विद्रोहीको त्रिपोली आक्रमणमा २१ मारिए, युएन कार्यालयको सुरक्षा जिम्मा नेपाली शान्ति सेनालाई

0
349

अफ्रिकी राष्ट्र लिवियामा केही दिनदेखि विद्रोही समूह द लिवियन नेशनल आर्मी (एलएनए) ले आक्रमक कारवाही तीब्र पार्दै राजधानी त्रिपोली कब्जा गर्ने उद्देश्यले अघि बढेपछि त्यहाँको सुरक्षा स्थिति तनावपूर्ण बन्दै गइरहेको छ।

चैत २२ गते संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटोरेज तथा विद्रोही नेता खलिफा हिफ्तरबीच लिवियाको बेङ्घाजीमा वार्ता भएको थियो। वार्ताबाट निष्कर्ष ननिस्केसँगै विद्रोही नेता हिफ्तरले आफ्नो समूहलाई सैनिक कार्वाहीको निरन्तरताको लागि निर्देशन दिएका छन्।

उनका लडाकुहरूले पूर्वतिरबाट राजधानी त्रिपोली घेरिरहेका छन्।  सोमबार राजधानी नजिक भएको भिडन्तमा कम्तिमा २१ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

संयुक्त राष्ट्र संघ समर्थित प्रधानमन्त्री फयल अल सराजले हिफ्तरले कू गर्न खोजेको आरोप लगाउँदै विद्रोहीलाई शहरभित्र पस्न नदिने बताएका छन्।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले विज्ञप्ति जारी गर्दै त्रिपोलीमा भइरहेका भीडन्तमा अमेरिकाको गम्भीर चासो रहेको बताएका छन्।

‘त्रिपोलीविरूद्धको यो एकपक्षीय सैन्य आक्रमणले नागरिकलाई खतरामा राखेको छ भने लिवियालीको राम्रो भविष्यको सम्भावनालाई कमजोर पारेको छ,’ पोम्पेओले भनेका छन्।

अवस्था जटिल हुन थालेपछि राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय संस्थाहरूले आफ्ना कर्मचारीलाई लिवियाबाहिर लैजान थालेका छन्।

विद्रोहीहरूले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई नो फ्लाई जोन घोषणा गरेका छन्। यसले हवाइमार्गबाट लिविया छोड्ने विकल्प बन्द गरिदिएको छ।   त्रिपोलीबाट ट्युनिसियामा जाने सडकमार्ग भने चालु अवस्थामा नै छ।

लिवियामा रहेको संयुक्त राष्ट्र संघीय शान्ति मिसन (अन्समिल)मा कार्यरत केही कर्मचारीलाई सडकमार्गको प्रयोग गरी ट्युनिसिया पठाउन सुरू गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा मिसनका प्रमुख घासन सलामे लगायत मिसनका उच्च पदस्थ पदाधिकारी राजधानी त्रिपोलीस्थित हेडक्वार्टरमा नै रहेका छन्। उनीहरू सुरक्षाको जिम्मा नेपाली शान्ति सैनिकलाई दिइएको छ।

‘मिसन हेडक्वार्टर तथा त्यहाँ कार्यरत युएन स्टाफहरूको सुरक्षा अन्समिलअन्तर्गत त्रिपोलीमा तैनाथ नेपाली शान्ति सैनिकले गरिरहेका छन्,’ सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले भनेको छ,‘मिसनमा कार्यरत २३१ जना नेपाली शान्ति सैनिकहरू सुरक्षित छन्।’

संयुक्त राष्ट्र संघले बाहिर जाउ नभनेसम्म नेपाली सैनिक त्रिपोलीमा रहेन सेनाले जनाएको छ।

सन् २०११मा भएको विद्रोहबाट नेता मोउमर गद्दाफी मारिएपछि उत्तर अफ्रिकी मुलुक लिविया अशान्त रहँदै आएको छ।

त्यसयता विभिन्न समूहबीच कसले सत्ता चलाउने भनेर हिंसात्मक द्वन्द्व जारी छ। अहिले विद्रोही समूहको नेतृत्व गरिरहेका पूर्वलिवियाली सैनिक अधिकारी हुन्। सैनिक अधिकृतका रूपमा हिफ्तरले गद्दाफीलाई राजा इदरिस प्रथमका विरूद्ध कू गर्दा सहयोग गरेका थिए।  गद्दाफी शासनकालमा बढुवा हुँदै उनी बरिष्ठ अधिकृत भएका थिए।

सन् ८० को दशकमा लिवियाको चाडसँगको युद्धमा उनी कमाण्डर थिए। चाडले उनलाई कब्जामा लिएपछि भने उनले गद्दाफीको साथ छोडेर  अमेरिकाको समर्थनमा  गद्दाफीलाई सत्ताच्युत गर्न बनेको समूह ‘लिवियाको मुक्ति लागि राष्ट्रिय मोर्चा’सँग जोडिए।

त्यसपछि उनले त्यो मोर्चाको प्रमुख सैन्य अधिकारी भएर काम गरे। उनी अमेरिकामा बस्थे। गद्दाफी मारिएपछि उनी लिविया फर्किए। तर शासन हातमा लिन नसकेपछि उनी फेरि अमेरिका भासिए।

सन् २०१४ मा उनले अमेरिकाबाटै कूको घोषणा गरे। उनको त्यो कू प्रयास असफल भए पनि उनी निरन्तर सत्ता हत्याउन प्रयत्नरत छन्।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here