धुर्मुस-सुन्तली फाउण्डेसनद्वारा निर्मित रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती आज हस्तान्तरण हुँदैछ।
कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण भएको भूकम्प प्रतिरोधात्मक र सुविधा सम्पन्न ४७ वटा घर मंगलबार एक कार्यक्रम गर्दै हस्तान्तरण हुन लागेको हो।
नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत निर्माण भएका छन्। गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो।
पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको फाउण्डेशनका अध्यक्ष तथा कलाकार धुर्मसले बताए। धुर्मुस–सुन्तली फाउण्डेशनको यो चौथो परियोजना हो।