वीरगञ्जमा रहेको सुपर ग्यास उद्योगमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ ।
वीरगञ्ज १८ भवानीपुरमा रहेको उद्योगमा बिहान ६ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन। आगलागीमा परेर २ जनाको मृत्यु भएको बताइएको छ भने भित्र कति कामदार थिए भन्ने एकिन हुन सकेको छैन ।
वीरगञ्ज महानगरपालिकाको आगो निभाउन गएको दमकल पनि जलेको बताइएको छ ।
आगलागीपछि स्थिति भयावह बनेको बताइएको छ । थप बारुणयन्त्र पनि अहिले घटनास्थलमा पुग्न सकेका छैनन् । नजिकका बस्ती खाली गरिएको बताइएको छ ।
भारतबाट दमकल ल्याइयो
वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा लागेको भीषण आगो निभाउन भारतबाट दमकल ल्याइएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले अग्नि नियन्त्रण गर्न भारतबाट दमकल झिकाइएको बताए। ‘अहिलेसम्म आगो नियन्त्रणमा आएको छैन।’ उनले भने ‘हामीले आगो नियन्त्रण गर्नको लागि भारतबाट पम्प फाल्ने वरूण यन्त्र मगाएका छौं।’