महाभारतका पात्रहरूमा आधारित फिल्म ‘कर्ण’ हेर्नुहोस् युट्युबमा

0
44

यो फिल्म समानताको सपना देख्ने र त्यसविरूद्ध लड्ने कर्ण र उनका आफन्तको कथामा आधारित छ । फिल्मको कथा महाभारतका पात्रहरूमा केन्द्रित रहेको छ । पोडियानकुलम दूर्योधनको गाउँ हो । यो गाउँमा पाण्डवहरूकी पत्नीका रूपमा चिनिने द्रौपदी पनि छिन् जो कर्णलाई प्रेम गर्छिन्।

कर्ण सामान्य परिवारका छोरा हुन्। तर उनको व्यवहार गाउँलेका निम्ति असमान्य हुन्छ। उनी क्रान्तिकारी स्वभावका छन्। अन्याय र विभेद खप्न सक्दैनन्। यसविरूद्ध मारपिट गर्न पछि पर्दैनन्। सबभन्दा ठूलो कुरा उनी साहसिला छन्। उनी यो महाभारतीय गाउँका योद्धा हुन्। गाउँमा सबैजसोले गर्न डराएको काम उनले गर्छन् र सफल हुन्छन्। तर उनको यो व्यवहारले गाउँमा कति अप्ठ्यारा सिर्जना गर्छ भन्ने उनलाई अनुमानसम्म हुँदैन। हरेक अप्ठ्यारामा उनलाई साथ दिन उनका हजुरबुवा सँगै हुन्छन्। हजुरबुवा र गाउँलेको सपना हुन्छ- कर्ण सेनामा भर्ती होस्।

आफ्नो हकका लागि कर्णले सुरूमा गाउँलेबीच नै आवाज उठाउनुपर्छ। विस्तारै छिमेकी गाउँ हुँदै सरकारी प्रशासन र प्रणालीसँग लडाइँ खेल्नुपर्छ। प्रहरीका रूपमा देखिएका कृष्ण प्रशासन र प्रणालीका दूत हुन्। पेडियानकुलमका गाउँलेमाथि हुने विभेद र अन्यायका खेलाडी हुन्।

यो फिल्म कर्ण र कृष्णबीचको युद्ध कथा पनि हो।

फिल्म कर्ननको कथा भन्ने तरिका फरक छ। खासमा ‘हेर्ने’ खालको होइन, देख्नुपर्छ, बुझ्नुपर्छ। यसका लागि कुनै माथापच्ची भने गरिरहनु पर्दैन। फिल्ममा सशक्त दृश्य र बिम्बहरू छन्। जस्तै, फिल्ममा पेडियानकुलमका देवतालाई शिरबिहीन देखाइएको छ। गाउँलाई रक्षा गर्ने देवताले यो गाउँ छाडिसकेका छन्। कर्णले वर्षौंदेखि हुन नसकेको काम फत्ते गर्दै तरबार जित्छन्। त्यो तरबार उनको नेतृत्वको संकेत हो। अर्को छ गधा। अगाडिका खुट्टा बाँधिएको यो गधाले कर्ण र उनका गाउँलेलाई प्रतिबिम्बित गर्छ। मालिकले नभागोस् भनेर बाँधिएको त्यो डोरी गधा र कर्णले कसरी फुकाउँछन्, त्यो रोचक छ। यो गाउँमै एक मात्र घोडा पनि छ। गाउँकै एक बालकले कसैसँग मागेर ल्याएको यो घोडा कसरी कर्णको लडाइँमा जोडिन्छ, त्यसका लागि कर्नन हेर्नुहोला।

माछा, हात्ती, पुतली, चील, गाईगोरु र अन्य जनावरले पनि फिल्ममा आफ्नो भूमिका पाएका छन्। हरेक जनावर फिल्मका कुनै न कुनै पात्रको जीवनसारथी जस्ता लाग्छन्। यो फिल्म जति मिथकमा आधारित छ, त्यति नै वास्तविकतामा पनि। पेडियानकुलम गाउँको नाम कोडियानकुलमबाट राखिएको हो। यो दलितहरूको बस्ती थियो। सन् १९९५ मा यहाँ प्रहरीहरूले आक्रमण गरेर लुटपाट गरेका थिए। त्यो आक्रमण दलितहरूलाई झनै गरिब र दयनीय बनाउन गरिएको मानिन्छ। फिल्म कर्ननले पोडियानकुलम गाउँको कथामार्फत् त्यो घटना सम्झाउन खोजेको छ।

मारी सेल्भराजको निर्देशनमा बनेको कर्नन समीक्षकहरूबाट एकदमै धेरै प्रशंसा पाएको फिल्म हो। सन् २०२१ मा रिलिज भएको कर्ननलाई उनीहरूले शक्तिशाली फिल्म भनेका छन्। निर्देशक सेल्भराजले फिल्मका हरेक दृश्यमा सन्देश र कथा बुनेका छन्। फिल्मका कुनै दृश्य मिस नगर्दा राम्रो, हरेकले आफ्नो कहानी बोल्छन्। वास्तविक जीवनमा देखिरहेकै भए पनि सेल्भराजको कथा पस्किने खुबीले यसले दर्शकको मस्तिष्कमा गहिरो छाप पर्छ।

Facebook Comments

comments