सस्तिदै लघुवित्तका शेयरहरु, ३५ लघुवित्तकाे शेयर मूल्य १ हजारभन्दा मुनि

0
50

तरलता संकट र राष्ट्र बैंकको नीतिगत हस्तक्षेपको असर अधिकांश लघुवित्त कम्पनीको शेयर १ हजार भन्दा तल झरेको छ । असार ९ गते बिहीबारको अन्तिम मूल्यको आधारमा नेप्सेमा हाल कारोबार भइरहेका लघुवित्तमध्ये ३५ वटा कम्पनीको शेयरमूल्य १ हजार भन्दा मुनि आएको छ ।

नेप्से २५ सय भन्दा माथि हुँदा प्रायः सबै लघुवित्तको शेयर मूल्य १ हजार भन्दा माथि नै थियो । नेप्सेमा सुचीकृत लघुवित्तको न्यून पुँजी र आकर्षक लाभांशका कारण लघुवित्तको मूल्य पनि आकर्षक नै थियो । नेप्सेमा १ हजारदेखि ६ हजारसम्मको मूल्यमा विभिन्न लघुवित्त कम्पनीको शेयर खरिद बिक्री हुने गर्दथ्यो ।

१ हजार मुनि काराेबार हुने लघुवित्तमध्ये ९ सयकाे लाइनमा मिर्मिरे लघुवित्त, साना किसान लघुवित्त, कालिका माइक्रोक्रेडिट, सबैको लघुवित्त, मानुषी लघुवित्त, आँधीखोला लघुवित्त, साधना लघुवित्त, स्वावलम्बन लघुवित्त, उन्नति सहकार्यकारी लघुवित्त, छिमेक लघुवित्त र विन नेपाल लघुवित्त रहेका छन् ।

८ सयको लाइनमा कारोबार भइरहेको लघुवित्तमा निर्धन उत्थान, इन्फिनिटी लघुवित्त, गणपति माइक्रोफाइनान्स, विजय लघुवित्त, मनकामना स्मार्ट, नेरुडे, राष्ट्रउत्थान लगायतका माइक्राफाइनान्स रहेका छन् ।

त्यस्तै ७ सयको लाइनमा समिट लघुवित्त, मेरो माइक्रोफाइनानस, किसान लघुवित्त, नयाँ सारथी लघुवित्त, एनआईसी एसिया लघुवित्त, आरम्भ चौतारी लघुविगत्त, स्वरोजगार लघुवित्त, समता घरेलु लघुवित्त, आरएमडीसी लघुवित्त रहेका छन । ६ सय भन्दा तल भने सुर्योदय वोमी, सिभिल लघुवित्त, एनएमबी माइक्रोफाइनानस, गाम्रीण विकास लघुवित्त रहेका छन् ।

बिहीबारको शेयर कारोबार अनुसार सबैभन्दा सस्तो मूल्यको लघुवित्त शेयर कारोबार भने आरएसडीसी लघुवित्तको रहेको छ । उक्त कम्पनीको ४८६ मा अन्तिम कारोबार भएको थियो ।

लघुवित्त कम्पनी ग्रामीण भेगमा बिना धितो जनतालाई ऋण दिने उद्देश्यले स्थापना भएको वित्तीय संस्था हो । बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा ग्रामीण क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जा लघुवित्त कम्पनीमार्फत प्रवाह गर्दछ । बैंकले कुल कर्जाको ६ प्रतिशत ग्रामीण क्षेत्रमा प्रवाह गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । ग्रामीण जनतालाई ऋण दिन स्थापित कम्पनीको शेयर मूल्य भने वाणिज्य बैंकको भन्दा कैयौ गुणा बढी छ । न्यून पूँजीमा स्थापित लघुवित्त कम्पनीले चुक्ता पुँजी भन्दा पनि कैयौ गुणा नाफा आर्जन गर्ने अभ्यास रहेको हुँदा चौतर्फी रुपमा यसमाथि प्रहार हुन थाल्यो । लघुवित्तकर्मीले विना धितो कर्जा प्रवाह गर्नुपर्ने एवम् सञ्चालन खर्च समेत धेरै रहेकाले जोखिम समेत धेरै रहेको बताउने गरेका छन् ।

पछिल्लो समय राष्ट्र बैंकले लघुवित्तको आम्दानी प्रभावित गर्न नीतिगत व्यवस्था गरेकाले लघुवित्तको शेयर अरु क्षेत्रका कम्पनीको तुलनामा दुर्त गतिमा झर्न थालेको लघुवित्तकर्मीको आरोप छ । अहिले तरलता अभावको बहानामा बैंकहरुले लघुवित्तलाई महंगो दरमा कर्जा दिइरहेका छन् तर सो कर्जा लघुवित्तले पुनः कर्जा लगानी गर्दछ । लघुवित्तले कर्जा लगानी गर्दा भने जतिसुकै दरमा बैंकबाट स्रोत लिए पनि १५ प्रतिशतभन्दा बढी लिन नपाउने नीतिगत व्यवस्था छ । यो व्यवस्थाले लघुवित्तको आम्दानी संकुचन हुँदै गएको तिनीहरुको आरोप छ ।

राष्ट्र बैंकले श्रृखलावद्ध रुपमा लघुवित्तमाथि प्रवाह गर्दै आएको छ । गत वर्ष मौद्रिक नीति घोषणा हुनु अगाडि नै परिपत्रमार्फत बैंकहरुलाई लघुवित्तको शेयरमा निष्काशन गर्न प्रतिबन्ध लगाए । बैंक तथा वित्तीय संस्थासँग भएको लघुवित्त कम्पनीको शेयर पनि चालु आवको दास्रो त्रैमाससम्म सबै अफलोड गर्न लगाए यसले गर्दा बजारमा लघुवित्त कम्पनीका शेयरका सप्लाइ प्रेसर बढी हुन गयो । न्यून पुँजी र उच्च लाभांशका कारण लघुवित्त कम्पनीको शेयर सप्लाई कम र नाफा उच्च रहेकाले प्रायः सबै वित्तीय संस्थाले लघुवित्तको शेयर ट्रेडिङमार्फत मनग्य नाफा आर्जन गर्ने गरेका थिए ।

कोभिडको समयमा बैंक तथा वित्तीय संस्थाले रेगुलर बैकिङ क्रियाकलापभन्दा शेयर ट्रेडिङमा केन्द्रिकृत भएको भन्दै केन्द्रीय बैंकले १ वर्षभन्दा छोटो अवधिको लागि शेयर किनबेच गर्ने बाटो समेत बन्द गरिदिए । राष्ट्र बैंकको नीतिगत व्यवस्थाले गर्दा लघुवित्त कम्पनीको शेयरमा प्रत्यक्ष असर परेको छ । त्यसमाथि माइक्रोफाइनान्सले एक आर्थिक वर्षमा २० प्रतिशतभन्दा बढी लाभांश दिन नपाउने अर्को नीतिगत व्यवस्था गर्यो । २० प्रतिशतभन्दा बढी लाभांश दिनुपर्ने भएमा तोकिएको भन्दा बढी लाभांशको ५० प्रतिशतरकम एउटा कोष बनाएर राख्नुपर्ने व्यवस्था गरियो । यसले पनि लघुवित्तको शेयर मूल्य प्रभावित भएको अर्काथरी लघुवित्त कारोबारीको आरोप छ ।

बिहीबारको अन्तिम मूल्य अनुसार १७ वटा लघुवित्त कम्पनी मात्रै शेयर मूल्य १ हजार भन्दा माथि कारोबार भएको छ । त्यसमध्ये सबैभन्दा उच्च मूल्यमा महिला लघुवित्तको शेयर कारोबार भएको छ। उक्त लघुवित्तको अन्तिम कारोबार बिहीबार ३२ सय ४४ रुपैयाँमा भयो । त्यसैगरी २ हजारदेखि ३ हजारकोबीचमा ५ वटा कमपनीको शेयर कारोबार भयो । जीवन विकास लघुवित्त, उपकार लघुवित्त फर्वार्ड कम्युनिटी माइक्रोफाइनानस र जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य २ हजारदेखि ३ हजारको बीचमा कारोबार भयो ।

१ हजारदेखि २ हजारको बीचमा नै १७ वटा कम्पनीको शेयर कारोबार भएको छ । नेस्डो समुद्धि, नेसनल माइक्रोफाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, सामुदायिक लघुवित्त, स्वाभिमान लघुवित्त, मिथिला लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, आशा लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, लक्ष्मी लघुवित्त, माहुली सामुदायिक लघुवित्त र गुराँस लघुवित्त गरी १७ कम्पनीको कारोबार १ हजारदेखि २ हजारको बीचमा भएको छ ।

मेरो लगानीबाट

Facebook Comments

comments