सिरियाका गाउँ टर्किस सेनाको नियन्त्रणमा

संयमता अपनाउन अमेरिकाको आग्रह

0
721

एजेन्सी, अंकारा । टर्कीको सेनाले उत्तर–पूर्वी सिरियामा तीन दिनदेखि जारी राखेको कारबाहीका क्रममा केही गाउँ कब्जा गरेको छ । टर्किस सेनाले सिरियाका कुर्दिस लडाकुविरुद्ध तीन दिनदेखि कारबाही जारी राखेको छ । सिरियाको अफ्रिन भन्ने गाउँमा टर्कीको सेनाले सिरियाका विद्रोहीसहितको सहयोगमा यी गाउँ कब्जा गरेको दाबी गरेको छ । तर त्यसलगत्तै कुर्दिस लडाकुहरूले टर्कीको सेनाले कब्जामा लिएका मध्ये दुईवटा गाउँ पुनः कब्जा गरेको जनाएको छ ।

टर्कीले सिरियाका कुर्दिस लडाकु समूह वाईपीजीलाई आतंकवादी समूह भएको आरोप लगाउँदै आएको छ । यो समूहले सिरियाका उत्तरपूर्वी क्षेत्रको ठूलो क्षेत्र नियन्त्रणमा राखेको छ । कुर्दिस्तान वर्कस पार्टीले यो क्षेत्रमा टर्कीबाट स्वतन्त्रताका लागि तीन दशकदेखि संघर्ष गर्दै आएको छ । वाईपीजीले आईएसविरुद्धको लडाइँमा अमेरिका नेतृत्वको सेनालाई साथ दिँदै आएको छ ।

यसैबीच अमेरिकाले उत्तरी सिरियाबाट कुर्द लडाकुलाई लखेट्ने उद्देश्यले टर्कीले सुरु गरेको सैन्य कारबाहीपछि अमेरिकाले संयमता अपनाउन आग्रह गरेको छ । अमेरिकाले टर्कीलाई आमनागरिकलाई निशाना बनाउनबाट बच्न र इस्लामिक स्टेटलाई हराउनमा ध्यान केन्द्रित गर्न आग्रह गरेको हो ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले कुर्द लडाकुलाई अन्त्य गर्ने बताएका छन् । उनले यो अभियान छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति एर्दोगानले भने, ‘कुर्द लडाकुहरू अफरिनबाट कहिलेसम्म भाग्न सफल हुन्छन् ? हामी पिछा गर्नेछौं र उनीहरूलाई श्वास फेर्न दिनेछैनौं । हामी एक्लै छैनौं, अल्लाह हाम्रो साथमा रहेका छन् र हामी आफ्नो अभियानलाई छिट्टै सफल हुनेछौं ।’

टर्कीले गत शनिबार सिरियाको सीमावर्ती इलाका अफरिनमा हवाई हमला गरेर कुर्द लडाकुविरुद्ध सैन्य अभियानको सुरुवात गरेको थियो । टर्कीले सिरियाको सीमा क्षेत्रभित्र सैन्य गतिविधि सञ्चालन गरेपछि सुरक्षा परिषद्को आपतकालीन बैठकसमेत बोलाइएको छ ।

फ्रान्सका विदेशमन्त्री जीन वेस लि ड्रायनले अवस्थालाई नियन्त्रणमा लिनका लागि सुरक्षा परिषद्को आपतकालीन बैठक आवश्यक भएको बताए । उनले भने, ‘सिरियाको पछिल्लो अवस्थाबारे फ्रान्स धेरै चिन्तित रहेको छ । यसकारण हामी सुरक्षा परिषद्को आपतकालीन बैठक बसेर युद्धविरामको तत्काल कोसिस गरिनुपर्दछ ।’

यता कुर्द लडाकु सेना वाईपीजीले भने टर्कीको सेनाको घुसपैठको कडा जवाफ दिने चेतावनी दिएको छ । कुर्द लडाकुको प्रतिरोधमा चार टर्कीका सैनिक मारिएको बताइएको छ । टर्की सेनाले भने आफ्ना सैनिक मारिएको बारे पुष्टि गरेको छैन । कुर्द समूहले आइतबार भएको हमलामा आठ आमनागरिक मारिएको जनाएको छ । तर टर्कीको सेनाले चार आतंकवादीलाई निशाना बनाएको दाबी गरेको छ ।

नेटोमा टर्कीका प्रतिनिधि अहमत बेरत कोंकरले अमेरिकाले कुर्द लडाकुलाई साथ दिएर यो इलाकामा डरको माहोल बनाएको बताएका छन् । अहमत बेरत कोंकरले भने, ‘हामी जे गरिरहेका छौं, त्यो हाम्रो नजरमा वैध हो । यसकारण हामी अन्तर्राष्ट्रिय समुदाय र नेटोका सहयोगीसँग टर्कीलाई साथ दिने विश्वास व्यक्त गर्दछौं । नेटोका जुन सदस्य यो अभियानको विरुद्धमा छ, उसले आफ्नो सदस्यताका बारेमा फेरि विचार गर्नु पर्दछ ।’

अमेरिकाले सिरियाबाट इस्लामिक स्टेट आईएसलाई लखेट्न कुर्द सेना वाईपीजीको समर्थन गरिरहेको छ । जब कि टर्कीले यी कुर्र्द लडाकुलाई चरमपन्थी समूह मान्छ । टर्कीले यो समूहको सम्बन्ध टर्कीको प्रतिबन्धित कुर्दिस वर्कस पार्टीसँग भएको आरोप लगाउँदै आएको छ । वाईपीजीले भने यसको खण्डन गर्दै आएको छ ।

अमेरिकाले आईएसलाई रोक्नका लागि सिरियाली डेमोक्रेटिक फोर्स अर्थात् एसडीएफसँग मिलेर एक सीमा सुरक्षा बल बनाउने बताउँदै आएको छ । टर्कीले भने यसलाई आतंकवादी सेनाको संज्ञा दिँदै आएको छ । अर्को तर्फ कुर्द लडाकुहरूले टर्कीले सन् १९८० को दशकपछि गुरिल्ला युद्धका माध्यमबाट सांस्कृतिक पहिचान नष्ट गर्ने कोसिस गरेको दाबी गर्दै आएको छ ।

अमेरिका र फ्रान्सजस्ता पश्चिमी शक्तिले टर्की र सिरिया दुवैलाई संयमता अपनाउन आग्रह गरेका छन् । सो आक्रमण रोकी संयम रहन अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हिदर नउटले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सो आक्रमणको क्रम जतिसक्दो चाँडै रोकेर सर्वसाधारण नागरिकको ज्यान सुरक्षित हुने अवस्थाको घोषणा गरियोस् ।’

रुसले समेत टर्कीको यो कारबाहीप्रति चिन्ता जनाएको छ । सिरियाको अर्को सहयोगी इरानले समेत यो कारबाही तत्काल अन्त्य गर्न माग गरेको छ । टर्कीले गएका केही महिनादेखि अफ्रिन र त्यहाँबाट करिब १ सय किलोमिटर टाढाको सहर मान्बिमा ती कुर्दिस लडाकुलाई धपाउने चेतावनी दिँदै आएको छ । सो विषयलाई लिएर अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबीच पनि फोनवार्ता भएको थियो ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here