काठमान्डौ, पुष १७ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको सुरङ शनिबार छिचोलिएको छ ।
मेलम्ची नदीको मुहान हेलम्बु गाउँपालिकाको अम्बाथानदेखि ग्याल्थुमसम्मको ८.२ किमी सुरुङ छिचोलिएको हो । यसअघि गतवर्ष पुस २४ गते सिन्धु–सुन्दरीजल खण्डको नौ किमीको सुरुङ छिचोलिएको थियो । राजधानीवासीलाई यो ब्रेकथु्रसंगै मेलम्चीको पानी चाँडै उपलब्ध हुने अवस्था आएको मेलम्ची खानेपानी आयोजनाका प्रमुख रामचन्द्र देवकोटाले बताउनुभयो । ग्याल्थुम–सिन्धु खण्डको करिब १० किमी सुरुङमध्ये अब ४४३ मिटर मात्र खन्न बाँकी रहेको खानेपानी तथा सरसरफाइ राज्यमन्त्री अब्दुल रज्जाक गद्दीसहितको टोलीले स्थलगत निरिक्षणपछि जानकारी गराईएको हो ।
खानेपानी तथा सरसफाइ सचिव गजेन्द्रकुमार ठाकुरले २०७५ वैशाखभित्र मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसाल्ने गरी काम भइरहेको बताउनुभयो । सुरुङ निर्माण भइसकेको स्थानमा भूँइ ढलानको काम सुरू गरिनेछ। सुरङ सम्पन्न भएपछि त्यहाँबाट दैनिक १७ करोड लिटर पानी राजधानी लगिनेछ ।