्म तिम्रो त्यहाँ उपस्थिति भएको जानकारी थिएन । मैले पुलुक्क तिम्रो अनुहारमा हेरेँ ।केही गम्भीर थियो तिम्रो अनुहार । तर, म पढाइमा त्यस दिन यति तल्लीन रै’छु कि मलाई तिम्रो मुहारको मलीनताका बारेमा स्पष्टजानकारीसमेत भएनछ । एकैपल्ट तिमीले ‘ब्याड न्युज छ’ भनेपछि पो सिरिङ्ग भएछु । मैले त्यो ‘ब्याड न्युज’को कुनै अड्कल काट्न पनिसकिनँ । भन्यौ, “उसको बिहे हुने भएछ ।”

मलाई तिम्रो कुराले क्षणभरका लागि निश्चेष्ट बनायो । “यो के ?” यौटा विचित्रको भाव मस्तिष्कमा आएको थियो । ब्ल्याकबोर्डमा लेखिएकाअक्षरहरु एकै पोको परेर यौटा सेतो डल्लो बनिरहेको देखेँ । अनि तिम्रो देब्रे हात आफ्नो दाहिने कुममा परेपछि मात्र पुनः चेत आएझैँ भयो ।मस्तिष्कमा तिमीले केही बेरअघि भनेको ‘उसको बिहे हुने भएछ’ भन्ने वाक्य पुनः दोहोरिन लाग्यो । “यस्तै हो,” तिमीले फेरि भन्यौ, “उसलेहामीलाई पनि गुमराहमा राखी ।”

म क्लासबाट जुरुक्क उठेर बाहिर निस्कें, तिमी पनि मेरो पछिपछि आइराखेकी थियौ । “म घर जान्छु,” मैले तिम्रा अघिल्तिर यति मात्रभन्न सकें र घरतिर लागें । करिब-करिब १ महिनासम्म कलेजमा आफ्नो मुखै देखाइनँ ।

एक महिना पूरा घरमा बितिसक्दा म यथास्थितिमै आइसकेको थिएँ । उसको याद आउन छाडिसकेको थियो । अब सम्पूर्ण ठीकठाक र तयारीअवस्थामा थिएँ, सो कलेज गएँ । तिमीले मेरो खुला चित्तले स्वागत गर्‍यौ । गलामा पोते र हातमा छमछम चुराहरु बजाउँदै आइरहेकी उसलाईपरैबाट देखी तबसम्म हेरिरहें, जबसम्म ऊ मेरो आँखाबाट ओझेल भैसकिन् । अनि त्यसपछि भने उसलाई नदेखेझैं अभिनय गर्न खोजें । यो सबतिमीले मलाई हेरेर बिचार गरिरहेकी रै’छ्यौ । म आफ्नो झुठो अभिनय देखेर आफैंलाई मनमनै धिक्कारिरहेको थिएँ ।

त्यसपछि हाम्रो क्लासबाट चार दिने टुरको आयोजना बन्यो । दुई दिन पोखरा अनि दुई दिन बन्दीपुर । जाँदाखेरि होहल्ला मच्चाउँदै, गीतगाउँदै, रमाइलो गर्दै गयौं । म र अर्को यौटा मेरो साथी शुरुदेखि नै दुईवटा सिट ओगटेर बसिसकेका थियौँ । तिमी पनि आएर लगभग मेरोछेउतिर पर्ने सिटमा बस्यौ । अन्ताक्षरी चल्यो । तिमीलाई कसले पो भेट्टाउन सक्थ्यो होला र ! संयोगबस् तिमी र म यौटै ग्रुपमा परेका थियौँ ।जब हाम्रो पालोमा ‘र’ बाट गीत गाउनुपर्ने बेला आउँथ्यो, तब म ‘रातो र चन्द्र सूर्य’ गाउन खोज्थेँ । तर, हाम्रा ग्रुपका साथीहरु कोही पनि त्योमैले गाएको गीतमा स्वरमा स्वर मिलाउन चाहेनन् र घटिया हिन्दी गीत गाएर बलपूर्वक मेरो आवाजलाई दमन गरिरहेका थिए । मैले धेरै नैपल्ट सो गीत गाउन खोजिरहेको थिएँ तर सबैजना पिटुँला झैँ गरी मलाई निषेध गरिरहेका थिए । धेरैबेरपछि तिमीले मेरो साथ दिँदै ठुल्ठूलो रसुरिलो आवाजमा जब त्यो गीत गायौ, म धेरै नै खुशी भएको थिएँ । तिमीलाई थाहा पनि भो- भोलिपल्टदेखि हामीसँगै जानुभएका सरहरुले मेरोनाउँ नै ‘रातो र चन्द्र सूर्य’ राखिदिनुभएको थियो ।

पोखरा पुगिसकेपछि तिमी आफ्नो ग्रुपमा गयौ र म पनि आफ्नै ग्रुपमा । त्यो होटलमा गरेको क्याम्प फायरको सम्झना अझै पनि मेरोमस्तिष्कमा ताजा बनेर बसेको छ । हामी सबै अन्तिममा रातको १-२ बजेसम्म नाचेका थियौं । यौटा हाम्रै साथी, जो जतिखेर पनि गितारबजाइरहेको हुन्थ्यो, तिमी उसको धूनलाई पछ्याउँथ्यौ आफ्नो सुरिलो आवाजले । पछि सबैलाई थाहा भयो- त्यो केटा र तिमीबीच प्रेम भएछपोखरामा बसुन्जेलसम्म । त्यसपछि दिनभरि तिमीहरु छुट्टिएनछौ रे ! मलाई थाहा छ, बन्दीपुर फर्कंदा पनि तिमी र त्यो केटो सँगसँगैपछिल्तिरको दुईवटा सिट ओगटेर बसेका थियौ ।

तर, बन्दीपुर पुगिसकेपछि भने कताबाट हो तिमी र म फेरि सँगसँगै भएछौं । मलाई थाहा छैन तिमी किन आफ्नो प्रेमीसित नहिँडेर म भएठाउँमा आइपुग्यौ । सिद्धगुफा जाँदा आधा दिनसम्म तिमी हिँड्न नसकेकोले तिमी र म धेरै पछि थियौं । तिम्रो प्रेमी शायद सबभन्दा अगाडि नैथियो । म देखिरहेको थिएँ- शुरुशुरुमा तिमी र ऊ सँगसँगै थियौ तर पछि ऊ धेरै अगाडि पुगिसकेको थियो तिमीलाई एक्लै छाडेर । तिमी ओरालोझर्न पनि सकिरहेकी थिइनौ, ठाउँठाउँमा मेरो हात समाएर हिँड्थ्यौ । बन्दीपुरको खुल्ला टुँडिखेलमा पनि हिमाल देखिने भ्युप्वाइन्टमा तिमी रम छुट्टै थियौं । तिमी एकपल्ट त्यो भ्युप्वाइन्टमा तलतिरको भीर देखेर कहाल्लिएझैं थियौ । कति कमजोर हृदय भएकी रैछ्यौ तिमी— यस्तैलाग्यो मलाई ।

त्यो साँझ दिनभरिको घुमाइको थकाइले सबै क्लान्त भएर आफ्नो रुममा पल्टिरहेका थिए । म त्यसै बाहिरपट्टि निस्केर बन्दीपुरलाईभक्तपुरसित तुलना गरिरहेको थिएँ । तिमी पनि त्यतिबेलै निस्केर मेरो छेवैमा आइपुगेर मलाई भनेकी थियौ, “कति सफा छ हगि बन्दीपुर?”

म त्यसै तर्सिएछु । पछाडिबाट तिमी आइरहेको पनि ख्यालै भएनछ । भनेँ, “हँ ?”

अगाडि बाटोमा यौटा चाउचाउको खोल खसेको रै’छ । यौटी स्थानीय महिलाले त्यो खोल टिपेर नजिकैको डस्बिनमा हालिन् । मैले भनें, “वास्तवमै बन्दीपुर सफा छ ।”

त्यसपछि तिमीले नै सम्पूर्ण बजार घुम्ने हठ गर्‍यौ । मैले ‘थाक्या छु’ भन्दा पनि टेरिनौ । दिउँसो तिमीलाई ओह्रालो झरेर सिद्धगुफासम्मपुग्दा हम्मे भएको पनि बिर्सिछौ क्यार । धन्न अरु साथीहरु पुनः फर्केकै बाटोबाट उकालो हिँड्दै बन्दीपुर बजार फर्किएका थिए । तिमीलाई मैलेत्यो बिमलनगरबाट डुम्रे हुँदै गाडीमा नल्याएको भए तिम्रो कुन दुर्दशा हुने थियो । शायद त्यै हिँडाइ बचाएकाले होला- तिमीले त्यो साँझ बजारपरिक्रमा गर्ने हठ गर्‍यौ । फेरि तिम्रा अगाडि हरेक कुरामा हार्ने पनि मेरो बानी परिसकेको थियो ।

बजार एक राउन्ड घुमेर आइयामात्र के थियो- पुछारतिर यौटा क्याफे रै’छ । तिमीले फेरि मसित गएर कफी खाने आग्रह गर्‍यौ । हामी दुबै गएरएक-एक कप कफी खायौं । “अब सम्पूर्ण थकाइ मर्‍यो,” कफीको अन्तिम सर्को घुटुक्क निल्दै तिमीले भनेकी थियौ । मैले टाउको हल्लाएँ ।तलतिर हरियो पहाड र कुहिरो डम्म देखिँदा तिमी कम्ती रमाएकी थिइनौ ।

त्यो दिन फर्कने दिन थियो बन्दीपुरबाट । हामीले बन्दीपुरको संक्षिप्त नक्सा त्यहीँ अवस्थित मन्दिर छेउमा हेर्‍यौं । “ला खानीमाई त छुटेछ,”तिमीले केही आत्तिएको जस्तो स्वरमा भनेकी थियौ । हामीले पत्तो लगाउँदै लगाउँदै त्यो खानीमाईको उकालो चढ्यौँ । त्यहाँबाट बजार कतिसुन्दर देखिदोरै’छ । त्यतिबेला तिमीले खिचिदिएका तस्बिरहरुको यौटा सीडी मैले जतनसाथ सीडी ब्यागमा राखेको छु । तर, अपशोच हामीदुबैजनाको संयुक्त फोटो खिचिदिने त्यहाँ तेस्रो व्यक्ति कोही भएनछ । धेरै उकालो चडिसकेपछि तिमीले सक्तिन भन्यौ, त्यहीँ बसेर फेरिफोटो सेसन गरियो र फेरि तलतिर ओर्लियौँ ।

फर्कनु त अवश्य थियो । कुनै पनि कुराको शुरुवात हुन्छ भने त्यहाँ अन्त्य पनि निर्बाध छ । हाम्रो पनि त्यो भ्रमण अन्त्य हुँदै थियो । हाम्रोरिजर्भ गरिएको बस बन्दीपुरबाट डुम्रे जाने जिप लाग्ने ठाउँ नजिकै थियो । म चुपचाप गएर यौटा सिट ओगटेर बसेँ । सिट अगाडितिरको थियो ।बसमा जो-जो चढ्यो, त्यो लास्टतिर गएर बस्न रुचाउँथ्यो । मेरो छेउमा कोही बसिरहेको थिएन । तर, कोही नआए पनि, सप्पैले लत्याएकोसिट भए तापनि तिमी मेरो छेउमा आएर बस्यौ । तिम्रो प्रेमी पनि लास्ट सिटमा गएर बसेको थियो । फर्कँदा सबैजना थकित भएर होला-अन्ताक्षरीको खासै त्यस्तो माहौल जमेन । तिमीले मसित झ्यालपट्टि बस्नका लागि अनुरोध गर्‍यौ । भित्रभित्रै दिन मन नलागेको भए पनिमैले सहजै तिमीलाई त्यो सिट दिएँ । बन्दीपुरको अन्तिम यात्रा, जुन खानीमाईको उकालो थियो, त्यो अझै पनि मेरो मस्तिष्कबाट उत्रिसकेकोथिएन । तिमीलाई त्यस्तै अर्को डाँडा आउनासाथ म आफ्ना चोरी औंलाले देखाउँदै भन्थेँ, “ऊ हेर त खानीमाईको उकालो ।”

तिमीले शुरुमा त मलाई ‘होइन’ भन्दै प्याट्ट पिट्यौ । फेरि उस्तै डाँडा दोहोरिएर आयो कि म उसैगरी देखाउँदै भन्थेँ, “ऊ हेर त खानीमाइकोउकालो ।”

त्यसपछि पनि तिमीले मलाई हरेकपल्ट आफ्नो अनुहार साविकभन्दा उज्यालो बनाउँदै झर्केको अभिनय गर्दै उसैगरी प्याट्ट पिटिरहन छाडिनौ ।मलाई भने हरेकपल्ट त्यसो भनेर तिम्रो पिटाइ खाइराख्न मन पर्थ्यो ।

हाम्रो ब्याचलर्ससम्मको पढाइ सकियो । बेलाबेलामा त्यो यात्राका तस्बिरहरु हेरेर आज पनि म मन बहलाउने गर्छु । यौटा अपशोच- त्यसबेलातिम्रो अमेरिकाका लागि भिजा लागेको थियो । तिमी जानुभन्दा एक दिनअघि हामी उही रुटिन चियापसलमा भेटिएका थियौँ, मन त्यसै-त्यसैखिन्न थियो । तिम्रा अरु पनि साथीहरु थिए वरपर त्यस दिन । चियाको चुस्कीमा कुनै मीठास थिएन त्यस दिन । तिमी जाँदै थियौ,तिमीलाई त्यस दिन बिदाइका निम्ति तिमीले आग्रह गरेअनुरुप केही कविताहरु सुनाएको थिएँ । तिमीले पनि मीठो आवाजमा यौटा गीतगाएकी थियौ, जुन अहिलेसम्म मेरो स्मृतिपटमा ताजा भएर बसेको छ । त्यो गीत थियो— ‘म तिम्रो शहर छोडी टाढा टाढा जाँदैछु ।’

कति समयसापेक्ष गीत गाएकी । मानौं तिमीले मेरै लागि गाएकी । तर, त्यसो नहुँदो हो तिम्रो प्रेमीलाई मैले नबिर्सेको भए । तिमी कसको शहरछाडेर जान लागेकी थियौ, त्यो तिमीलाई नै राम्ररी थाहा हुँदो हो ।

तिमी गयौ, म जहाँको त्यहीँ रहेँ । यसो सम्झना आयो कि मेल पठाइहाल्थेँ । शुरुको यौटा मेल थियो, जसमा लेखेको थिएँ, “हाइ ! के छ ?कस्तो छ तिम्रो नौलो परिवेश ? भिज्न बाँकी छ या भिजिसक्यौ ? तिम्रो खूब याद आइरहेछ । धेरै मिस गर्छु तिमीलाई । लभ यु ।”

मेरो मेलको प्रत्युत्तर त्यसको ठीक दुई दिनपछि तिमीले गर्‍यौ । लेखेकी थियौ, “आंशिक भिजेँ यहाँको माहौलमा । जाडो धेरै छ । शुरुवातमाहोमसिक भयो । नून खाएको कुखुरा झैँ झोक्राइरहेँ । अहिले अलिक ठीक छु । म पनि तिमीलाई धेरै मिस गरिरहन्छु । लभ यु टु डियर !”

यसको केही दिनहरु बितेपछि एकदिन यौटा साथी भेटियो । उसले तिम्रो प्रेमीलाई हाम्रो मेलमा भएका कुराहरु सप्पै थाहा भएको कुरा बतायो ।तिमीले आफ्नो मेल आईडीको पासवर्ड उसलाई बताएकी रै’छ्यौ । यो कुरा मलाई पहिल्यै थाहा भएको भए म तिमीलाई त्यस किसिमको मेलकहिल्यै नपठाउँदो हुँ । त्यो साथी भन्दै थियो कि तिम्रो प्रेमी मलाई भेटेर पिट्न चाहन्छ । तिम्रो प्रेमीले ऊसित मेरो फोन नम्बर पनि मागिरहेकोथियो रे !

मैले थाहा पाएँ कि तिमीलाई यी सब कुराहरुको पत्तो भएछ । तिमीले त्यस्तै भाका उल्लेख गरेर धेरै लामो समयपछि मेल पठाएकी थियौ ।

लेखेकी थियौ, “मेरो प्रिय साथी ! तिमीलाई त्यहाँ केही नराम्रो हुन लागेको मैले यता बुझेँ । निष्फिक्री भएर मलाई मेल पठाइरहनू, मैले आफ्नोमेल आईडीको पासवर्ड चेन्ज गरेँ । ऊसित पनि कुरा गरिसकेँ । आफ्नो स्वास्थ्यको ख्याल गरे ।”

धेरै दिनपछि तिम्रो प्रेमी एकपल्ट अकस्मात भेटियो । “तिमीसित केही जरुरी कुरा छ,” उसले भन्यो र नजिकैको यौटा चियापसलमा लिएरगयो । दुई कप चिया मगायो र आफैँ कुरा झिक्यो, “के हो, मेलमा त खुब लभ यु सभ यु चल्दो रै’छ नि !”

मलाई थाहा थियो उसले सोध्ने प्रश्न यै हो भनेर । भनेँ, “हाम्रो सम्बन्ध हिजो अस्तिको होइन र हाम्रो मित्रता के-कस्तो हो भनेर तिमी आफ्नीप्रेमिकालाई नै सोध्न सक्छौ । र, तिमीसित आफ्नी प्रेमिकाको विश्वाश गर्नुको कुनै विकल्प छैन ।”

उसले भन्यो, “ऊ मसित त्यै विषयलाई लिएर झगडा गर्दै थिई ।”

“झगडा गर्नु पनि त स्वाभाविक हो,” मैले भनें, “तिम्रो बुझाइको स्तर हाम्रो सम्बन्धभन्दा धेरै भिन्न जो भैदियो !”

“म उसलाई धेरै माया गर्छु,” उसले भन्यो, “यो सब मभित्रको डर हो । लोग्नेमान्छेलाई हुने स्त्रीप्रतिको अशक्तिले उब्जाउने स्वाभाविक डर ।प्लिज यसलाई बुझिदेऊ ।”

मैले पनि अब राम्रो मौका पाएँ किनकि ऊ मसित धम्कीको भाषा होइन, अनुरोधको भाषामा जो कुरा गरिरहेको थियो । भनेँ, “अब तिमी मलाईऊसितको मित्रतै तोडिदेऊ भन्छौ भने त्यो भिन्न कुरा भयो । होइन भने तिमी निर्धक्क होऊ, हामीबीच त्यस्तो शंकै गर्नुपर्ने सम्बन्ध आजकामितिसम्म स्थापित भैसकेको छैन ।”

त्यसपछि उसले मसित अलिक घटिया कुरा गर्‍यो । भन्यो, “हेर यसअघि दश वटी केटीसित मैले प्रेम गरिसकेको छु र ती सबैसित शारीरिकसम्बन्ध पनि गाँसिसकेको छु । तर, ती सबै केटीहरुसित पछि मेरो मन उठ्ने गर्थ्यो । तर, ऊ मात्र त्यस्ती केटी हो, जोप्रति म अझै आशक्त छु ।यसैले तिमीले बुझ्यौ होला म उप्रति कति आशक्त छु भनेर । मलाई लाग्छ- तिमीले सबै बुझ्यौ होला अब हाम्रो सिन्दुर-पोते मात्र हुन बाँकी छ ।”

म अवाक् भएँ उसका कुरा सुनेर । उसको आशय के हो ? त्यसरी गोप्य भनिने शारीरिक सम्बन्धका कुरा ऊ मसित खुलेआम गरिरहेछ । मलाईत लागिरहेको थियो- त्यो तिमीलाई बिटुल्याएको कुरा गरेर मेराप्रति तिम्रो घृणाभाव उत्पन्न गराउन चाहिरहेछ । तर, लाग्यो तत्कालै कि ऊ जेभनिरहेको थियो, सत्य पनि हुन सक्छ । खैर म ऊसित बिदावारी भएर त्यहाँबाट निस्कें । निस्कने बेलामा उसले मसित यौटा गीत लेखिदिनआग्रह पनि गर्‍यो । यो भन्दै कि ऊ शीघ्र यौटा एल्बम निकाल्दै थियो ।

तिम्रो बारेमा तिम्रो प्रेमीले जे-जस्तो कुरा गर्‍यो, त्यो तिमीलाई मैले आजसम्म पनि भनेको छैन र शायद कुनै पनि दिन भन्नेछैन ।

पछि मैले थाहा पाएँ कि तिम्रो र उसको सम्पूर्ण ब्रेकअप भएछ ।

एकपटक तिमीलाई भृकुटीमण्डपको क्यान इन्फोटेकमा परैबाट देखेको कुरा मलाई मेरो यौटा साथीले सुनायो । मलाई भित्रभित्रै त्यसै नरमाइलोलागिरह्यो । तिमी आएको जानकारीसम्म मैले पाउन सकिनँ । त्यसै दिक्क लागिरह्यो । पछि त्यै कुरा मैले मेलमा पठाएँ । तिमीले त्यसकोजवाफ यसरी दियौ, “मलाई माफ गर । त्यो बेला मेरो हजुरबुवाको मृत्यु भएकाले एक्कासि आउनुपर्‍यो । म हजुरबुवाको मन परेकी नातिनी,मैले उपस्थिति भैदिन पर्थ्यो । उहाँको काजकिरियाभरि बसें । कतै जान पाइनँ । त्यसको लगत्तै म फर्किहालें । यता पढाइ छुटे फेरि नराम्रो रेकर्डहुन्थ्यो । अर्कोचोटि आउँदा अवश्य भेट्नेछु । सरी ।”

मलाई त्यसै ग्लानि भयो तिम्रो मेल पढेर । मैले नराम्रो सोचेछु । तत्काल खेदले भरिएका केही लाइनहरु लेखेर रिप्लाई गरें, “मेरो मन परेकोसाथी ! मैले नराम्रो सोचेछु यसर्थ माफीको याचना गर्छु । तिमीले माफी माग्नु पर्दैन । अर्कोचोटि नेपाल भ्रमण हुँदा भेट हुने आशा राख्छु । मप्रतीक्षा गर्छु ।”

तिमी दोस्रोपल्ट नेपाल आयौ- डेढ वर्षपछि, जब पैलोपल्ट आएकी थियौ । तर, अपशोच ! म भ्यालीभित्र नभएकाले त्यसबेला पनि हाम्रो भेटहुन सकेन । र, तिमी पनि ८-१० दिनभन्दा बसिनौ । फर्किहाल्यौ ।

तर, तिमी मेल पठाइराख्थ्यौ । लेखेकी थियौ, “हेर न, स्वाइन फ्लुको जग्जगी छ । बाहिरफेर निस्किने माहौल छैन । धेरै समय भित्रै बसिराख्छु। पढ्न पनि उत्ति मन लाग्दैन । काम गर्ने पनि जाँगर उस्तो छैन । जिन्दगी त उही राम्रो थियो कलेज लाइफको । कुनै कुराप्रति सिरियसहोइन्न थियो । यहाँ त हरेक कुरामा सिरियसनेस चाहिने । म एक्ली छु यहाँ । मेरो कलेजमा नेपालीहरु पनि त्यति छैनन् । तिमी यतातिरआउने प्रयास किन गर्दैनौ ?”

यसको जवाफमा मैले लेखेर पठाएको थिएँ, “स्वाइन फ्लुबाट बचेर काम गर्नू । यो त मभन्दा पनि तिमीलाई नै ज्यादा थाहा होला । के होआजकाल निकै नोस्टाल्जिया हुन्छ कि के हो ? मेरो हालसाललाई त्यस्तो कुनै सोच छैन । पछि के होला- त्यो पछि नै थाहा होला । बाइ ।”

त्यतिबेला भर्खर-भर्खर फेसबुकको पनि प्रचलन आएको थियो । हामी एक-आपसका स्ट्याटसहरुमा खुब कमेन्ट गर्थ्यौं । कैले अनलाइनभेटिन्थ्यौं । एकदिन तिमी त्यसैगरी अनलाइन भेटिएकी थियौ । केही औपचारिक कुराहरु साटासाट भइसकेपछि तिमीले मलाई सोधेकी थियौ, “अनि जीवनमा कोही गर्लफ्रेन्ड बनायौ त ?”

मैले भनें, “छैन ।”

मैले पनि त्यही प्रश्न सोध्न जरुरी ठानेर तिमीलाई सोधेँ, “अनि तिम्रो नि ?”

तिमीले उत्तर दियौ, “अँह ।”

मैले जिस्किने मुडमा टाइप गरें, “यौटा कुइरे छाने हुन्छ नि त ।”

“त्यस्तो हुन्न ।”

“किन ?”

“मेरो मन त्यतैतिर अडेको छ ।”

“कसमा ?”

“अहिलेसम्म अञ्जानै छ ।”

“मलाई किन भन्दिनौ ?”

“भए पो भन्नु ।”

“म खोजिदिऊँ त ?”

“हुन्छ ।”

“कस्तो चाहिने ?”

“जस्तो होस्, मेरो विगतको ब्वाइफ्रेन्डजस्तो चैँ नहोस् ।”

“त्यसोभए को जस्तै त ?”

“केही तिमीजस्तै ।”

“हा हा हा हा…”

“ल त म सुत्न जाँदैछु, बाइ ।”

“ओके बाइ ।”

त्यसपछि तिमी अफलाइन भयौ । अब मैले तिमीलाई आफूजस्तै केटो खोजिदिनु छ, जान्दिनँ त्यो सजिलै उपलब्ध हुने हो कि होइन ।

(स्रोत : सुबिन भट्टराईको पहिलो पुस्तक ‘कथाकी पात्र’बाट साभार)

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here