काठमाडौँ : महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले तीन दिने फाेटाे प्रदर्शनी बिहीबार आरम्भ गरेको छ। सेना–नागरिक सम्बन्ध मजबुद बनाउने र सेनाबारे विगतदेखि वर्तमानसम्मको जानकारी दिने उद्देश्यसहित प्रदर्शनी सुरु गरेको सेनाले जनाएको छ।
सेनाले प्रयोग गर्ने पुराना र आधुनिक हतियार, युनिफर्मको सुधार प्रक्रिया, सेनाको अभ्यास, काम, विकास परियोजनामा सेना, दुखमा सेना, पूराना इतिहास, बदलिँदै आएको पछिल्लो सेनाको अवस्थालगायतलाई अवस्था उजागर गर्ने गरी प्रदर्शनी सुरु गरिएको छ । ‘नेपाली सेना इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा आयोजित प्रदर्शनीको प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरेर सर्वसाधारणको लागि समेत खुला गरिएको हो।
विभिन्न खण्डमा आयोजना गरिएको प्रदर्शनीमा सेनाले आफ्नो स्थापनाकालदेखि विभिन्न कालखण्डमा राष्ट्र र जनताप्रति समर्पित भई गरेका गौरव गाथा समेटिएका तस्बिरहरु पनि थिए। तत्कालीन हातहतियार, ऐतिहासिक तथा हालका उपकरण र अन्य सैन्य सामग्रीदेखि नेपालमा नै बनेको बम डिस्पोजल उपकरण समेत प्रदर्शनीमा थियो।
नेपाली सेनाले आफ्नो जिम्मेवारी निर्वाहका क्रममा सम्पादन गरेका जोखिमपूर्ण काम, मुलुकको विकास–निर्माणका योगदान, विश्वका विभिन्न भागमा शान्ति स्थापना गर्न शान्तिसेनामार्फत गरेको सेवा, दैवी विपत्ति तथा आपत्कालीन अवस्थाका उद्धार तथा खोजलगायत विषय ‘शब्दचित्र र तस्बिर’मा समेटिएका सामग्री पनि प्रदर्शनीमा समावेश गरिएको छ।