प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४ बजे मन्त्रिपरिषद् विस्तार गर्दै छन्। एमालेका ७, माओवादी केन्द्रका ५ र संघीय समाजवादी फोरमका २ मन्त्रीले आज सपथ लिने भएका छन्। आज १४ जना मन्त्री थपिएपछि ओली मन्त्रिमण्डल अब २१ सदस्यीय हुने भएको छ।
फोरमसँगको भागबन्डापछि सरकारले यसअघि कायम गरिएका १७ मध्ये तीन मन्त्रालय फुटाएर २० बनाउने निर्णय गरेको छ।
माओवादीबाट आज थपिने मन्त्रीमा गिरीराजमणि पोखरेल, वर्षमान पुन, बिना मगर, शक्ति बस्नेत छन्। जनार्दन शर्मा र बलदेव शर्मामध्ये एक जना मन्त्री हुने माओवादी स्रोतले जानकारी दियो। त्यसको निर्णय भने अध्यक्ष पुष्पकमल दाहालले गर्ने छन्।
संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ मन्त्री हुने भएका छन्।
उनीहरुमध्ये यादव सहरी विकास र श्रेष्ठ स्वास्थ्य मन्त्री बन्ने सम्भावना छ।
माओवादीले शिक्षा, उर्जा, कृषि, वन, सिँचाइ मन्त्रालय पाएको छ। माओवादीबाट गिरीराजमणि पोरखेलले शिक्षा र वर्षमान पुनले उर्जा मन्त्रालय सम्हाल्ने टुंगो भएइ पनि अरुको मन्त्रालय टुंगिन बाँकी छ।
एमालेले परराष्ट्र, भौतिक पूर्वाधार, स्थानीय विकास, पर्यटन, सामान्य प्रशासनलगायत ९ मन्त्रालय परेका छन्।
एमालेबाट मन्त्री बन्नेमा प्रदीप ज्ञवाली, रवीन्द्र अधिकारी र रघुवीर महासेठको नाम टुंगिए पनि बाँकी पाँच जनाको नाम टुंगो लगिसकेको छैन।