काठमाडौं, नेपाली राजनीतिमा थप आशंका र तरङ्ग फैलाउँदै भारतीय विदेश मन्त्री सुष्मा स्वराज स्वदेश फर्किएकी छिन् ।
कुनै एजेण्डा बिना आकस्मिकरुपमा नेपाल आएकी स्वराज आज अपरान्ह नयाँ दिल्लीतर्फ लागेकी हुन ।
कतिपय मिडियाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अनौपचारिक निमन्त्रणामा स्वराज नेपाल आएको समाचार प्रकाशन गरेका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले बिदाइ गरे।
भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गरेकी थिइन्।
सबैसँगको भेटमा नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउने र पारस्परिक हितलाई बढावा दिने कुरा सार्वजनिक भएपनि स्वराजको भेटको सम्बन्ध आगामी सरकार र वाम गठबन्धनसँग समेत जोडिएको कतिपयले टिप्पणी गरेका छन् ।
स्वराजले भेटको क्रममा समेत सबैभन्दा बढी प्राथमिकता भावी सरकार बनाउने दललाई नै दिएकी थिइन ।