२ पुस, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ लाख ७३ हजार ४९४ मत सहित एमाले पहिलो दल बनेको छ । दोस्रो दल कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । माओवादीले १३ लाख ३ हजार ७२१ मत पाएको छ । राजपाले ४ लाख ७२ हजार २५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत पाएका छन् ।
प्रतिनिधिसभाको समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड छ । कुल सदर मतको ३ प्रतिशत अर्थात २ दाख ८६ हजार ३४२ मत नपाएका दलहरुले समानुपातिक सिट पाउने छैनन् । यदि यही मतलाई अन्तिम अन्तिम रुप दिइयो भने समानुपातिकमा पाँच दलले मात्र सिट पाउनेछन् । एमालेले ४१ सिट पाउँदा कांग्रेसले ४० सिट पाउनेछ । माओवादी केन्द्रले १७ सिट पाउने देखिन्छ भने राजपा र फोरमले समान ६/६ सिट पाउनेछन् ।
राप्रपा, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा र नेमकिपाले प्रत्यक्षतर्फ एक एक सिट जितेका छन् । एक स्वतन्त्र सांसद पनि छन् । समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेका चार दल प्रतिनिधिसभामा दलकै रुपमा रहनेछन् । तर, राष्ट्रिय दलको मान्यता नपाएका कारण उनीहरुले संसदीय दलको कार्यालय लगायतका सेवा सुविधा भने पाउने छैनन् ।
हेर्नुहोस अन्तिम नतिजा