युरोपजाने बङ्गलादेशीलाई तस्करले झुक्याएर काठमाडौ ल्याउछ

0
158

युरोप ताकेर बंगलादेशबाट हिँडेका २६ वर्षीय युबक  मंगलबार अपराह्न महाराजगन्जको एक सेल्टर हाउसमा भेटिए । ‘कसरी काठमाडौं आइपुग्यौं भन्ने सबै कुरा सम्झन पनि मुस्किल छ,’ उनले सुनाए, ‘हामी ९ जना बंगलादेशको सिलेट सहरबाट बुरीमारी नाका (भारत प्रवेश गर्ने बिन्दु) हुँदै भारत छिरेका थियौं, त्यसपछि सिलिगुडी हुँदै सिमानाको नदी (मेची) मा तैरेर काँकडभिट्टा उत्रियौं ।’
मानव तस्करीको यो उपाय लगाएर काठमाडौंसम्म ल्याउने मुख्य दलाल अब्दुल मुतिज अहिले पनि काठमाडौंमै बसेर आफूले ल्याएका श्रमिकलाई काममा अह्राइखटाइ गर्न र नयाँ–नयाँ उपाय निकाल्नमा व्यस्त छन् । उनले अहिले ४० हजार टाका थप दिए फेरि त्यही बाटोबाट त्यसैगरी बंगलादेश पुर्‍याइदिने भन्न थालेका छन् । ‘उता घरमा रहेका बाबुआमाले जसरी हुन्छ, यतै फर्केर आइज भनेपछि आश्रय दिने यो संस्थामा ५ दिनअघि आइपुगेका हौं,’ सलिमले सुनाए ।
युरोप जाने भनेर काठमाडौं आइपुगेपछि विभिन्न निर्माण क्षेत्रमा लुकीछिपी काम गरिरहेका बंगाली युवा दुई दर्जनभन्दा बढी पाइएका छन् । अहिले पनि मेचीको भँगालो तरेर युरोप जाने भन्दै बंगाली युवा काठमाडौंतर्फ आइरहेकै छन् । केही भने आउँदै र यो श्रम–शिविरको यथार्थ बुझ्दै खाडी मुलुकमा नेपाली श्रमिक ‘भगौडा’ बनेझैं भागिरहेका छन् ।
नेपालका बारेमा अलिअलि सुनेको भए पनि युरोप कहाँ पर्छ भन्नेबारे थाहा नभएको ५ कक्षा मात्रै पढेका अफिज र सलिमले बताए । ‘हामीलाई फकाएर, झुक्याएर यहाँ ल्याइएको हो,’ अफिजले भने, ‘हामी घर फर्कन चाहन्छौं । तर घर फर्कने कुनै उपाय नभएपछि हिजो (सोमबार) बंगलादेश दूतावासमा सम्पर्क गरेका छौं । दूतावासका सरहरू कोरोना भएर अफिस बन्द छ रे । अफिस खुल्नासाथ दूतावास जान्छौं ।’

Facebook Comments

comments