सार्वजनिक जग्गामा जर्बजस्ती अतिक्रमण

0
359
मंसिर १३, २०७४- सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको फुल्पिङडाँडा वडा नम्बर ८ को ‘सानीटार’ भनिने सुनकोसीको बगरलाई फुल्पिङडाँडा ७ कै तोयानाथ तिमल्सिनाले अतिक्रमण गर्दै लगेका छन् । कित्ता न ४९४ र ५५८ को बगरको भुभागलाई तिमल्सिनाले आफ्नो नाममा नापी समेत गर्न खोजेका हुन् । २०४६ सालमा सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गर्न खोज्दा मालपोत कार्यालयले फर्काएपछि तिमल्सिना जिल्ला अदालत पुगे । जिल्ला अदालतमा पाँच वर्ष दौडीएर मुद्दा हारेपछि तिमल्सिना उच्च अदालत पाटन धाए । त्यहाँ दुई वर्ष मुद्धा चलेर हारेपछि उनी सर्वोच्च अदालतको ढोका ढक्कढकाउन पुगे । चार वर्ष हुँदा पनि मुद्धा छिनोफानो नभएपछि सर्वोच्चले मालपोत कार्यालयलाई जिम्मा लगायो ।
मालपोतलले तिमल्सिनाको निजी जग्गा हुन आधिकारिक प्रमाण नपुगेको भन्दै ‘बोर्ड’ बैठकबाट सकारको नाममा सो जग्गाको लालपुर्जा दिएको थियो । सरकारकै नाममा जग्गा भइरहँदा पनि आफ्नै हकमा जग्गा भएको दावी गरेर तिमल्सिना पुन: उच्च अदालत पाटनमा पुगे । २०७४/६/१ को आदेशअनुसार उच्च अदालतले बिना आधार २०७४/६/२२ सम्मको लागि उनलाई भोग चलनको समय तोकी दिएको थियो । ‘फेरि उनले वर्षै पिच्छै बगर हडप्न खोजिरहे,’ बलेफी गाउँपालिका कोठे बजारका स्थानीय ईश्वरबहादुर श्रेष्ठले भने, ‘त्यसबेलाका पुनरावेदन अदालतका न्यायाधीशले दिएको १५ दिने भोगचलनको आधारमा उनले हालसम्म अतिक्रमण गरिरहेकै छन् । ’ अदालतले दिएको समय सकिदाँ पनि तिमल्सिनाले अटेर गरेर एकलौटी बगर चलन गरिरहेपछि स्थानीयले चर्को विरोध गरे । विवाद बढ्दै गएपछि २०७४ कात्तिक २५ गते सत्यतथ्य निरीक्षणको लागि जिल्ला अदालतबाट कर्मचारी र मालपोतबाट अमिन सहितको टोली पठाएको थियो । ‘जाँचबुझ गर्ने दिन अगावै बेलुकी नै तोयानाथले केराको घारी बगरमा सारेका रहेछन्, निरीक्षण टोलीले तत्कालै पत्ता लगाए,’ स्थानीय सुजन श्रेष्ठ भन्छन्,‘ त्यसपछि स्थानीयको विवाद र निरीक्षणबाट सार्वजनिक नै ठहर भएपछि टिपोट नगरिकन उनीहरु फर्किए ।’ उनले तिमल्सिनाले ‘बगर’ लाई ‘नगर’ भनेर लेखाउन खोजेपछि थप विवाद चर्किएको सुनाए । ‘अहिले बगरमा तिमल्सिनाले हक जमाएर निजि प्रयोगमा ल्याइरहेका छन्, वरिपरिका संरचना बिर्गादै गेट, टहरो हालिसकेका छन्, ’श्रेष्ठले भने ।
जिल्ला प्रशासन, जिल्ला अदालत, मालपोत, जिल्ला प्रहरी कार्यालय देखि बलेफी गाउँपालिका, इलाका प्रहरी बाह्रबिसे र बलेफी, लामोसाँघु प्रहरी चौकी सम्म गरी सात निकाय विरुद्ध तिमल्सिनाले मुद्धा दायर गरेका छन् । प्राकृतिक सम्पदा कोसीको छेउ ‘सानीटार’ सार्वजनिक जग्गा भएको मालपोत र जिल्ला प्रशासन कार्यालयले कागजी रुपमा प्रमाणित गरिसकेको छ । तिमल्सिनासँग सो जग्गा आफ्नो हुनुको प्रमाणिक कागजजात केही छैन् तैपनि उनको अतिक्रमण बगरमा बढ्दै गइरहेको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here