संसदमा प्रधानमन्त्री ओली र कांग्रेस सांसदबीच भनाभन

0
186

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू र प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका शब्दबारे हंगामा भएको छ।

मंगलबार नीति तथा कार्यक्रममा छलफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाएको प्रश्नको जवाफ दिएका थिए। जवाफमा सांसदहरूलाई स्पष्टिकरण राख्न सभामुखले एक मिनेटको समय दिएका थिए। जसमा सांसदहरुले प्रधानमन्त्रीमाथि प्रश्नको वर्षा गरेका थिए।

लगत्तै जवाफ दिन रोष्टममा उभिएका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी प्रश्नको जवाफ प्रस्तुत गर्छु,’ भन्दै जवाफ दिन सुरू गरेका थिए। तर प्रधानमन्त्री बोल्न सुरू गरेलगत्तै कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले नियमापत्ती गरे। उनले प्रधानमन्त्रीको भाषामा प्रश्न उठाए। उनले प्रधानमन्त्रीको शब्दमा नियमापत्ती जनाउँदै संसदीय भाषा नभएको तर्क गरे।

सांसद विश्वकर्माले २५ अर्बमाथिको ठेक्का प्रधानमन्त्रीले दिने भएपछि कति भ्रष्टाचार गर्नुहुन्छ? भनेर प्रश्न सोधेका थिए।

विश्वकर्माको नियमापत्तीलगत्तै सभामुख कृष्णबहादुर महराले ध्यानाकर्षण भएको बताएका थिए। तर कांग्रेस सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिए।

यसबीच प्रधानमन्त्री केपी शर्मा ओलीले ‘माननीयहरू म धेरै बहसमा जान चाहन्नँ। प्रश्नको मर्यादा हुन्छ,’ भन्दै जवाफ दिए।

त्यतिञ्जेल कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा सिटबाट उठेका थिएनन्।

सभामुखले भने आफूले कांग्रेस सांसदको ध्यानाकर्षण सुनेको बताए।

‘ध्यानाकर्षण भएको बताइसकें। माननिय सदस्य बनस्नुस्,’ महराले भने। कांग्रेस सांसद मिनेन्द्र रिजालले रूलिङ माग गरे।

तर सभामुख महराले प्रधानमन्त्रीलाई बोल्न समय दिन आग्रह गरे।

‘माननीय सदस्य बस्नुस्,’ महराले भने, ‘संसदको गरिमा कायम राख्नुपर्छ।’

यसबीच प्रधानमन्त्री ओलीले रोष्टमबाट संसदको ‘रेकर्ड खोलेर सुनियोस्’ भन्दै प्रश्न गरे।

‘कुन प्रकारका शब्द प्रयोग गरिएका छन्, सुनियोस्,’ प्रधानमन्त्री ओलीले भने।

कांग्रेस सांसद मिनेन्द्र रिजालले भने – रेकर्ड सुन्न तयार छौँ।

उनले प्रधानमन्त्री जवाफ दिने तरिका ठिक नभएको भन्दै प्रश्न उठाए।

जवाफमा ओलीले भने – ‘संसदमा प्रश्न सोध्ने अधिकार हो। अपशब्द बोल्ने अधिकार होइन।’

ओलीको जवाफमा सत्तापक्षका सांसदले ताली बजाए।

रिजला थप चिच्याए – संसद तपाईंले चलाउने कि प्रधानमन्त्रीले।

सभामुखले बस्न आग्रह गरे।

‘मैले ध्यानाकर्षण गर्न खोजेको छु,’ महराले भने।

रिजालले भने – प्रश्न गर्ने अधिकार हो। तर मर्यादीत ढंगले प्रश्न गर्नुपर्छ। अपशब्द बोल्न पाइँदैन। अपशब्द भए सभामुखले भन्ने हो।

यसबीच ओली फेरि बोले – मैले जवाफ तपाईंहरूलाई दिने हो।

महराले प्रधानमन्त्रीलाई बोल्न समय दिए।

‘मलाई निर्णय गर्न बाध्य नपार्नुस्। प्रधानमन्त्री अगाडि बढ्नुस्,’ महराले भने, ‘ध्यानाकर्षण भएको छ।’

प्रधानमन्त्रीलाई अगाडि बोल्न समय दिएपछि भने देउवा पनि आफ्नो स्थानबाट उठे।

कांग्रेस सांसद मिनेन्द्र रिजालले ‘नियमावली’ को विषय उठाए। प्रधानमन्त्रीले जवाफ दिए – मैले पढेको छु। माननीयले पनि पालना गर्नुपर्छ।

यसबीच नेपकाका सांसद थप आक्रोशित भए।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले प्रधानमन्त्री बोल्दा ‘बाधा पुर्‍याउन पाउने छैन’ भन्ने संसदको नियमावलीको व्यवस्था सुनाए। सत्तापक्षले ताली ठोके।

यसबीच सभामुखले प्रधानमन्त्रीलाई अगाडि बढ्न अनुमति दिए।

प्रधानमन्त्री ओलीले केही सांसदको प्रश्नको जवाफ दिए।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले महाकालीमा कहाँकहाँ हाल्नुभयो झोलुंगे पुल भन्दै प्रश्न गरेका थिए। ओलीले ठाउँको नाम सहित जवाफ दिए। उनले अन्य प्रश्नको खासै जवाफ दिएनन्। र आफ्नो जवाफ टुङ्ग्याए।

लगत्तै सभामुखले नीति तथा कार्यक्रमा पेश भएका संशोधन निर्णयार्थ प्रस्तुत गरे। संशोधनहरू अस्वीकृत भए सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश हुँदा बहुमतले पारित भयो।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here